आफ्नो ज्यान आफै बचाउँ

एक वर्ष अघि देशका सरकार प्रमुख जस्ता ठूला मान्छेले बेसार पानी खानु, हाच्छिँयू साच्छिँयू गर्नु हामी बलिया मान्छेहरुले त्यसै पचाउँछौँ र यसरी नै सबैलाइ बचाउँछौँ भन्ने अर्ति उपदेशबाट प्रभावित भएर ढुक्क हुँदै उनका सभा जुलुसमा जाँदा अनि उखान टुक्कासहितकोे भाषणरस खाँदा यस्ता जाबा भाइरसहरुको सत्यानास हुन्छ भन्ने उक्तिलाई सबैभन्दा राम्रो जुक्ति मानेर महिनौँसम्म पछिपछि लागेर हिँड्नेको जमात ठूलो थियो।

उनी र आफूलाइ उनी भन्दा माथिको सम्झने एउटै पार्टीका झगडियाहरु र अन्य पार्टिको पछि लाग्ने र उनीविरुद्ध जाग्ने पनि उत्तिकै थिए। राजनीतिमा सबै कुरो जायज हुन्छ भनेर भाइरस बोसिय फ्याटिय हो तातोपानीले धोएपछि चट् हुन्छ,यो रुघाखोकी जस्तै हो तातोपानीले नै ठिक हुन्छ, भाइरस नाकमा आयो भने पुछेर फाल्नुपर्छ, घाँटीमा पुग्यो भने खाकखुक गरेर फाल्नपर्छ, अरु स्वास्थ्य जटिलताले मरेका मान्छेलाई पनि कोभिडले मरेको भनिएको छ, हाम्रो प्रतिरोधी क्षमता बढि छ, हावापानीले पनि हामीलाई साथ दिएको छ, हाम्रो खानाले हाम्रो प्रतिरोधी क्षमता बलियो बनाउँछ, हामीलाइ केही गर्न सक्दैन भनेर सबैलाई भरोसा दिलाए अनि आफ्नो राजनैतिक उद्देश्य पूरा भएपछि कताकता बिलाए।

अहिले आएर कोभिड यस रुपमा बढ्ला भन्ने लागेकै थिएन र विभिन्न कारणले यसको रोकथामको लागि सम्बन्धितहरुको समन्वय हुनै दिएन अनि आफू बाहेक अरुले यसमा चासो नै लिएन भन्दै आएको देखिन्छ। अघिल्लो लहरमा सरकार प्रधानका उद्गारहरुलाइ मनन गर्दै र यसैमा ढुक्क पर्दै हिँड्दा कोभिडको दोश्रो लहरले जनजीवन आक्रान्त हुँदा सबैकुरा फोस्राे रहेछ भनेर सरकारलाइ मात्रै दोष दिँदै रोष प्रकट गरेको सुनियो देखियो। यो सरासर गलत हो।

दक्षिणी छिमेकमा दोश्रो पटक कोरोना व्यापक फैलिँदा यता पनि आउन र हामीले दु:ख पाउन सकिन्छ भन्ने सोच्नुभन्दा आफ्नो कुर्सी जोगाउने विषयलाई प्राथमिकतामा राख्नै पर्‍याे। कुर्सी नभए जीवन नै सकिएको महसुस हुने रोगले गर्दा कोरोना केही होइन भनेर बकिएको सही हो। पल्लोघरमा महामारीले उग्ररुप लिँदा र यताकालाई तयारीको लागि प्रशस्त मौका दिँदा पनि त्यस्तो केही गरिहाल्न आवश्यक देखिएन।

अघिल्लोमा जस्तो होल्डिङ् सेन्टर, स्वास्थ्यजाँच, आइसोलेन, क्वारेन्टाइन आदि कुनै पनि तहमा यथेष्ट मात्रामा तयार गर्ने जरुरी पर्ने कुरै आएन। स्थानीय पालिका सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार कसैको पनि जिम्मेवारीमा यो विषय नपर्ने रहेछ भन्ने रोजिरोटीको लागि दक्षिणी छिमेकमा पसिना बगाएर फर्केका मानिसहरु आउन थालेपछि जानकारी हुन आयो।

