आइसियू वार्डबाट फोहोर संकलन गरेर ल्याउँदै ज्ञानु । तस्बिर : बर्षा शाह/देश सञ्चार
एउटा सफाइकर्मीको दैनिकी

संक्रमितहरुको फोहोर उठाउने ज्ञानु घिमिरेलाई दिनभरि पछ्याउँदा… (भिडियो स्टोरी)

कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने भन्दै धेरैले छिःछिः, दुरदुर गरे। आफन्तले पनि तिमीबाट कोरोना सर्छ, मेरो घर नआउनु भन्दै सन्देश छोडेका थिए । त्यो बेला कोरोना भाइरस महामारीको पहिलो लहर चलिरहेको थियो।

‘अब यसले गाउँमा कोरोना सार्ने भई’, छिमेकीहरुले भनिरहेका थिए। तर उनलाई कसैका केही कुराले फरक भने पारेन। आफू राम्रो हुनु पर्छ सब ठीक हुन्छ, यही दृढताका साथ उनी काम गर्दै गइन्। आफूलाई नराम्रो भन्नेहरुलाई वास्ता गर्न छोडिदिइन्।

साथीभाइ, आफन्तको साथमा भन्दा पनि एक्लै रमाउन थालिन्।

र अहिले परिस्थिति एक वर्ष अगाडिको भन्दा भयावह बनेको छ। संक्रमितले अस्पताल भरिएका छन्। उपचार नपाएर बिरामीले मृत्यु वरण गर्नु परेको छ । संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

यो दोस्रो लहरका बेला समयमा उनको भोगाइ भने विल्कुलै फरक छ।

पहिलो लहरमा ‘संक्रमित छौँ’ भन्नेहरुको तारन्तार फोन आइरहन्छ। कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने उनलाई फोन गर्नुको उद्देश्य एउटै हुन्छ, ‘अस्पतालमा बेड मिलाइदेऊ’।

तर बेड मिलाउनु उनको बसमा छैन। समय पहिलाको जस्तो पनि छैन। बेड नमिलाइदिएको भन्दै कति रिसाए। कति उनीसँग बोल्नै छोडे। कति अझै आशामा बसिररहेका छन्।

अहिले उनी आफन्तका आशालाई पूरा गर्न सक्ने स्थितिमा छैनन्। र सक्दिनन् पनि।

आफ्नै काम भ्याई नभ्याई छ, टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फोहोर व्यवस्थापनमा खटिएकी हरिसिद्धीकी ३८ वर्षीया ज्ञानु घिमिरेलाई।

दिनको सुरुवात


अस्पताल निस्कनुअघि घरमा तयार हुँदै ज्ञानु । तस्बिर : बर्षा शाह/देश सञ्चार

उनको घरबाट अस्पताल पुग्न करिव ४५ मिनेट लाग्छ। बिहानको सिफ्टमा काम गर्दै आएकी उनी ५ः३० बजेतिर उठ्छिन्। आफ्नो नित्यकर्म सकेर भान्सातिर लाग्छिन्। चुलो बाल्दै गरेकी उनले भनिन्, ‘हेर्नुस् यहाँको दूध कति बाक्लो हुन्छ।’ एउटा चुलोमा दूध र अर्को चुलोमा अण्डा उसिन्न थालिन्, उनले।

केही बेरमै दूध उम्लियो। उम्लिँदै गरेको दूधलाई चुलोबाट बाहिर निकाल्दै उनले भनिन्, ‘अब अण्डा उसिनिन्जेल म लुगा लगाएर तयार भइसक्छु। अफिस जानलाई छिटो हुन्छ।’

यति भन्दै उनी ‘बेडरुम’मा छिरिन्।

दराज खोलिन्। मिलाएर राखिएका लुगामा सरसर्ती आँखा डुलाइन्। एक जोर कुर्ता सुरुवाल झिकिन्। लुगा लगाइसकेपछि अगाडि पछाडि गर्दै उनी आफूलाई हेरिन्। त्यसपछि अनुहारमा अलिकति क्रिम लगाई कपाल कोरिबाटी गरिन्।

ज्ञानु तयार भइसक्दसम्म चुलोमा बसालेका अण्डा पाकेका थिए । ‘अण्डा भइसक्यो। आज चिया खानु पर्ला’, यति भन्दै उनले एउटा चुलो निभाइन्। अर्को चुलोमा चिया बसालिन् ।

