नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण

नेपालमा संक्रमण अब बिस्तारै घट्दै छ

वर्तमान प्यान्डेमिक लहरले नेपाल मात्रै होइन सिंगै दक्षिण एसिया आक्रान्त बनेको छ।

भारत वर्तमान लहरको विश्वकै सबैभन्दा ठूलो रणभूमि भइरहेको छ भने यस क्षेत्रका अन्य देशमा पनि प्यान्डेमिकको नयाँ–नयाँ किर्तिमान बन्ने क्रम जारी छ।

माल्दिभ्समा हालसम्मकै सबैभन्दा धेरै संख्यामा दैनिक संक्रमण देखिन थालेको छ जसले गर्दा यति सानो मुलुकमा यति धेरै संक्रमण देखिनु विश्वमै अर्को किर्तिमान बनेको छ।

हाल माल्दिभ्समा, मे १३ देखि १९ सम्मको एक हप्ताको औसत दैनिक मृत्युअनुसार दैनिक प्रति लाख जनसंख्या २२१ दशमलव ६ प्रतिशत नयाँ संक्रमण देखिन थालेको छ भने भारतमा २१ र नेपालमा करिब २८ प्रतिशत। माल्दिभ्सको यो दर विश्वकै उच्चमध्ये एक हो।

माल्दिभ्सभन्दा डेढ गुणा जनसंख्या धेरै भएको भुटानमा यो दर १ प्रतिशत छ।

तर, भुटानमा पनि दैनिक दर्जन हाराहारीमा नयाँ संक्रमण देखिन थालेको छ जुन पहिलेको भन्दा दसौं गुणा धेरै हो।

त्यस्तै, मृत्युको कुरा गर्दा पछिल्लो समय मे १३ देखि १९ सम्मको एक हप्ताको औसत दैनिक मृत्युअनुसार नेपालमा प्रतिलाख जनसंख्या ०.६७९को कोरोना कारण मृत्यु हुने गरेको छ।

यो दर भारतमा ०.२९४, बंगलादेशमा ०.०१७, माल्दिभ्समा ०.६५०, पाकिस्तानमा ०.०४१ र श्रीलंकामा ०.१२३ रहेको देखिन्छ।

त्यस अर्थमा दक्षिण एसियाको वर्तमान प्यान्डेमिक लहरको बेला, जनसंख्याको आधारमा, नेपालमा कोरोना मृत्यु दर सबैभन्दा धेरै देखिएको छ।

त्यस्तै माल्दिभ्सको पनि जनसंख्याको आधारमा मृत्यु दर निकै उच्च रही दक्षिण एसियामा नेपालपछि दोस्रो स्थानमा रहेको देखिन्छ।

जनसंख्याको आधारमा भारतसँग तुलना गर्ने हो भने हालको संक्रमण दर भारतको भन्दा नेपालको डेढ गुणा र माल्दिभ्सको १५ गुणा धेरै छ। अर्थात् भारतको जत्तिकै नेपाल र माल्दिभ्सको जनसंख्या हुने हो भने हालको नेपाल र माल्दिभ्सको दैनिक संक्रमण संख्या भारतको संक्रमण संख्याभन्दा क्रमशः डेढ र १५ गुणा धेरै हुन्छ।

त्यस्तै, मृत्युको कुरा गर्ने हो भने भारतको भन्दा नेपालको दुई गुणाले धेरै हुन्छ भने माल्दिभ्सको डेढ गुणाले कम हुन्छ। अर्थात् भारतको जत्तिकै नेपाल र माल्दिभ्सको जनसंख्या हुने हो भने हालको नेपालको मृत्यु संख्या भारतको मृत्यु संख्याभन्दा दुई गुणा धेरै र माल्दिभ्सको दैनिक मृत्यु संख्या भारतको मृत्यु संख्याभन्दा डेढ गुणा कम हुन्छ।

जनसंख्याका आधारमा मृत्यु दर जतिसुकै भए पनि कुनै पनि रोगको वास्तविक मृत्यु दर भने जम्मा संक्रमितको संख्याको आधारमा हिसाब गरिन्छ। चित्र नम्बर १ ले दक्षिण एसियाली देशको गत साताको दैनिक मृत्यु दरको औसत देखाएको छ, जसअनुसार अफगानिस्तानको मृत्यु दर सबैभन्दा धेरै छ अर्थात् त्यहाँको कोरोना मृत्यु प्रति १०० संक्रमित ४.३५ छ।

