अलबिदा

अग्रज लेखिका डा. बानिरा गिरिको निधन

तस्बिर: बानिराको यात्रा संस्मरण ‘रोकिनेले आकार दिन सक्दैन’ बाट साभार
काठमाडौँ – अग्रज कवि एवं लेखिका डा. बानिरा गिरिको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको छ।

२० दिनअघि उनलाई कोभिड–१९ देखिएको थियो भने निधन चाहिँ हृदयाघातका कारणले भएको परिवारले बताएको छ। हृदयाघात लगत्तै आइतबार राति नै नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा लगिएकोमा एकैछिनमा चिकित्सकहरुले मृत घोषित गरेका थिए।

बानिरा बितेको तीन वर्षदेखि अल्जाइमर्सले पीडित थिइन् ।

उनी विद्यावारिधि गर्ने पहिलो महिलाका रुपमा चिनिन्थिन् । गिरिले कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत त्रिभूवन विश्वविद्यालयबाटै पिएचडीको उपाधि प्राप्तगरेकी थिइन् ।

२०२२ सालमा प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन उनी खर्सियाङबाट काठमाडौँ आएकी थिइन्। त्यतिबेला दोश्रो स्थान प्राप्त गरेको उनको कविताका लागि तत्कालीन राजा महेन्द्रले नै पुरस्कृत गरेका थिए।

भारतमा नेपाली विषयमा एमए पढ्न नमिल्ने भएकाले आफूलाई नेपाल आएर पढ्ने इच्छा व्यक्त गरेपछि राजाले तत्कालै गिरिलाई छात्रवृत्तिको बन्दोबस्त मिलाइदिएका थिए। त्यसपछि उनले त्रिभूवन विश्वविद्यालयबाट एम ए गरिन्। अध्ययनकै क्रममा उनको इन्जिनियर शंकर गिरीसँग बिहे भएको थियो।

लेखिका एवं कविका रुपमा उनका प्रारम्भिक कृतिहरु उत्तम कुँवरको ‘रुपरेखा’मा नियमित छापिन सुरुभएको थियो।

पछि पति शंकर गिरि र श्यामदास वैष्णवले उत्प्रेरित गरेपछि उनको पहिलो कविता संग्रह ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ प्रकाशित भएको थियो। त्यसपछि अर्को कविता संग्रह ‘जीवन थाय् मरु’ प्रकाशित भयो।

पछि विद्यावारिधि गर्दाको क्रममा उनले लेखेको उपन्यासले भने आजसम्मै उनका कृतिमध्ये सबैभन्दा उत्कृष्ठ सिर्जना दिएको ठम्याइ धेरै लेखकहरुको छ। त्यो उपन्यास थियो ‘कारागार’।

तर, बानिराले पुरस्कृत हुने मौका चाहिँ निकै पछि मात्र पाइन्। धेरैपछि प्रकाशित उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो। त्यो पुरस्कार स्थापनाको ३० वर्षपछि पहिलोपटक कुनै महिलाले प्राप्तगरेको अर्थमा पनि यो महत्वपूर्ण बन्नपुग्यो।

महाकवि देवकोटापछि अफ्रो एशियाली कवि सम्मेलनमा भाग लिने दोश्रो नेपाली उनले कविका रुपमा अरु पनि थुप्रै मुलुकहरुको यात्रा गरेकी थिइन् भने कतिपय राष्ट्र प्रमुखहरुसँग पनि कविकै रुपमा भेटघाट गरेकी थिइन्। उनले त्रिभूवन विश्वविद्यालयमा अध्यापनको काम जीवनभर गरिन्।

यसअगावै उनका श्रीमान् शंकर गिरीले ‘बानिरा फाउण्डेशन’को काम अगाडि बढाइसकेका छन्। त्यसका निम्ति आफ्नो घर छेउकै करोडौँ मूल्य पर्ने साढे सात आना जग्गा छुट्याएर भवन बनाउन थालिसकिएको छ। फाउण्डेसनमा उनीबारे अध्ययन गर्ने सामग्रीदेखि लिएर उनका कृतिहरुलगायत उनको संग्रहका सबैथोक सुरक्षित राखिने बताइएको छ।

उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि नेपाली सेनाले सिभिल अस्पतालबाट लिएर गएको छ।

डा. गिरिका श्रीमान्, एक छोरा र एक छोरी छन्।

जेठ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्