राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारी

काठमाडौँ – विपक्षी दलहरुले राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी दलहरुको बैठकले भण्डारीले संवैधानिक दायरा नाघेर केपी ओलीलाई पदीय हैैसियतकै दुरुपयोग हुने गरी सहयोग गरेको ठहर गर्दै महाअधियोग लगाउने विषयमा मोटामोटी सहमति गरेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार भण्डारीविरुद्ध शुक्रबार नै महाअभियोग दर्ता गर्ने विषयमा कांग्रेस सभापति देउवा बाहेक अरु सबै नेताहरु एक मत भएका छन्।

उनले पनि प्रस्तावलाई अस्वीकार नगरे पनि सोचविचार गर्नुपर्ने बताएपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन्। ती नेताका अनुसार आआफ्नो पार्टीमा छलफल गरेर पुन केही बेरमा बस्ने गरी नेताहरु उठेका हुन्।

बैठकबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरुले संक्षिप्त प्रतिक्रिया दिँदै बैठकमा राजनीतिक विकल्पहरुबारे छलफल भएको र आफूहरु आजै एउटा टुंगोमा पुग्ने बताएका छन्।

देउवा निवासबाट बाहिरिने क्रममा उनले भने, ‘विकल्पहरु छन्, धेरै विकल्पहरु छन्,एकछिनपछि हामी टुंगोमा पुग्छौँ।;

उक्त छलफलमा कांग्रेस माओवादीका साथै एमालेको माधव नेपाल समूहबाट नेपाल र नेता भीम रावल सहभागि थिए भने जसपाबाट उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी भए।

उक्त बैठकपछि कांग्रेसका नेताहरु बुढानिलकण्ठमै छलफल गरिरहेका छन् भने नेपाल समूह संसदको सार्वजनिक लेखा समितिको हलमा आन्तरिक कुराकानी गरिरहेका छन्। त्यस्तै प्रचण्ड र यादवले पनि पार्टीभित्र छलफल गरिरहेको उनीहरु निकट स्रोतले देश सञ्चारलाई जानकारी दियो।

संविधानको धारा १०१ अनुसार राष्ट्रपतिविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाअभियोग दर्ता गर्नसक्ने प्रावधान् छ। उक्त धारामा अरु संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग दर्ता भएपछि पद निलम्बन हुने व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने मौन छ।

राष्ट्रपति भण्डारीले केपी बिहीबार प्रधानमन्त्री ओलीले विश्वासको मत नै नलिइ धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आक्रोशित भएका छन्। भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन्।

जेठ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्