एक महिनाको उपचारपछि कोरोना जितेर फर्किएको एउटा उज्यालो अनुहार

दुई साता भेन्टिलेटरमा बसेर घर फर्किए ४० वर्षीय युवक (भिडियो स्टोरी)

कोरोना जितेका दिनेश पौडेल । तस्बिर : बर्षा शाह/देश सञ्चार

अपराह्न साढे चार बजेतिर जनरल वार्डको बेड नम्बर २९ मा उनी निस्लोट सुतिरहेका थिए। ‘भिनाजु–भिनाजु’ भन्दै झक्झक्याएको आवाजले उनका आँखा खुले। आँखा मिच्दै उनी मुस्कुराए। बिस्तारै उठ्न खोजे।

उठेर बस्नका लागि दाङका ४० वर्षे दिनेश पौडेललाई उनका साला समुन्द्र नेपालले सहयोग गरे। भने, ‘आज त तपाईँलाई मस्त निन्द्रा लागिरा छ। भिनाजु किन हो?’

दिनेश समुन्द्रले सोधेको प्रश्नको उत्तर दिन खोज्दै थिए। समुन्द्रले बिचमै रोक्दै भने, ‘कि घर जाने भनेर हो?’

लगाएको मास्क चिउँडो मुनि सार्दै दिनेशले फिस्स दाँत देखाए।

दिनेश टेकु अस्पतालमा ठ्याक्कै महिना दिनको बसाई पछि घर फर्किँदै थिए। पूर्ण रुपमा निको भएर घर फर्किँदाको खुशी उनको मुहारमा प्रष्टै देखिएको थियो।

सोमबार बिहानै अस्पतालले बेलुका दिनेशलाई डिस्चार्ज गरिदिने जानकारी गराएको थियो। उनी आतुर थिए घर फर्किनलाई।

घर जाने पखाईमा बसेका उनको आँखा कतिबेला झपक्क भए, पत्तै भएन।

निद्राबाट बिउँझिँदै गर्दा दिनेश अस्पतालको बेडमा । तस्बिर : बर्षा शाह/देश सञ्चार

बेडको छेउमै राखिएको थर्मसबाट गिलासमा पानी राखे। पानी तातो थियो, सेलाउन टेबलमा राखे । चिउँडो मुनि लगाएको मास्क फुकाले अनि समुन्द्रलाई सोधे, ‘बाबु कति बेला हुन्छ, रे?’

समुन्द्रले बुझेका थिए, भिनाजुको घर जाने छट्पटी। ‘भिनाजु सबै कुरा तयार भइसक्यो। अब डिस्चार्ज पेपर मात्रै आउन बाँकी छ। त्यो आयो भने हामी जान मिल्छ। अब धेरै समय लाग्दैन’, समुन्द्रले दिनेशलाई भने ।

‘हुन्छ’ भन्ने भावमा दिनेशले टाउको हल्लाए।

समुन्द्र पनि आतुर थिए, भिनाजुलाई घर लैजान। अनि डाक्टरलाई सोधिरहेका थिए, ‘कति बेला हुन्छ? अझै कति समय लाग्छ?’ उनी सबैबाट उही उत्तर पाइरहेका थिए, ‘हामी हेर्दै छौँ। अब धेरैबेर लाग्दैन। मेडिसिन लेखिदिनु पर्छ।’

उनी डिस्चार्ज पेपरको पर्खाइमा थिए।

लामो पखाईपछि…

अस्पतालको वार्डबाट घरका लागि निस्कँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

साँझको करिब ६ बजेतिर समुन्द्रको हातमा भिनाजुको डिस्चार्ज पेपर पर्‍यो। डिस्चार्ज हुने थाहा पाएपछि बिहानैदेखि तयारी सुरु गरेका उनीहरुले आफूलाई चाहिने सबै सामान पोको पारेर राखिसकेका थिए।

हातमा तिनै सामान र डिस्चार्ज पेपर बोकेर अस्पतालबाट बाहिँरिदै गरेका समुन्द्रले भने, ‘सामान गाडीमा राखेर आउँछु। अनि भिनाजुका लागि मेडिसिनहरु पनि लिएर आउँछु। त्यसपछि मात्र भिनाजुलाई लिएर जानु पर्छ।’

यति भन्दै हतारिँदै बाहिर निस्किए उनी केहीबेरमा निलो रंगको गाडीमा अस्पताल परिसरमा पुगे। गाडी एक छेउमा पार्क गरे। अनि फेरि वार्डमा छिरे।

बेडमै समुन्द्रलाई कुरेर बसिरहेका दिनेशलाई समुन्द्रले भने, ‘ल भिनाजु जाउँ अब।’