त्यहाँको पछिल्लो समयको कोरोना मृत्यु दर ४.३५ प्रतिशत छ। त्यस्तै, भुटानको मृत्यु दर अति न्यून छ भने नेपाल मृत्यु दरको हिसाबले दक्षिण एसियामा चौथो स्थानमा छ।

स्मरण रहोस्, पछिल्लो अवस्थामा विश्वको औसत कोरोना मृत्यु दर २.० प्रतिशत छ।

दैनिक कोरोना संक्रमण र मृत्यु कति देखिन्छ भन्ने कुरा दैनिक परीक्षणको मात्रामा प्रत्यक्ष भर पर्छ। माल्दिभ्समा दैनिक परीक्षण धेरै गर्ने गरिएको छ भने बंगलादेशमा निकै कम।

दक्षिण एसियाका देशमा दैनिक परीक्षण कति गर्ने गरिएको छ टेबुल नम्बर १ का देखाइएको छ।

टेबुलमा अप्रिल ३० र मे २१ बीच अर्थात् ३ हप्ताअघि र पछि दैनिक परीक्षण कुन देशमा कति घटी या बढी गरिएको छ भन्ने देखाइएको छ।

टेबुलमा देखाइएजस्तै माल्दिभ्स र भुटानमा दैनिक परीक्षण प्रसस्त गरिएका छन् भने बंगलादेश र पाकिस्तानमा दैनिक परीक्षण निकै कम गर्ने गरिएको छ।

पछिल्लो समय परीक्षण गर्ने प्रवृत्ति पनि घट्दै गएको दखिन्छ।

नेपालमा भने परीक्षणको संख्या त्यति धेरै नभए पनि पछिल्लो समयको दैनिक परीक्षण पहिलो लहरको दाँजोमा पर्याप्त देखिन्छ।

तर, वास्तविक परीक्षण, संक्रमण र मृत्यु नेपाल सरकारले उपलब्ध गराएभन्दा निकै धेरै हुने सम्भावना देखिन्छ, किनभने त्यसको वास्तविक तथ्यांक न सरकारले नै संकलन गर्न सकेको छ न त सम्बन्धित अस्पताल र जनताले नै त्यसको सूचना सरकारलाई दिने गरेको छ।

पछिल्लो केही दिनदेखि बंगलादेश र पाकिस्तानमा दैनिक परीक्षणमा केही वृद्धि गरेको देखिन्छ।

फलस्वरूप त्यहाँ दैनिक संक्रमणमा फेरि वृद्धि भएको छ। त्यसले प्यान्डेमिक अझै कम या नियन्त्रित भइसकेको छैन भन्ने देखाउँछ र प्यान्डेमिकमा परीक्षणको महत्व पनि देखाउँछ।

परीक्षण र नियन्त्रणका उपाय प्यान्डेमिकको अन्त्य नभएसम्म निरन्तर गर्नुपर्छ, यसको हेक्का नेपाल सरकारलाई पनि रहोस्।

यसरी वर्तमान अवस्थामा दक्षिण एसिया र नेपाल प्यान्डेमिकको मारमा परिरहेको बेला केही आशाको किरण देखिन थालेको छ।

वर्तमान अवस्थामा प्यान्डेमिक लहरको केन्द्रबिन्दु र विश्वकै सबैभन्दा ठूलो हिस्सा भारतमा दैनिक संक्रमण केही घट्दै गएको देखिन्छ।

चित्र नम्बर २ ले दुई हप्ताभन्दा लामो समयको दक्षिण एसियाली देशहरूको दैनिक संक्रमणको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै भारतमा दुई हप्ता अगाडिको तुलनामा दैनिक संक्रमणमा एक तिहाइले कमी आएको छ।

भारतको दाँजोमा अन्य देशको दैनिक संक्रमणको संख्या निकै कम भएको हुनाले चित्रमा अन्य देशको रेखाचित्र निकै सानो देखिन्छ।
वर्तमान अवस्थामा भारतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति, डबल म्युटेन्ट भ्यारिएन्ट, एक प्रमुख कारक भएको हुनाले भारतमा संक्रमण घट्नु नेपाल मात्रै होइन सिंगो दक्षिण एसियाका लागि सुखद समाचार हो।

