टेकु अस्पतालमा कार्यरत डा. श्रवण कुमार मण्डलसँग कुराकानी

‘२४ घन्टा लगातार बिरामीको उपचार गर्दा पनि अल्छी लाग्दैन’

काठमाडौँ– डा. श्रवण कुमार मण्डल विगत तीन वर्षदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन्। कोरोनाको दोस्रो लहर सुरु भएसँगै टेकु अस्पतालमा थेग्नै नसक्ने गरी संक्रमितहरुको चाप बढेको छ। जसका कारण अस्पतालको प्राङ्गणमा भुइँमै राखेरसमेत संक्रमितको उपचार भइरहेको छ।

डा. मण्डल पनि संक्रमितको उपचारमा अहोरात्र खटिएका छन्।

त्यसो त उनले कोभिड महामारीभन्दा पहिला २०७६ सालको डेंगु महामारी पनि ‘फेस’ गरेका थिए। तर डेंगु श्वासप्रस्वासबाट नसर्ने भएकाले अहिलेको जस्तो डरलाग्दो अवस्था भने थिएन।

आकस्मिक विभागका डा. मण्डलका अनुसार २०७७ सालमा कोभिडको पहिलो लहर आउँदा पनि अहिलेको जस्तो अक्सिजनको हाहाकार थिएन। बिरामीले अस्पतालमा बेड नपाउने अवस्था त्यतिबेला नभएको उनी बताउँछन्।

हाल उनी २४ घण्टाको सिफ्टमा काम गरिरहेका छन्। त्यसपश्चात केही दिन आइसोलेसन बसाइ हुन्छ र फेरि ड्युटी सुरु हुन्छ।

यसरी काम गर्दा स्वास्थ्यमा समस्या आउँदैन? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘थकाइ त लाग्छ नै, तर पनि यसरी काम गर्दा साधन स्रोतको खपतमा अलि कम हुने रहेछ।’

कोभिडको पहिलो लहर आएदेखि उनी अस्पतालमै बसिरहेका छन्। हालको दिनसम्म संक्रमित नभएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन्। ‘बिरामीसँग यति नजिक भएर काम गरिन्छ त्यही पनि हालसम्म संक्रमित भएको छैन। सायद भगवानको कृपाले होला,’ उनी थप्छन्।’

अस्पताललले घर जाँदा जोखिम हुने भएकाले क्वारेन्टिनको व्यवस्था गरिदिएका कारण काम गर्न मनोबल बढेको उनी बताउँछन्। दैनिकजसो फोन गरेर बचेर काम गर्न सुझाउँछन् परिवार। घरमा सबै मेडिकल फिल्डकै भएकाले यस्तो महामारीमा काम गर्नु पर्दैन भनेका छैनन्।

दैनिकजसो ‘आफ्नो ख्याल राख है’ भनेर फोन गरिरहने आफ्ना बुवाआमा नै अहिले कोरोना संक्रमित भएर टेकु अस्पतालमै भर्ना भएका छन्। अन्य बिरामी र आफ्ना बुवाआमाको एकैठाउँमा उपचार गरिरहेका छन्, डा.मण्डलले।

स्वास्थ्यकर्मीको अभाव भइरहेको अहिलेको अवस्थामा महामारीको बहाना लिएर बिदा बस्नु उपयुक्त नहुने उनको तर्क छ। उनी थप्छन्,‘ मेडिकल साइन्स चौबिसै घण्टा खट्नुपर्ने पेशाा हो, अहिलेसम्म मलाई जोखिम बढ्यो काम गर्दिनँ जस्तो लागेको छैन।’

कहिलेकाहीँ काम गर्दागर्दै पनि बिरामीको चित्त बुझाउन नसक्दा भने बेलाबेलामा उनी डगमगाउँछन् तर फेरि आफ्नो काम नै यस्तै भएपछि गर्नै पर्‍यो भनेर आफूलाई सम्हाल्छन्।

आफ्ना लागि सरकारसँग उनको कुनै अपेक्षा छैन। तर कतिपय ठाउँहरुमा अक्सिजन, औषधि, एम्बुलेन्स लगाायत नपाउँदा बिरामीले मृत्युवरण गर्नु परेको छ। त्यसैले उनी सरकारसँग अक्सिजनको अभाव नइदेओस् भन्ने अपेक्षा राख्छन्।

डा. मण्डलका अनुसार अस्पतालभित्र संक्रमितहरुको अवस्था कहालीलाग्दो छ। घरमा बसिरहेका आम मानिसले उनीहरुको रोदन र चित्कार देख्न पाउँदैनन्। त्यसैले पनि कोरोनालाई सामान्य रुपमा नलिन उनको आग्रह छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ संक्रमणका कारण अहिले नेपालका कयौँ अस्पतालहरुमा अवस्था भयावह बनेको छ, अक्सिजनको अभावसँगै।