उता चुलोमा चिया बिस्तारै उम्लिँदै थियो। यता ज्ञानुले अण्डा खाइसकेकी थिइन्। केही बेरमै चिया उम्लियो। चिया छानेर कपमा हालिन् । छेउकै कुर्सिमा बसिन्। अनि टोस्ट चियामा चोपिन् र मुखमा हालिन्। खाइसक्दा बिहानको साढे ६ भइसकेको थियो। गलामा परिचयपत्र भिरिन्। अनि हतारिँदै निलो रंगको स्कुटर गेट बाहिर निकालिन्। डिक्कीमा झोला राखिन्। हेल्मेट लगाइन्, कालो चस्मा पनि। उनी कामका लागि निस्किइन् घरबाट।

बिहानको समय चेकिङ्ग कडा थियो। प्रहरीले जाँचका लागि बिचमा रोक्दै गर्दा उनी कार्ड देखाउँदै झर्को नमानी उत्तर दिन्थिन्, ‘टेकु अस्पताल।’ प्रहरीले जानुस् भनेर हात हल्लाउँथे। अनि उनी फेरि स्कुटर हुइकाउँथिन्। हरिसिद्धिबाट टेकुसम्म पुगुन्जेल धेरैपटक उनले यसो गरिन् । करिब ४० मिनेटमा उनी अस्पताल पुगिन्।

स्कुटरलाई अस्पतालको पार्किङ्गमा राखिन् । प्रशासनमा गएर हाजिर गरि उनीफेरि आएर स्कुटर स्टाट गर्दै उनले भनिन्, ‘हाम्रो अफिस त पछाडिपट्टि हो नि।’

उनी अस्पतालको पछाडि लागिन्। पहेँलो रंगको घरमा ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अस्पताल फोहोर मैला व्यस्थापन केन्द्र’ लेखेको बोर्ड देखाउँदै उनले भनिन्, ‘यही हो हाम्रो अफिस।’

कामको सुरुवात…

अस्पतालले उनीहरुका लागि ‘चेन्जिङ्ग रुम’ दिएको छ। घरबाट लगाएर लुगाले काम गर्न मिल्दैन। अस्पतालकै लुगा लगाएर काम गर्नु पर्छ। अझ यो बेलामा त विशेष ख्याल गर्दै।

ज्ञानुले नै बुझेकी छन्। अस्पतालले त्यसैगरी बुझाइएको पनि छ। उसो त उनी फोहोर व्यवस्थापनका लागि तालिम लिँदै गर्दा यी सबै कुरा सिकाइएको थियो, पहिले नै। अस्पतालमा जम्मा हुने फोहोर जन्य कुराहरु जोखिम नै हुन्छन्। अझै बढि सरुवा रोग सम्बन्धी उपचार हुने अस्पतालमा।

फोहोर जन्य वस्तुहरु उठाउँदै गर्दा आफूमाथि आइपर्ने हरेक समस्यालाई लिएर सजक छिन्, उनी। सोही अनुसार काम गर्दै आएकी छन्। ज्ञानु सबै भन्दा पहिला आफ्नो अफिसको ढोका खोल्छिन्।

अनि लुगा फेर्नका लागि ‘चेन्जिङ्ग रुम’मा छिर्छिन्। लुगा फेर्नु भन्दा पहिला उनीले मोबाइललाई फ्लाइट मोडमा राखिन्। र भनिन्,‘कहिँ कतै आफै संक्रमित भइहाले पनि अस्पतालमा बेड नपाउने स्थिति छ। यो बेलमा मैले अरुका लागि कसरी बेड मिलाइदिनु। मोबाइल नै अफ गर्‍यो भने आनन्दै।’

मोबाइल झोलामा थन्काउँदै उनले काम गरिन्, सबै भन्दा पहिला हातमा सेनेटाइजर प्रयोग गरिन्। अस्पतालको हरियो रंगको लुगा लगाइन् । त्यसपछि पीपीई–टाउकोमा क्याप, गाउन, पञ्जा, मास्क, फेस सिल्ड, बुट।

‘हामी सरुवा रोगको उपचार हुने अस्पतालमा काम गर्छौँ। अहिले अझ कोरोना भाइरस संक्रमितको उपचार भएरहेको आफूलाई संक्रमणबाट जोगाउनका लागि हाम्रो शरीरमा कतैबाट पनि हावा छिर्नु हुँदैन’, मास्क लगाउँदै गर्दा उनले भनिन्।