उनीहरुलाई जतिसक्दो छिटो आफ्नो क्षेत्रबाट विभिन्न साधन मार्फत अर्को क्षेत्रमा पठाउनमा प्रतिस्पर्धा गर्नाले र उनीहरु बिना स्वास्थ्यजाँच आफ्नो गाउँघरमा झर्नाले कसले महामारी गाउँमा सार्‍याे अनि कसले अन्जानमै कतिजनालाइ मार्‍याे भन्ने थाहै हुन सकेन। को कहाँबाट आयो, कहाँ गयो, को को सित घुलमिल गर्‍याे आदि भनेर पहिले जस्तो कन्ट्याक्ट ट्रेसिङ गर्ने आवश्यकता देखिएन । शहरबाट गाउँजानेहरुले पनि कोरोना लिएर गाउँ पसेका हुन सक्छन् भन्ने कुरा त कसलाइ के मतलब भयो र ? उही बेसारपानी फर्मुला सबैतिर व्यापक रुपमा लागु भयो । यो ज्यादै राम्रो र असल कुरा हो भनेर सबैले मनन गरिदिए अनि बिना रोकटोक गन्तव्यसम्म गएर ढुक्क परिदिए।

दोश्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय  सिमानाबाट स्वदेश छिर्नेहरुको लर्को देखेपछि स्वास्थ्य परीक्षणको झर्को बेहोर्नुभन्दा आ–आफ्नो गन्तव्यमा सुरुसुरु जान दिनुलाई नै बुद्धिमानी मानिएको र सबैलाइ सजिलो हुने ठानिएको हुनाले त्यस्ता व्यक्तिहरु संक्रमण बोकेरै गाउँघर देखि लिएर शहर बजारसम्म आरामसित अरुलाई पनि संक्रमण सार्दै हिँडे।

आइसोलेसन क्वारेन्टाइन जस्ता झन्झटिला काम कुनै पनि तहले गर्ने कुरो आएन र सरकारले पनि यसबाट यस्तो अवस्था सिर्जना हुन सक्ला भन्ने भेउ नै पाएन । एकैचोटि संक्रमण फैलिएर भयावह स्थिति आउन थालेपछि र कोभिडले बिरामीहरुलाई अत्यधिक गालेपछि मात्रै सबैतिर दौडादौड सुरु भयो। पहिलो कुरो अस्पतालमा बेड भरिभराउ भयो र यो अवस्था देशैभरि गयो।

सरकारी नियामक निकायका पदाधिकारीहरु पनि ठूलो मुख र भुँडीवाला नै भएकाले दुवै थरिको जोडी शानदार तरिकाले चलिरहेको र दुवैतिर नगद फलिरहेको छ रे भन्ने सुनिन्छ। त्यसमाथि नेताहरुको संरक्षण र आडभरोसा समेत भएपछि कुरै सकिइ हाल्यो अनि यस्तै तरिकाले सबैलाई ढाल्यो र टाठाबाठाले सही समयमा सही कदम चाल्यो भन्नेहरु पनि नभएका होइनन्। तर जनताले चाहिँ पत्याए जस्तो देखिँदैन।

सरकारी अस्पताल निजी अस्पताल सबैतिरका अस्पतालहरुमा बेड नपाएर मानिसहरुको बिजोग र बिचल्ली भयो। यसमा पनि सरकारी आँकडा र अस्पतालहरुको वास्तबिकतामा किन हो साबिक अनुसारकै फरक धारणा र भनाइहरु आउन थाल्यो। सरकार अस्पतालहरुमा चाहिए जति बेड उपलब्ध छ भन्छ अस्पताल जाँदा बेड छैन । मान्छेहरु फेरि अन्यौलमा पर्न र फुटपाथमा झर्न बाध्य भए। हेर्दाहेर्दै अस्पतालका बेड, कोरिडोर, बस्ने बेन्च, मेच, स्टुल, कुरुवा बस्ने ठाउँ, बाहिरको पेटि, विश्रामस्थल, सिँढी, बरन्डा, आँगन, ग्यारेज, पार्किङ आदि सबै ठाउँ बिरामीले भरिँदा र त्यसरि पनि सकेसम्म उपचार गरिँदा अक्सिजनको कमीले अर्को हाहाकार भयो।

