विज्ञापन दाताको पहिलो रोजाइमा डिजिटल मिडिया पर्न थालेका छन्-आन अध्यक्ष धिताल

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले हरेक क्षेत्र अस्तव्यस्त छन्। महामारीको यो समयमा अहोरात्र फिल्डमा खटिएर सूचना प्रदान गर्ने मिडिया क्षेत्र पनि यसबाट नराम्ररी प्रभावित छ।

विज्ञापन दाताले महामारीको कारण देखाउँदै विज्ञापन कटौती गरिरहेका छन्।  यसै सन्दर्भमा मिडिया र विज्ञापनदताबीच पुलको काम गर्दै आएको विज्ञापन एजेन्सीहरुको छाता संगठन नेपाल विज्ञापन एजेन्सी संघ-आनले भर्चुअल माध्यमबाट सरोकारवालाहरुसँग छलफल अगाडि बढाएको छ।

गत महिना विज्ञापन दातासँग छलफल गरेको आनले आगामी शनिबार मिडियासँग कुराकानी गर्दै छ। यस छलफलको महत्व र विज्ञापन बजारको समसामहिक अवस्थाबारे आन अध्यक्ष सोम धितालसँग देश सञ्चारले कुराकानी गरेको छ।

१.महामारीको यो समयमा विज्ञापन बजारको अवस्था कस्तो छ ? 

-पछिल्लो एक डेढ महिनामा विज्ञापन ३५/४० प्रतिशतले घटेको छ। प्रिन्ट मिडियामा ह्वात्तै घटेको छ। टेलिभिजनहरुमा पनि घटेको छ। डिजिटल मिडियामा भने विज्ञापन बढेको छ। ठ्याक्कै हिसाब त छैन तर करिब २ गुणाले बढेको हाम्रो अनुमान छ।

२.डिजिटल मिडियामा विज्ञापन दाताको आकर्षण बढ्नुको कारण ? 

– यसका धेरै कारणहरु छन्। तीमध्ये पनि मुख्य दुई कारण भनेको सस्तो र वैज्ञानिक हो। टेलिभिजन, पत्रपत्रिकाको तुलनामा निकै कम बजेटमा त्यसमा पनि महिनाभर विज्ञापन गर्नसक्ने अवस्था बनेको छ। पत्रिका वा टेलिभिजन कतिले हेर्छन् भन्ने यकिन हुन्न तर डिजिटल मिडियामा त्यो सम्भव छ। यहि कारण विज्ञापन दाता ‘कन्भिन्स’ हुँदैछन्। डिजिटल मिडियाले विज्ञापनका हिसाबले प्रिन्ट मिडियाको ठाउँ लिँदैछन्।

३.विज्ञापनदाताका हिसाबले कोरोना महामारीले सबैभन्दा बढी प्रभावित क्षेत्र कुन हुन् ?

– कोरोना महामारीले पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित छ। होटल, रेस्टुरेन्टहरु बन्द छन्। शिक्षा क्षेत्र हाल प्रभावितजस्तो देखिएपनि उहाँहरुले खुल्ने वित्तिकै पैसा पाइ हाल्नुहुन्छ। बैंक तथा वित्तिय संस्थाहरु बन्द छैनन्। तर उहाँहरुले पनि विज्ञापन कटौती गर्नु भएको छ।

शिक्षा क्षेत्रको विज्ञापन पनि ठप्पजस्तै छ। निर्माण सामग्रीका विज्ञाप पनि घटेका छन्। दैनिक उपभोग्य वस्तुको बजार नघटेपनि उहाँहरुले पनि विज्ञापन घटाउनु भएको छ। केहीले यस्तो बेला कसरी विज्ञापन गर्नु? नकारात्मक सन्देश जान्छ भन्नुहुन्छ। हामी जनचेतनामुलक विज्ञापन बनाएर पनि सहयोग गर्न सकिन्छ भनिरहेका छौँ।

४. तपाईँहरुले सरोकारवालाहरुसँग छलफल अगाडि बढाउनु भइरहेको छ। यसको उदेश्य के हो ? 

-मिडियालाई बचाउन सकिएन भने कुनैपनि क्षेत्र दिगो हुँदैन।  तर मिडिया टिक्न उसले मात्र गरेर हुँदैन। विज्ञापनदाता र विज्ञापन एजेन्सीहरुको ठुलो भूमिका हुन्छ। आजको अवस्थामा यी तीनवटै क्षेत्रले सहकार्य गर्नुको विकल्प छैन।

मिडियाहरुले आफ्नो विज्ञापनको दर घटाउनेलगायत प्याकेज अगाडि सार्नुपर्छ। मिडियाले पनि विज्ञापनदाताहरु के चाहन्छन् त्यो पनि बुझिदिनुपर्छ। यो बाच्नका लागि संघर्ष गरिरहेको समय भएकाले सबै क्षेत्रले आ-आफ्नो ठाउबाट सक्दो ‘कम्प्रमाइज’ गर्नुपर्छ। हामी विज्ञापनदाता र मिडिया दुवैलाई एकै ठाउँमा ल्याएर कन्भिन्स गर्दै छौँ।

जेठ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्