वीर अस्पतालको ५ सय शैय्याको नयाँ भवनमा किन सुरु हुन सकेन कोरोना उपचार?

काठमाडौं- मन्त्रिपरिषद् बैठकले दुई साताअघि वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरे पनि अझै सञ्चालनमा आउन सकेको छैन।

वीर अस्पतालले सर्जिकलका लागि मात्रै केन्द्रित गरी तयार पारिरहेको भवनलाई सरकारले ५ सय शैय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो जतिबेला कोभिडका गम्भीर बिरामीहरु अस्पतालका आँगनमा बसेर उपचार गरिरहेको समाचार आइरहेका थिए। स्थिति अझै पनि उही छ। अस्पतालहरुमा आइसियू र भेन्टिलेटर खालि छैनन्। अक्सिजन नपाएर बिरामीहरु ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमणका गम्भीर बिरामीहरु हरेक दिन बढ्दै छन्।

यस्तो अवस्थामा तत्कालै उपचार सुरु हुनुपर्ने भवन किन अझै सञ्चालन हुन सकेन त?

वीर अस्पतालको नयाँ भवन। अहिलेसम्म यो भवन प्रयोगविहीन छ। तस्बिरहरु: बर्षा शाह/देशसञ्चार

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारले निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन वीर अस्पताल प्रशासनले गर्नुपर्ने बताए। ‘किन सञ्चालन भएन भन्ने कुरा वीर अस्पताललाई नै थाहा होला। सरकारले निर्णय गरिसकेपछि व्यवस्थापन गर्ने काम वीर अस्पतालको हो। त्यहाँ पनि माथिल्लो तहका कर्मचारी छन्। भवन तयार भइसकेपछि अस्पताल चलाउन नसक्नु उहाँहरुको कमजोरी हो’,  मन्त्रालयका प्रवक्ता गौतम भन्छन्।

वीर अस्पतालकी निर्देशक डा. शान्ता सापकोटा ८/१० दिन पहिलादेखि नै अस्पताल सुचारु गर्ने योजना भएपनि सुरु गर्न नसकिएको बताउँछिन्। ‘२/३ सय शैय्यासहित सन्चालन गर्न हामीले आन्तरिक तयारी पुरा गरेका थियौँ। तर कोरोना विरामीलाई उपचार गर्न अक्सिजन अनिवार्य चाहिन्छ। हामीले अक्सिजन उपलब्ध गराई दिनुस् भनेर बारम्बार आग्रह गरेपनि कसैले सुनुवाई गरेको छैन’, निर्देशक सापकोटाले भनिन्। उनले माथिल्लो निकायलाई त्यसबारे बारम्बार जानकारी गराएको बताइन्।

वीर अस्पताल।

‘नयाँ भवनमा अक्सिजन प्लान्ट छैन। सबै अक्सिजन बाहिरबाट ल्याउनुपर्छ। शैय्याको दोब्बर संख्यामा हामीलाई दैनिक अक्सिजन सिलिण्डर चाहिन्छ। अहिले हाम्रो पुरानै भवनमा पनि २ सय सिलिण्डर अक्सिजन दैनिक बाहिरबाट ल्याइरहनु परेको छ। हामीले अक्सिजन सिलिण्डर तयार गर्न सक्छौँ। तर आजको अवस्थामा हामी अक्सिजन म्यानेज गर्न सक्दैनौँ। यसको ग्यारेन्टी माथिबाटै नभएसम्म कोभिड अस्पताल सञ्चालन हुन सक्ने अवस्था छैन। किनभने कोभिडका विरामीलाई २४ सै घण्टा अक्सिजन आवश्यक हुन्छ’, उनले भनिन्।

मन्त्रालयका प्रवक्ता गौतमको भनाइलाई प्रतिवाद गर्दै उनले तयार भइनसकेको भवन आपतकालीन प्रयोग गर्न मात्र लागिएको बताइन्। ‘यो तयार भइसकेको अस्पताल होइन। तर सरकारले कोभिडका लागि प्रयोग गर्ने भनेपछि हामीले रातदिन लगाएर प्रयोग गर्न मिल्ने बनाएका छौँ। खासमा यो त सर्जिकल प्रयोजनका लागि तयार हुँदै गरेको भवन थियो’, उनले भनिन्। सरकारले अक्सिजन उपलब्ध हुने अवस्था तयार गरे तत्कालै र ५ सय शैय्याकै क्षमतामा सुरु गर्न सकिने बताइन्।

उनले भनिन्, ‘ पाँच सय सैय्याको अस्पताल सञ्चालन गर्न हामीलाई दैनिक न्यूनतम पनि एक हजार भरि सिलिण्डर अक्सिजन चाहिन्छ। २/३  सय बेड सञ्चालन गर्न पनि हामीलाई ५/६ सय सिलिण्डर अक्सिजन चाहिन्छ।’

नयाँ भवनमा उपचार सुरु भए गम्भीर प्रकृतिका बिरामीलाई भने पुरानै भवनमा राखेर उपचार गरिने वीर अस्पताल प्रशासनले जनाएको छ। ‘आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई हाल प्रयोग भइरहेकै भवनमा राखेर उपचार गरिन्छ’, उनले भनिन्।

तस्बिरहरु: बर्षा शाह

जेठ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्