छिमेकी मुलुक भारतमा कोभिडको दोस्रो लहर सुरु भएलगत्तै नेपालमा पनि आउन सक्ने आँकलन गरेर टेकु अस्पतालमा १० बेडको इमर्जेन्सी कक्षलाई विस्तार गरेर २५ बेड बनाइएको उनी बताउँछन्। त्यसले पनि थेग्न नसकेपछि विस्तारै अस्पतालको प्यासेजमा पनि बेड थपियो। अहिले आफ्नो क्षमताभन्दा बढी बिरामी राखेर टेकु अस्पताल कोरोना संक्रमितको उपचार गरिरहेको छ।

सरकारले कोरोना संक्रमितको उपचारमा बेड अभाव हुन नदिने दाबी गरिहरेका बेला टेकु अस्पतालमा भने आकस्मिक कक्ष बाहिर टेबल, मेच, बेन्च जे छ त्यसैमा राखेर संक्रमितको उपचार भइरहेको छ। डा.मण्डल भन्छन्, ‘पानी परेको समयमा गाह्रो भएपछि २४ घण्टाभित्र हामीले १० बेडको कोभिड आइसोलेन वार्ड व्यवस्था गर्‍यौँ।’

अक्सिजनको सप्लाई नरोकिएमा टेकु अस्पतालबाट कोही पनि बिरामी उपचार नपाएर फर्किनु नपर्ने उनको भनाइ छ। ‘अहिलेसम्म कोही पनि बिरामी उपचार नपाएर फर्किनुभएको छैन र भोलि पनि फर्किनु हुन्न होला भन्ने विश्वासमा छौँ,’ उनी भन्छन्।

उनले कोभिडको पहिलो र दोस्रो लहरबीच धेरै नै फरक अनुभव गरेका छन्। उनका अनुसार पहिलो लहरमा ५५ वर्ष माथिका बिरामीहरु ‘सिरियस’ भएर अस्पताल आउँथे भने अहिले २० देखि ५० वर्षसम्मका बिरामीहरु ‘सिरियस’ भएर अस्पताल आइरहेका छन्।

अस्पताल आउँदा बिरामीहरु धेरै नै आत्तिए पनि विस्तारै अस्पताल बसेर जाँदा सुधार भएर फर्किएको उनको अनुभव छ। तर कतिपय बिरामीलाई आफूले सक्नेजत्ति सबै ‘इफोर्ट’ लगाउँदा पनि बचाउन नसक्दा भने पीडा हुने उनी बताउँछन्।

भन्छन्, ‘एकछिन अगाडि बोलिराखेका बिरामी आफ्नै अगााडि केही क्षणपछि संसारबाट विदा लिँदा धेरै नै दुःख लाग्छ।’

गत आइतबार मात्र एकजना संक्रमितको उनको आँखा अगााडि नै मृत्यु भयो। एकैछिन अघिसम्म बोलिराखेका ती बिरामीलाई एक्कासी स्वास्थ्य जटिल भएपछि इमर्जेन्सी कक्षमा लगेर उपचार गरिएता पनि उनलाई बचाउन सकिएन।

यस्तो पीडादायी क्षणले उनलाई बेलाबेलामा विक्षिप्त बनाउँछ। बिरामीलाई बचाउन चिकित्सकले आफूले सकेजति सबै साधन स्रोत प्रयोग गर्छन्।

‘हामीले यहाँ हेरेका धेरै जसो बिरामीहरु उपचारपछि हँसिलो अनुहार लिएर घर फर्किनुभएको छ,’ उनी थप्छन्।

स्वास्थ्यकर्मीले मात्र यो महामारी पार लगााउन नसक्ने उनी बताउँछन्। त्यसमा समुदायको साथ र सहयोग भयो भने छिट्टै नै कोरोना महामारीलाई पार लगााउन सकिने उनको भनाइ छ।

डा. मण्डल भन्छन्, ‘अहिले हामी कोभिड महामरीको दोस्रो लहरमा छौँ। एक्लै स्वास्थ्यकर्मीले मात्र यो पार लगाउन सकिँदैन। त्यसमा सबैको साथ र सहयोगको आवश्यकता छ। अहिले लकडाउनको समयमा बिना काम बाहिर ननिक्ली आफू र आफ्नो परिवारलाई सुरक्षित राखी महामरीलाई पार लगाउन सहयोग गर्नुहोला।’

जेठ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्