काम गर्ने बेला मास्क तल माथि सर्न सक्ने भएका कारण उनी मास्कलाई टेपले वरिपरिबाट मज्जाले बन्द गर्दै थिइन्, कतैबाट हावा नै नछिर्ने गरी। अस्पतालमा विभिन्न वार्डमा फोहोर उठाउन तयारी गर्दै गरेकी उनी पटक–पटक भनिरहेकी थिइन्, ‘सुरक्षित भएर काम गर्दा डराउनु पर्दैन।’

त्यही आँटले उनलाई अहिलेसम्म केही भएको पनि छैन। र हुँदैन होला पनि।

शरीरको कुनै पनि अङ्ग नदेखिने गरि उनी वार्डमा जना तयार भइसकेकी थिइन्। ‘ल म भित्र जना रेडी भएँ। अब एकपटक अफिसमा पसेर जानु पर्छ’, फेस सिल्डको इलास्टिक टाउकोमा छिराउँदै भनिन्। र फोहोर व्यवस्थापन केन्द्र तर्फ लागिन्।

केन्द्रभित्र छिरेकी ज्ञानुले मेसिन देखाउँदै भनिन्, ‘प्रयोग नहुने फोहोर (डिस्पोज नहुने) लाई यसैमा राखेर मेसिन चलाउँछौँ।’ उनले मिसिन चलाउनलाई ‘स्वीच अन’ गरिन्। मेसिनमा केही समस्या देखियो। स्वीच अफ गर्दै भनिन्, ‘इको आइराको छ। बनाउन बोलाउनु पर्ने भए छ।’

मेसिन चलाउने कोशिस फेरि गरिन्। तर सफल भइनन्।

मेसिनमाथि राखिएको ठूलो सुई देखाउँदै भनिन्,‘यो सुई भित्र कालो रंग आयो भने हामीले बुझ्न पर्छ। फोहोरमा भएका सबै किटाणुहरु नष्ट भइसकेको छ। तर सुई भित्र कालो रंग आएको छैन भने किटाणु नष्ट भएको छैन भन्ने बुझ्नु पर्छ।’

यति बुझाउँदै उनी केही साना बट्टा हातमा लिइन्। अनि केही थान कालो प्लास्टिक पनि। केन्द्र बाहिर राखिएका ठूला दुईवटा फोहोर उठाउने ट्रली झिक्न थालिन्। उनलाई ट्रली झिक्न मद्दत गरिन्, उनीसँगै फोहोर उठाउन हिडेकी महिलाले।

ट्रलीको एक साइडमा साना बट्टालाई प्लास्टिकमा राख्दै भनिन्, ‘यो औषधि हो। यही औषधि हाले पछि मात्र फोहोर उठाउँछौँ। कुनै वार्डमा औषधि हालेर राखेको हुन्छ, कुनैमा आफै औषधि हालेर फोहार उठाउनु पर्छ।’

फोहोर उठाउन वार्ड–वार्ड

दुवैजना मिलेर ट्रली गुडाइरहेका अगाडि बढे। सबै भन्दा पहिला उनीहरु आकश्मिक कक्षमा पसे। बिरामी खचाखच थिए। यत्रतत्र बिरामी सुतिरहेका। खाली ठाउँ कतै देखिँदैनथ्यो। भित्र पस्ने गेटमै राखिएको बेडले ट्रली भित्र छिराउनउनीहरुलाई हम्मेहम्मे भयो। बेडसँगै राखिएको अक्सिजनको सिलिन्डर अझै बाधक बन्यो। दुवै जना मिलेर सिलिन्डर सार्ने प्रयास गरे। सिलिन्डर हलचल गरेन। धेरै पटक कोशिस गरे। तर सक्दै सकेनन्।

ट्रलीलाई बाहिरै छोडे। हातमा औषधिको बट्टा बोके र भित्र पसे। रातो, हरियो बल्टिनमा राखिएका फोहोर पोको पारेर एक–एक गर्दै ट्रलीमा राखे।

सुई जन्य फोहोर भने उनीहरु अझै होसियारिका साथ उठाइरहेका थिए। अन्य फोहोर भन्दा यी जोखिमपूर्ण मानिन्छन्। ट्रलीमा फोहोर थुप्रिँदै थियो।

सबै ठाउँको फोहोर एकै पटक उठाउन सम्भव थिएन। ट्रलीमा चुलिँदै गरेको फोहोर हेर्दा उनीहरुले धेरै खेप गर्नु पर्ने देखिन्थ्यो। र गरे पनि।