यसमा सबैभन्दा सजिलो उपाय भनेको लकडाउनलाई मानियो र यसैबाट कोरोना नियन्त्रणमा आउँछ भन्ने ठानियो । हुन पनि हो सरकारले प्रशासन मार्फत एउटा विज्ञप्तिको खेस्रो फाल्ने र सुरक्षाकर्मीहरु परिचालन गरेर विरोधीको मुख टाल्ने अनि आफ्नो जिम्मेवारी र अपजसलाई सुरक्षाकर्मीहरुको टाउकोमा हाल्ने पुनित कर्म गरेर कुर्सी टिकाउने अनि असंवैधानिक कार्य र बोली बिकाउने कार्यमा ढुक्कसित लाग्न पायो। बुद्धि, विवेक,मानवीय समवेदना, श्रोत साधन, जनता प्रतिको जवाफदेहिता आदि केहीको पनि लगानी नगरिकन राजनैतिक बेइमानीसहितको जनता ठगानी गर्न सकिने यो भन्दा सरल उपाय अरु हुन नसक्ने हुनाले सरकारले चालेको यो कदमलाई सबैले ज्यादै स्वागतयोग्य मानिदिएका छन्।

बिरामी बढ्दै जाँदा आइ सि यू, भेन्टिलेटर त टाढाको कुरा अस्पतालहरुमा सामान्य बेड वा कतै छेउछाउमा टुसुक्क बसेर उपचार गराउन मात्रै पाए पनि खुसुक्क जति पनि तिर्न मानिसहरु तयार भएको मौका छोपेर कतिपय अस्पतालहरुले मनपरि बिल बनाएर अप्ठ्यारोमा यस्तै हो भन्ने जनाएर पनि स्तरिय सेवा प्रदान गरेको सुनियो।

यस्तै अवस्थामा अक्सिजनको ज्यादै कमि हुन गयो। अक्सिजनको कमिले अनाहकमा मानिसहरु ज्यान गुमाउन बाध्य भए र अकालमा धेरैजना परमधामतिर गए। सरकारले अक्सिजनको कोटा प्रणाली लागु गरेपछि त झन् भयावह स्थिति आयो र बिरामी र आफन्तहरुले झन् बढि दु:ख पाए। अस्पताल भर्ना हुन आफै अक्सिजन लिएर जान पर्ने नभए अस्पतालले भर्ना नगर्ने अवस्था आयो। सरकारले तत्काल अक्सिजन ल्पान्ट राख्न अस्पतालहरुलाइ कडा निर्देशन दिएर भए पनि पहिले ठूलै कमिसन लिएर अस्पताल खोल्न दिने निर्णयलाइ सच्याउनु तारिफ योग्य कुरा हो।

यसै मेसोमा बिरामीका आफन्तहरुले जति नै धर्ना दिए पनि अस्पतालहरुले बिरामी भर्ना गर्न आलटाल गर्नुका साथै बिरामीको मृत्यु भएमा कुनै उजुर बाजुर गर्ने छैन भन्ने व्यहाेराको कागज गराएर र धरौटीमा निकै मोटो रकम भराएर मात्रै भर्ना गरेर स्वास्थ्य उपचारको मूल्य मान्यता सिद्धान्त नियम कानुन र आचार संहिताको साथै मानवीय  समवेदनाको पूर्ण पालना गरेको पाइयो।