त्यस्तै, चित्र नम्बर ३ ले दुई हप्ताभन्दा लामो समयको दक्षिण एसियाको जम्मा दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियाको दैनिक संक्रमण दुई हप्ताअगाडि ४३२००० भएकोमा हाल यो संख्या २७२००० जति भई क्रमशः घट्दै गएको देखिन्छ।

यसरी दैनिक कुल संक्रमण घट्दै गए पनि चित्रमा देखाइएजस्तै दैनिक मृत्युचाहिँ दक्षिण एसियामा घटेको देखिँदैन, बरु उल्टो बढ्दै गएको देखिन्छ।

कोरोना भाइरसको नयाँ प्रजाति पहिलाको भन्दा बढी आक्रामक देखिएको विभिन्न अनुसन्धानले देखाएको बेला संक्रमणको दाँजोमा मृत्यु बढ्दै जानुले पनि यस कुराको पुष्टि गर्छ।

पछिल्लो अवस्थामा विश्व र दक्षिण एसियामा कोरोना संक्रमणमा केही कमी आइरहेको अवस्थामा विश्वको दाँजोमा दक्षिण एसियाको संक्रमण अनुपातमा भने कमी आएको देखिँदैन। पछिल्लो अवस्थामा दक्षिण एसियाको कोरोना संक्रमण अनुपात ५० प्रतिशतमै कायम रहेको छ।

त्यस्तै, विश्वमा कोरोना मृत्युमा पनि कमी आइरहेको बेला दक्षिण एसियाको कोरोना मृत्यु, माथि उल्लेख गरिएजस्तै, घटेको देखिँदैन उल्टो बढिरहेको छ जसले गर्दा विश्वको तुलनामा दक्षिण एसियाको कोरोना मृत्युको अनुपात पछिल्लो समय ४० प्रतिशत नाघेको देखिन्छ जुन दुई हप्ता अघिसम्म ३० प्रतिशतभन्दा कम थियो।

पछिल्लो समय संक्रमण संख्याको हिसाबले मात्रै होइन, संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पनि दक्षिण एसियाली देशको कोरोना संक्रमणमा केही कमी आएको देखिन्छ।

चित्र नम्बर ४ ले दक्षिण एसियाली देशको गत दुई हप्ताको, जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार संक्रमण दरको प्रवृत्ति देखाएको छ।

जोन्स होप्किन्स विश्व विद्यालयका अनुसार नेपाल साप्ताहिक औसत संक्रमण दरको हिसाबले झन्डै तीन हप्तादेखि विश्वकै दोस्रो उच्च स्थानमा कायमै देखिन्छ।

यद्यपि, हाल नेपालको दैनिक पोजिटिभिटी स्थिर देखिन्छ अर्थात् बढ्ने क्रम रोकिएको छ, जसलाई प्यान्डेमिकमा प्लेट्यु फेज भनिन्छ, जसले प्यान्डेमिक विस्तारै घट्दै जाने संकेत गर्छ।

यो हामी सबैका लागि सुखद समाचार हो। चित्र नम्बर ४ ले पनि नेपालको प्यान्डेमिक वर्तमान लहरको प्लेट्यु फेजमा भएको कुरा पुष्टि गर्छ।

चित्रमा देखाइएजस्तै भारतको पोजिटिभिटी पनि क्रमशः ओरालो लाग्दै तीन हप्ता अगाडि ९औं स्थानमा रहेकामा दुई हप्ताअगाडि ११औं स्थान हुँदै गत हप्ता १४औं स्थानमा झरेको छ।

तर, माल्दिभ्सको अवस्था चिन्ताजनक देखिन्छ। त्यहाँ पोजिटिभिटी बढ्ने क्रम जारी छ र फलस्वरूप विश्वसूचीमा पोजिटिभिटीको आधारमा माल्दिभ्स हाल ७औं स्थानमा पुगेको छ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार गत हप्ता सबैभन्दा उच्च स्थानमा रहेको अर्जेन्टिनाको साप्ताहिक औसत संक्रमण दर ७२ दशमलव ७९प्रतिशत, नेपालको ४३ दशमलव १०प्रतिशत, माल्दिभ्सको २६ दशमलव ७३ प्रतिशत र भारतको १८ दशमलव २५प्रतिशत छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी गरिएको विवरणअनुसार दक्षिण एसियामा मे १९ सम्म २७८९७२६६ जनामा यो संक्रमण लागिसकेको छ भने ३२४५९८ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत हप्ता, सन् २०२१ मे १६ देखि २२ अर्थात् वि.सं. २०७८ जेठ २ देखि ८ गतेसम्म जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं–