भरिएको फोहोरलाई बाहिर ल्याउँदै व्यवस्थापन गरे। अनि फेरि ट्रली गुडाउँदै वार्डमा छिरे। फोहोर उठाए। ट्रली भरिँदै थियो। एक माथि अर्को, पहिलाको जसरी नै चुलिँदै गएका थिए, फोहोरका पोका। अर्को पटक पनि उनीहरु बाहिर जानु पर्ने अवस्था आइसकेको थियो। र गए पनि।

तीन खेप गरेपछि उनीहरुले सबै वार्डको फोहोर उठाए ।

अस्पताल परिसर र ल्याबको भने अझै पनि बाँकी नै थियो। उनीहरु वार्डपछि त्यतै मोडिए। सुरुमा ल्याबमा छिरे। त्यहाँको फोहोर उठाए। त्यसपछि मात्रै पालो आयो, अस्पताल परिसरको।

प्राङ्गणमा फोहोर छरपष्ट थियो। तर फोहोरका लागि राखिएका बाल्टी भने खाली थिए। ज्ञानुले खाली बाल्टीमा भएका केही टुक्राटाक्री प्लास्टिकमा हालिन्। तर बाहिर छरिएको फोहोर भने उठाइनन्।

अस्पतालको आँगन वरपर छरिएको केही फोहोर देखाउँदै उनले भनिन्, ‘फोहोर राख्नका लागि बाल्टी राखिदिएका हुन्छौँ। तर बाहिर फालिएको हुन्छ। बाहिर फालेको फोहोर हामी उठाउदैनौँ। यो फोहोर उठाउने काम हाम्रो होइन।’

यति भन्दै उनी ट्रली गुडाउँदै पुरानै ठाउँ तिर लागिन्। वार्डबाट निकालिएको फोहोर जन्य बस्तु छुटयाए। केही बाँकी फोहोर ट्रलीमै राखेर केन्द्र तर्फ लागे।

फोहोरको बाँडफाँड

केन्द्र अगाडि ठूलो टेबलमा मिलाएर राखेका केही कार्टुनहरु थिए। छुट्याउन ल्याएको बाँकी फोहोर ट्रलीबाट टेबलको आडैमा राखे। पोकाको मुख खोल्दै फोहोर हेरे। ज्ञानुले साथीलाई भनिन्, ‘तिमी यो (कार्टुन) मिलाउँदै गर। म इमरजेन्सीमा एउटा बाल्टी राखेर आउँछु है।’

बाल्टी लिएर आकश्मिक कक्ष पुगेकी ज्ञानु एकैछिनमा फर्किइन्। र फोहोर छुट्याउन थालिन्। मास्क, पञ्जा, पानीका बोतल, स्लाइनका पाइप–बोतल, अक्सिजनका पाइप, सुई लगायत सबै कुरालाई सानो चिम्टाले एउटा एउटा गर्दै फरक फरक भाँडोमा राखिरहेकी थिइन्।

स्लाइनका बोत्तल छान्दै गरेकी उनले भनिन्, ‘यी बोतल दुई प्रकारका हुन्छन्। एउटा पातलो खालको र अर्को बाक्लो । पातलो सस्तोमा बिक्छ। बाक्लो वाला महङ्गोमा। अरुलाई भने प्रशोधित गर्नु पर्छ। त्यो काम सबै मेसिनले गर्छ।’

अस्पतालबाट निस्कने अधिकाशं फोहोर बेच्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीले उठाएको फोहोर मध्य एकदमै कम मात्रै फाल्नु पर्छ। अरु त सबै बिक्री हुन्छ।’

उनको काम अन्तिम–अन्तिम तिर पुगिसकेको थियो। वरवरका सामान मिलाइन्। र भनिन्,‘अब हाम्रो काम सक्कियो। यो सबै सफा गरेर हामी लुगा फेर्न जान्छौँ।’

एकजनाले भुईँ पुछे। अर्कोले बाल्टीबाट पानी खन्याउँदै फोहोर बगाए।

लगाएको आ–आफ्नो गाउन उतारे । नजिकैको बाल्टीमा फ्याँके। ‘हामीले लगाएको अरुले प्रयोग नगरुन भनेर यसलाई च्यालेर फाल्नु पर्छ’, उनले बाल्टीमा गाउन हाल्दै भनिन्।

काम सकेपछिको सकस!