ठूला र नाम चलेका अस्पतालहरुले आइ सि यू, क्याबिन र साधारण बेडको निकै चर्को मूल्यसूचि सार्वजनिक गरेर टन्न पैसा छैन भने यता नआउनु र त्यस्ताले यतातिर दु:ख नपाउनु भनेर सुपथ सुलभ उपचार र सर्बहितमा अस्पताल खोलिएको पुष्टि गरे। सुरक्षाकर्मी र केही स्वयम् सेवकहरुले अनेक दुख कष्ट झेलेर र अनेक खतरासँग खेलेर जम्मा गरेको अक्सिजन सिलिन्डरहरुले धेरै बिरामीहरुलाई राहत पुर्‍यायाे। केही सीमित पहुँचवालाहरुले अक्सिजन सिलिन्डर घरघरमा राखेर आकस्मिक अवस्थाको तयारी गर्नु ज्यादै राम्रो देखियो।

अझ केही अत्यन्त जनवादी माननीय र नेताहरुले आफन्त र आफनो निर्वाचन क्षेत्रमा पठाउन सकेसम्म बढी अक्सिजन सिलिन्डरहरु घरमा थुपारेर जनताको असली सेवकको परिचय दिन सफल हुनु ज्यादै सराहनिय देखियो। यसको लागि उनीहरुले आफ्नो पद प्रतिष्ठा र शक्तिको पूर्ण रुपमा सदुपयोग गरेको देखिनु सारै राम्रो हो। अक्सिजनको व्यापक कालोबजारी पनि भयो रे भन्ने नचाहिँदो हल्लातिर बिरामी र बिरामीका आफन्तहरुले कुनै चासो नराखी जति भन्यो त्यति तिर्दै लाँदै गरेको र यसले कालोबजारीहरुले ढुकुटी भरेको प्रष्ट देखिए पनि भ्रष्टहरुको आँखा त्यसमा परेन।

ठूलाठूला अस्पतालहरु र मानव स्वास्थ्यसित सम्बन्धित उद्योगहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरुको समेत लगानी भएकोले यसमा धेरै गफ गरेर समय खेर फाल्नु र धेरै कोट्याउन थाल्नु बुद्धिमानी पनि होइन। तत्काल हरेक पालिकाहरुमा अस्पताल खोल्ने भनेर केही महिना अगाडि एकैपटक बालुवाटारबाट घोषणा र उद्घाटन भएको सुनिएको खबर पनि रेल, ग्यास, पानी जहाज जस्तै जनता झुक्याउन बुनिएको गफ बाहेक केही भएजस्तो लाग्दैन भनेर आफैद्वारा चुनिएको सरकारलाइ दोषारोपण गर्न हुँदै भएन।

देशभरिका जनतालाई आवश्यक पर्ने खोप ल्याइन्छ र सबैलाइ छिटै नै लगाएर भ्याइन्छ भनेर सरकार प्रधान र अन्य मन्त्रीहरुले ठाउँठाउँमा भाषण गर्दै हिँडेको निकै लामो समयपछि कमिशन एजेन्ट र बिचौलियारुपी ठूला र बालुवाटारमा बाक्लो आउजाउ भएका सरकार प्रधानका प्रिय व्यापारीहरुले भने जति कमिशन नपाएकोले खोपको खरिद रोकिएको अनि मन्त्रीभन्दा माथिल्लो तहबाटै कमिशनको रेट तोकिएको भन्ने हल्ला चलेको भए पनि सरकार प्रधानले त्यो हावादारी हल्ला मात्रै हो भनेपछि नपत्याउने कुरो आउँदै आएन।

यसै विषयमा ति व्यापारीले मन्त्रीलाई पनि हप्काएको भन्ने सुन्दा विगतमा तिनले यस्तै कामहरुबाट कति कमिशन चप्काएको होला भनेर अन्दाज गर्न पनि सकिन्न । सरकार प्रधान दाहिना भएपछि कसैले केही लछार्न र चाहे जति कमिशन नदिइकन पछार्न सक्ने कल्पना नगरे हुन्छ भन्दै सम्बन्धित मन्त्री पनि बर्बराउँदै हिँडेको देख्दा कुरो गहिरै भएको अनुमान गर्न सकिन्छ।

