सिंगापुरबारे केजरीवालको टिप्पणीमा जयशंकरको गम्भीर आपत्ति

भारतका विदेश मन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका छन्।

दिल्लीका मुख्यमन्त्री केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाई सेवा बन्द गर्नु पर्ने बताएका थिए।

भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी दिएको छ।

विदेश मन्त्रालयका अनुसार सिंगापुरस्थित भारतीय उच्चायोगले केजरीवालसँग कोरोना भाइरसको भेरियन्ट र नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई गराएको छ।

विदेश मन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीट रीट्वीट गर्दै लेखेका छन्, ‘सिंगापुर र भारत कोभिड–१९ को लडाईँमा बलिया साझेदार हुन्। हामी सिंगापुरलाई लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि उसले निर्वाह गरेको भूमिकाको तारिफ गर्छौँ। हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य एयरक्राफ्ट पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ।’

उनले अर्को ट्वीटमा लेखेका छन्, ‘गैरजिम्मेवार वक्तव्य दिनेलाई थाहा हुनुपर्छ कि यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा कस्तो असर पर्छ। दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाई होइन भन्ने स्पष्ट पार्न चाहन्छु।’

जेठ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्