अस्पताल सरसफाइको काम सके। तर आफ्नो भने बाँकी नै थियो। ज्ञानु बाथरुम छिरिन्। सुरुमा एक पत्र पञ्जा निकालिन् र डस्टबिनमा फ्याकिन्। त्यपछि पीपीई खोलिन्। पानी भरिँदै गरेको बाल्टीमा केही झोल पदार्थ दुई बिर्को जति हालेर घोलिन्। अनि पीपीईलाई त्यही पानीमा एकछिसम्म डुवाइन्।

‘यो औषधि हो। यसले किटाणु मार्छ। काम गर्दा लगाएका लुगा जुत्ता सबै यही पानीमा एकछिन डुबाएर सुकाउनु पर्छ’, उनले बुझाइन् ।

आफूले प्रयोग गरेका पीपीई, क्याप, पञ्जा, मास्क, जुत्ता लगयातका सबै निकालिन् र प्रयोग गर्न मिल्ने चिजलाई धोइन्। नमिल्नेलाई डस्टबिनमा फ्याँकिन्।

उनको शरीरमा उही अस्पतालको हरियो रंगको लुगा मात्र बाँकी थियो। उनलाई त्यही पनि फेर्नु पर्ने थियो। त्यो भन्दा अगाडि उनी हात साबुन पानीले मिचिमिची धोइन्। त्यही बेला उनले भनिरहेकी थिइन्, ‘चाहे जो सुकै होस्। सरसफाइमा ध्यान दियो भने रोग लाग्नबाट जोगिन्छ।’

उनले लगाइरहेको हरियो रंगको लुगा अस्पतालको पोशाक हो। ‘यो ड्रेस दुई जोर छ। एक धोएर अर्को लगाउनु पर्छ’, चेन्जिङ्ग रुमको एउटा कुना तिरबाट लुगा तान्दै उनले बताइन्।

केही बेरमा फेरि उही कपडा धोएर सुकाइन्।

सरसफाईको काम सकिसक्दा साढे ११ भइसकेको थियो। अब भने उनले खानाको जोहो गर्न थालिन्। चेन्जिङ्ग रुमको एक कुनामा सानो टेबलमाथि राखिएको थियो, हिटर। अनि भित्तामा झुन्डिएको सानो र्‍याक र केही भाँडाकुँडा। अस्पतालले बिहानको खाना उनीहरुलाई त्यही पकाएर खाना अनुमति दिएको छ।

सोही अनुसार उनी खाना पकाउने तयारी गर्दै थिइन्। ‘तरकारी के खाने?’, ज्ञानुले साथीलाई सोधिन्। उनको उत्तर आउन नपाउँदै फेरि उनले भनिन्, ‘मैले घरबाट थोरै तरकारी लिएर आएकी छु। त्यही अलिअलि पुगिहाल्छ। बरु तिमी अण्डा लिएर आऊ है।’

केही पैसा ज्ञानुले साथीको हातमा थमाइदिईन्। निस्किँदै गरेकी साथीलाई अनुरोध गरिन्, ‘प्याज पनि ल्याऊ है।’ यता कुकरको सिट्टी बजिरहेको थियो।

ज्ञानुको ड्यूटी दिउँसोको १ बजे सकिन्छ। खाना खाएपछिको समयमा उनी अस्पतालमै बस्छिन्, यता उता रेखदेख गर्छिन्। कसैलाई आफ्नो आवश्यकता पर्न सक्ने भन्दै उनी सधैँ तयारी अवस्थामै हुन्छिन्। ड्यूटी सकिएपछि उनी अस्पतालबाट सिधै घर जान्छिन्। घर पुगेर उनी सबै भन्दा पहिला बाथरुममा छिर्छिन्। नुवाई–धुवाई गर्छिन्। अनि मात्र उनी दिउँसोको खाजाको तयारीमा लाग्छिन्।

आफ्नो सरसफाईमा विशेष ध्यान दिने उनी घर पुगेर ननुहाएसम्म कसैको पनि सम्पर्कमा आउँदिनन्।

उसो त उनी एक्लै बस्छिन्। उनी बस्ने ठाउँबाट केही पर छ आमाको घर। ‘उता (आमाको घर) बुहारी, आमा, भादा र भदैनी छन्। भाइ विदेशमा छ’, उनले भनिन्, ‘कामबाट आएर म कसैको पनि सम्पर्कमा रहनन्। कहिले काहिँ आमालाई भेट्न मन लाग्छ। टाढैबाट बोलाउँछु। एकछिन कुरा गरेर फर्किन्छु।’