देशमा अक्सिजन र सिलिन्डरहरुको ज्यादै कमि भएर अनाहकमा जनताको ज्यान गइरहेको कुरामा ध्यान दिएर खाडीका देशहरुमा रहेका गरिब मजदुरहरुले गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउँदा देशकै नाम चलेका र स्वदेश विदेशमा उद्योग व्यापार गरि अकुत कमाएका र यहि व्यापरबाट अपार रमाएका नाम चलेका उद्योगी व्यापारीहरु भने यही मौकालाई सदुपयोग गरेर अझ बढि नाफा कमाउने अनि हामी ठूला उद्योगी व्यापारी घराना भनेर धाक रवाफ मात्रै जमाउने कार्यमा लाग्नुलाई पनि जनताले ज्यादै सराहना गरेका छन्। हाम्रा राजनीतिज्ञहरुले आफ्नो धर्म निभाए जस्तै व्यापारीहरुले पनि आफ्नाे कर्म गरेर धर्म निभाएकोमा कसैको केही गुनासो छैन।

नक्कली पिसिआर रिपोर्ट बनाइदिने, सक्कलीको लेबलमा नक्कली औषधी बेच्ने, पाँच हजार पर्ने औषधीलाइ पचास हजार र अझ माथिको रेटमा बेच्ने, एम्बुलेन्सको जति मन लाग्यो त्यति भाडा ठटाउने र बिरामीलाई पाइला पाइलामा मोलमोलाइ गर्ने स्वास्थ्यकर्मीहरुको पेटमा पनि अटाउने आहारा त अरु सरह नै हुनु पर्ने हो। मौकामा चौका हान्न जान्ने र अरुको ज्यानै जाने गरि जसरी हुन्छ नगद तान्ने स्वास्थ्यकर्मीहरुले गर्दा रातदिन नभनि आफूलाई समेत जोखिममा राखेर अहोरात्र बिरामीको सेवामा खटेका र जस्तो अवस्थामा पनि सकेको सेवा दिन्छु भनेर डटेका स्वास्थ्यकर्मीहरुलाई समेत बदनाम गर्ने त्यस्ता लोभीपापीहरुलाई बिरामी र आफन्तले दिएको श्राप पनि अहिलेसम्म लागेको देखिन्न।

सरकारी नियामक निकायका पदाधिकारीहरु पनि ठूलो मुख र भुँडीवाला नै भएकाले दुवै थरिको जोडी शानदार तरिकाले चलिरहेको र दुवैतिर नगद फलिरहेको छ रे भन्ने सुनिन्छ। त्यसमाथि नेताहरुको संरक्षण र आडभरोसा समेत भएपछि कुरै सकिइ हाल्यो अनि यस्तै तरिकाले सबैलाई ढाल्यो र टाठाबाठाले सही समयमा सही कदम चाल्यो भन्नेहरु पनि नभएका होइनन्। तर जनताले चाहिँ पत्याए जस्तो देखिँदैन।

चाहिएको बेलामा मित्रराष्ट्रहरुबाट सहयोग जुटाउन भन्दा आफ्नालाई सहुलियत लुटाउन कूटनैतिक नियोगमा पठाइएका सासु, सम्धि, सालासाली, दाजुभाइ भतिजा, कमिशन एजेन्टका आफन्त, गाउँले, भेगी, जिल्लाबासी, लिलाम बढाबढको हद पुर्‍याएर पद किन्न सक्ने व्यक्ति, ज्यादै भित्रिया व्यक्ति आदिलाई विभिन्न स्वार्थबाट प्रेरित भएर कूटनीतिक नियूक्तिमा पठाउँदाको नतिजा अहिलेको महामारीमा पनि राम्ररी देख्न पाइएको र अनुभव गर्दै आइएको छ।