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो।

गत हप्ता सन् २०२१ मे १६ देखि २२ अर्थात् वि.सं. ०७८ जेठ २ देखि ८ गतेसम्म जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र नम्बर ५मा प्रस्तुत गरिएको छ।

परीक्षणको मात्राअनुसार दैनिक संक्रमणको संख्या पनि थपघट हुने क्रम जारी छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ता सात दिन, जेठ ८ गते शनिबारसम्म देशभरि जम्मा ५७९३९ ६२३८२ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ५०५६४३ पुगेको छ। विगत करिब ६ हप्तादेखि गुणात्मक हिसाबले बढ्दै गएको नेपालको साप्ताहिक संक्रमण संख्या पहिलो पटक गत हप्ता केही कम भई ६२३८२ बाट ५७९३९ पुगेको छ।

तर, गत हप्ताको साप्ताहिक मृत्यु संख्या १२९७ पुगेको छ जुन गत हप्ता १२२४ थियो। जम्मा संक्रमण घटे पनि मृत्यु नघट्नु दुःखद कुरा हो।

चित्र नम्बर ६ ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३२ प्रतिशत देखिन्छ।

दुई हप्ताअगाडि यो अनुपात ४१ प्रतिशत थियो र केही हप्तादेखि यो अनुपात क्रमशः झर्दै गएको देखिन्छ।

यसले के संकेत गर्छ भने नेपालमा संक्रमण काठमाडौँ उपत्यकाभन्दा काठमाडौँबाहिर फैलिँदै छ। नेपाल सरकारले देखाएको तथ्यांकअनुसार पछिल्लो समय नेपालभरि र पहाडी र हिमाली क्षेत्रमा पनि पहिलाभन्दा संक्रमण धेरै देखिएको छ जसले हाल नेपालमा संक्रमण सामुदायिक स्तरमा फैलिएको छ भन्ने संकेत गर्छ।
दैनिक संक्रमण (पोजिटिभिटी) दर, प्यानडेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ७ ले नेपालको गत हप्ताको दैनिक संक्रमण दर देखाएको छ। गत हप्ता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ।

गत हप्ता पोजिटिभिटी दर न्यूनतम ३७ दशमलव ४४ प्र्रतिशतदेखि अधिकतम ४४ दशमलव ३८ प्रतिशतदेखि ५० दशमलव ३६ प्रतिशतसम्म रही साताभरिको औसत पोजिटिभिटी दर करिब ३९ दशमलव ७३ प्रतिशत रह्यो।

यसरी ६ हप्ताभन्दा लामो समयदेखि निरन्तर उकालो लागेको नेपालको कोरोना संक्रमण दर अर्थात् पोजिटिभिटी पहिलो पटक गत हप्ता केही कम भई औसत ४५ प्रतिशतबाट ३९ प्रतिशतमा झरेको छ।

संक्षेपमा माथिका तथ्यांकहरूबाट गत हप्ता दक्षिण एसिया, नेपाल र भारतमा प्यान्डेमिक लहर केही स्थिर रही प्लेट्यु फेजमा रहेको देखिन्छ जुन सुखद समाचार हो तर नेपाललगायत यस क्षेत्रमा कोरोना मृत्युमा भने खासै कमी आएको देखिएको छैन।

नेपालको अवस्था हाल विश्वमा सबैभन्दा खतरापूर्ण र जोखिमपूर्ण देखिए पनि यदि आउने दिनमा यसरी नै कोरोना संक्रमण दर स्थिर रहे आउने केही हप्तामा कोरोना संक्रमण विस्तारै कम हुँदै जाने देखिन्छ।

तर हाल नेपालभरि कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामुदायिक संक्रमण नियन्त्रण गर्नु जरुरी छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्