संसदीय दलकाे बैठक बस्दै

सुदूरपश्चिममा माओवादीकाे दाबी, ‘एमाले मन्त्रीहरु फिर्ता हुँदैनन्’

धनगढी – नेकपा एमालेको स्थायी कमिटी बैठकले साेमबार सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरे पनि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु भने अन्याैलमा रहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेकाे वरिष्ठ नेता माधव नेपाल समूहका तीनजना मन्त्री छन्। ती मध्य दुई मन्त्रीले सरकारबाट फिर्ता हुने बारे कुनै जानकारी नरहेकाे बताए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले केन्द्रले निर्णय गर्‍याे भन्ने सुन्नमा आए पनि संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्ने बताए।

त्यस्तै वन, वातावरण तथा उद्योगमन्त्री माया भट्टले सरकारबाट फिर्ता हुने बारेमा केही छलफल नभएको बताइन्।

एमालेका प्रदेशसभा सदस्य दीर्घ सोडारीले केन्द्रले गरेको निर्णयबारे मंगलबार दिउँसो बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए। उनले संसदीय दलको बैठकले गर्ने निर्णय नै आधिकारिक हुने बताए।

नेकपा एमालेको संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले पार्टीको आधिकारिक निर्णय आफूहरुलाई आइनसकेको बताउँदै आएपछि कसरी अगाडि बढ्नेबारे निर्णय लिने बताए।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा परेकाे छ।

तर नेकपा एमालेका मन्त्रीहरु सरकारबाट फिर्ता नहुने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलको दाबी छ। उनले बहुमत सदस्यहरु माधव समूहकै रहेकाले फिर्ता नहुने बताए।

सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। हाल प्रदेश सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरण मन्त्रीमा माया भट्ट रहेकी छिन्। तीनै जना माधव समूहका हुन्।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५, माओवादी केन्द्रका १४ रहेकामा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री झपट बाेहरालाई कारवाही गरेपछि १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरि ५२ जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेशसभामा नेकपा एमालेका २५ जना सदस्य मध्ये अहिले सम्म ६ जना मात्र ओली समूहमा खुलेका छन्। सभामुख बाहेक १८ जना प्रदेशसभा सदस्य माधव समूहमा छन्।

यता प्रदेशसभामा रहेको अर्को दल नेपाली कांग्रेसले भने एमालेको निर्णय हेरेर मात्र सरकारका बारेमा छलफल गर्ने जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अहिले नै सरकारका बारेमा छलफल नभएको बताए। उनले एमालेका मन्त्री फिर्ता भइसकेपछि छलफल गर्ने बताए।

जेठ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्