आमालाई छुँदा कतै संक्रमणले भेटिहाल्यो भने भन्ने डर हुन्छ उनलाई । ‘अझ मम्मीबाट अरुलाई सर्‍यो भने चाहिने नचाहिने सुन्न पर्छ। त्यो भन्दा आफै सतर्क भयो आनन्दै’, उनले थपिन्।

काम गर्दैगर्दाको डर

उनलाई सुईदेखि निकै डर लाग्छ। नलागोस् पनि कसरी केही समय अगाडि फोहोर उठाउँदै गर्दा उनको हातमा सुई रोपिएको थियो। डरले उनी अस्पताल नै भर्ना हुनु पर्ने अवस्था आएको थियो।

खित्का छोडेर हाँस्दै उनले भनिन्, ‘सुई घोचेपछि म धेरै अत्तालिएकी थिएँ। डाक्टरहरुले केही हुँदैन भनेर सम्झाउनु भएको थियो। तर पनि मनले मानेन। डर हट्दै हटेन एक हप्तासम्म उठ्नै नसक्ने भएर अस्पताल नै भर्ना गर्नु परेको थियो। पछि टेस्ट गरेका सबै रिपोर्टमा केही नभएको देखाएपछि ठीक भएको थियो।’

त्यसैले अहिले पनि उनीलाई सकेसम्म सुई राखिएको फोहोर उठाउन नपरे हुन्थ्यो भन्ने लाग्छ।

अहिले अस्पतालभरि कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। अस्पतालबाट संक्रमणकै कारण मृत्यु भएका व्यक्तिको दैनिक रुपमा शव निकालिन्छ। यो दृश्य देख्न नपरोस् भन्ने उनी सोच्छिन्। तर उनलाई लाग्छ, मैले मात्र सोचेर पुग्दैन।

उनी आफूलाई सम्हाल्छिन्। एक न एक दिन हामी सबै जानु नै छ। मात्र कोही चाँडो जान्छन्, कोही ढिलो।

बिर्सिन नसक्ने घटना…

अहिले पनि अस्पतालमा मृत्यु हुनेको बढ्दो नै छ। महामारी भन्दा पहिले टेकु अस्पातालमा यसरी मृत्यु हुनेको संख्या एकाध मात्रै थियो।

तर त्यही एकाध घटना अझैसम्म पनि उनको मनसपटलमा ताजा छ। रेबिज भएर अस्पताल भर्ना भएका दोलखाका एक युवकको मृत्युको घटना ज्ञानुले भुलेकी छैनन्।

‘उहाँ अन्तिम स्टेजमा आइसीयूमा भर्ना हुनु भएको थियो। गाह्रो हुँदा बेस्सरी उफ्रिनु हुन्थ्यो। डाक्टर, नर्स गएर समाउन समेत गाह्रो हुन्थ्यो उहाँलाई। अस्पताल भर्ना भएको केही दिनमै उहाँको मृत्यु भयो। त्यो कुरा सम्झियो भने अझै नि गाह्रो हुन्छ ।’

चाहना…

‘अहिलेसम्म नछोएको संक्रमणले आफूलाई नसमातोस्’ यही चाहना छ, उनको। यही चाहनासँग जोगिएको छ, सम्मान। ‘कोरोना अस्पतालको सफाईमा काम गरेर पनि संक्रमित नभएको भनेर अवार्ड जित्न पाए हुन्थ्यो भन्ने लागेको छ। हेरौँ के हुन्छ’, उनले मुस्कुराउँदै भनिन्।

‘इमान्दारीका साथ काम गर्दै गयो भने एक न एक दिन त त्यो दिन आउँछ भन्ने कुरामा विश्वस्त छिन् उनी।

अहिले अस्पतालमा काम गर्ने सबैलाई जोखिम उत्तिकै छ। फ्रन्टलाईमा काम गरिरहेका डाक्टर चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको काम सबैले देखेका छन्। उनीहरुलाई हौसला प्रदान गरिरहेका छन्। किनकी उनीहरु बिरामीको ज्यान जोगाउन दिन रात तल्लीन छन्।

हो, उनीहरु जस्तै अस्पतालको सफाईमा खटिएका उनीहरु छायाँमा परेका छन्। अस्पतालमा उपचारका साथसाथै सरसफाईको पनि उत्तिकै महत्व छ। त्यसैले टेकु अस्पतालमा पनि ज्ञानु र उनका साथहिरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

तस्बिरहरुः बर्षा शाह/देश सञ्चार