विमान डाइभर्ट गरि बेलारुसले लियो पत्रकारलाई नियन्त्रणमा

पत्रकार रोमनलाई यातना दिइएको हुन सक्ने चिन्ता, बेलारुसमाथि दबाब बढ्दो

विमान डाइभर्ट गरेर बेलारुसले नियन्त्रणमा लिएका पत्रकारका पिताले आफ्नो छोरालाई यातना दिइएको हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

२६ वर्षका पत्रकार रोमन प्रोतासेविकलाई ग्रिसबाट लिथुवानियाका लागि उडेको विमान डाइभर्ट गरि बेलारुसले नियन्त्रणमा लिएको हो ।

विमानमा बम रहेको हुन सक्ने भन्दै आइतबार विमान मिन्स्क डाइभर्ट गरिएको भए पनि कुनै बिस्फोटक पदार्थ भेटिएको थिएन । मिन्स्कमा पत्रकार रोमनलाई नियन्त्रणमा लिएपछि विमानलाई गन्तव्य तर्फ जान दिइएको थियो । पत्रकारलाई नियन्त्रणमा लिनका लागि बेलारुसले रायनएअरको विमान ‘हाइज्याक’ गरेको आरोप पश्चिमा देशले लगाएका छन् ।

सोमबार अबेर पत्रकार रोमनको भिडियो सार्वजनिक गरिएको छ । त्यसमा उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र बेलारुस सरकारले लगाएको अभियोग स्वीकार गरेका छन् ।

तर अभियन्ता, बेलारुसका मुख्य विपक्षी दलका नेतासहितले रोमनलाई दबाबमा पारेर अपराध स्वीकार गर्न लगाइएको भन्दै आलोचना गरेका छन् ।

पत्रकार रोमनका पिता दिमित्री प्रोतासेविकले सोमबार रोयटर्स, बिबिसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग आफ्नो छोरामाथि गम्भीर यातना भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले युरोपियन युनियनसहित अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो छोराको रिहाईका लागि दबाब सिर्जना गर्न अपील गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार रोमनको रिहाइको माग गर्दै विमान डाइभर्ट घटनाको निन्दा गरेका छन् ।

डाइभर्ट गरिएको विमानमा १७१ यात्रु थिए। द नेक्स्टा ग्रुपका पूर्व सम्पादक रोमन प्रोतासेविकलाई नियन्त्रणमा लिएपछि विमानलाई गन्तव्य तर्फ उडान गर्न दिइएको थियो।

झण्डै सात घण्टा ढिला गरि विमान आफ्नो गन्तव्य लिगुवानियाको राजधानीमा अवतरण हुन पाएको थियो।

जेठ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्