जे काम गर्दा पनि आफ्नो भागमा कति आउँछ र आफन्तले कति पाउँछ भनेर मात्रै काम गर्न जाँगर चलाउने अनि पदको आडमा नगद फलाउनेहरुलाइ छानीछानी पठाइएकोले कतैबाट पनि अपेक्षित सहयोग नआएको र आएको भए पनि कसैले चाल नपाएको हुनाले यस्ता कुटनीतिज्ञहरुलाई अझ लामो समयसम्म उतै राखिराख्दा देशको इज्जत अझ बढाउन सक्ने देखेर सरकारले आफ्नो छनौटमा गर्व गर्नु ठिकै होला। यता पनि त्यस्तैको छनोट भइरहेको र अचेल यस्तै मौसम गइरहेको हुनाले कसैले आश्चर्य मान्न पर्दैन।

विभिन्न मौसममा माइतीघरदेखि बालुवाटार बानेश्वर आदि स्थानमा देखिने र ठूलो संघर्ष गरेको भनेर लेखिने नागरिक समाज कोरोनाको अवस्थामा खुट्टा लुलो पारेर कुन दुलोमा लुकेछन् भन्ने कसैले थाहा पाउन सकेका छैनन्। सायद डलरको हरियो कलर मात्रै चिन्ने भएकोले यो टोलीको बोली नफुटेको होला भनेर जनताको अनुमान कतिसम्म सहि हो उनीहरुलाई नै थाहा होला। प्रमुख प्रतिपक्ष र अन्य राजनैतिक पार्टीहरुले पनि भर्खरै कसैले ज्ञापन पत्र र कसैले ध्यानाकर्षण गराएर अनि हामीले सरकारलाई अहिले मात्रै दियौँ भन्दै ठूलो स्वरमा कराएर पाप पखाल्ने प्रयास गरेको राम्रै हो।

वीर अस्पतालमा पाँच सय बेडको अस्पताल बनाउन लागेकोमा गलत ठाउँमा लकिरका फकिर भन्ने उखान हाल्ने उपप्रधानमन्त्रीका सुपुत्रलाई भेन्टिलेटरसहितका उपकरण ल्याउने ठेक्का जबरजस्ती दिएर मजाले भ्याउने चक्करले गर्दा अस्पताल सञ्चालनमा आउन र जनताले सेवा पाउन नसकेको हो भन्ने उडन्ते कुरामा जनताको विश्वास भए जस्तो लाग्दैन ।

मन्त्री पुत्र भए पनि ओम्नि देखि अन्य ठेक्का र कमिशन काण्डमा चर्चित यूवा नेता समेत भएकोले कसैकसैले हो कि जस्तो पनि गरेका र पक्कै होला भन्नेमा परेका पनि छन्। औषधी खोप र अन्य उपकरणहरु कमिशनको कारणले ठाउँठाउँमा रोकिएको र उपचार देखि दाह संस्कारसम्म चर्को शुल्क व्यहाेर्न बाध्य जनताले झर्को मानिरहेको बेलामा वन मन्त्रीले मिठो स्वरमा दाह संस्कारको लागि दाउराको कमि हुन दिइने छैन भनेकोले मृतकहरुले राहत महसुस गर्न सक्ने सम्भावना देखिन्छ।

एकताका आफ्नो गाउँ आफै बनाउँ भन्ने नाराले चर्चामा आएकै दलको सरकार भएको र अहिले यो सरकार आफ्नो कुर्सी आफै बचाउँ अनि जनताको नाम लिँदै चारैतिरबाट नगद सोहोरेर आफ्नो ज्यान पनि आफै बचाउँदै हातमा आएको सबै नगद मजाले पचाउँ भन्ने ध्याउन्नमा लागेर कोरोनाबाट जनतालाई बचाउने काममा मुखले लोलोपोतो मात्रै गरिरहेको र जनता दिनदिनै मरिरहेको सबैलाई थाहा छ।

त्यसैले जनताले पनि कतै केही नहेरी र नेताहरुको बकमफुसे गफलाइ नटेरी भगवानको नाम लिँदै अनि आफनो ज्यान आफै बचाउँ भन्ने नारा दिँदै बस्ने बाहेक अहिलेलाइ अरु उपाय देखिन्न।

 

जेठ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्