दिनेशलाई अक्सिजन दिइएको थियो। अक्सिजन आवश्यकता थियो। समुन्द्रले त्यसको व्यवस्था गरेका थिए। बेडको छेउमै भएको सानो सिलिन्डरमा जोडिएको नाेजल पाइप दिनेशलाई दिए। दिनेशलाई पाइप नाकमा छिराउँदै टाउको पछाडि मिलाउने कोशिश गरे, तर सकेनन्। समुन्द्रले उनलाई सहयोग गर्दै भने, ‘भयो कि नाईँ चेक गर्नुस् त।’

दिनेशले बिस्तारै भने, ‘भयो, भयो, जाऔँ अब।’

दिनेश बेडबाट उठ्ने कोशिस गर्दै थिए। समुन्द्रले आड दिए। समुन्द्रको कुमको सहारामा, दिनेश उठे। बिस्तारै समुन्द्रको पछाडि हिँड्न थाले। सिलिन्डर बोकेर दिनेशका अगाडि हिँडिरहेका समुन्द्र बिचमै रोकिएर भने, ‘गाडी अलि पर छ। हिँड्न सक्नु हुन्छ?’

‘सक्छु बाबु सक्छु। जाऔँ, जाऔँ’, भन्दै दिनेशले समुन्द्रको चिन्ता दूर गरिदिए। उनी गाडिसम्म पुगे पनि।

समुन्द्रले सिलिन्डर एक छेउमा राख्दै गाडीको ढोका खोले। सुरुमा सिलिन्डर गाडी भित्र राखे र भिनाजुलाई गाडीमा चढ्न आग्रह गरे। गाडीमा बस्दै गरेका दिनेशको अक्सिजन चेक गरे। केही समस्या देखियो। उनले मिलाइदिने प्रयास गरे। सकिरहेका थिएनन्। त्यही बेला दिनेशले भने, ‘जाऔँ बाबु केही फरक पर्दैन। बरु झ्यालको सिसा खोल्दिनु।’

समुन्द्रले दुवै सिसा खोलिदिए। समुन्द्रले गाडी स्टार्ट गरे, टेकु अस्पतालबाट बाहिरिए बालुवाटारका लागि।

बाटोभरि दिनेश घरिघरि झ्यालबाट बाहिर हेरिरहेका थिए। घर पुगन्जेलसम्म उनी महिना दिनपछि देखिरहेको बाहिरको वातावरणमा रमाइरहेका थिए।

घर पुग्दाको खुशी

टेकुबाट हिँडेको करिव १५–२० मिनेटमा उनीहरु घर पुगे। समुन्द्रले घरकै छेउमा गाडीलाई साइड लगाए। ढोका खोले। दिनेशलाई गाडी बाहिर निस्कन सहायता गरे। फेरि उसैगरी समुन्द्रले एउटा हातले सिलिन्डर बोके र अर्को हातले दिनेशको पाखुरा सामाएर हिँड्न मद्दत गरे।

त्यही बेला दिनेशका छिमेकी उनलाई भनिरहेका थिए, ‘वेलकम ब्याक!’

दिनेश भर्‍याङ्ग चढ्न थाले, केही असहज भयो। श्रीमतीले उनलाई भर्‍याङ्ग चढ्न सहयोग गरिन्। बल्लतल्ल उनी भर्‍याङ्ग उक्लिए र ‘सिटिङ रुम’ को छेउको बेडमा बसे।

अक्सिजन लेभल घट्दै थियो उनको। दिनेशकी श्रीमती आत्तिइन्। अक्सिमिटरमा देखाइरहेको नम्बर हेर्दै समुन्द्रलाई भनिन्, ‘बाबु छिटो गर न भिनाजुको अक्सिजन घटिसक्यो।’ समुन्द्रले भिनाजु भर्‍याङ चढेकाले यस्तो भएको भन्दै दिदीलाई सम्झाए। तर उनी मान्ने वाला थिइनन्। फेरि उनलाई दिनेशले सम्झाए, ‘न आत्तेऊ। एक महिना पछि हिँडेको त्यसमा पनि भर्‍याङ्ग। त्यही भएर श्वास फुलेको हो ठिक हुन्छ।’ श्रीमानको कुरा सुनेर उनी शान्त भइन्। नभन्दै उनको अक्सिजन लेभल बढ्दै थियो।

दिनेश भन्दै थिए, ‘घर पुगेपछि स्वर्ग पुगे जस्तो भयो।’

महिनापछि निको भएर घर फर्किएका श्रीमानलाई उनले टीका लगाइदिँदै भनिन्, ‘यो छोइस्योस् त (दियो बालिएको टीकाको थाली) भगवानकोमा चढाइदिन्छु।’ दिनेशले हात लगाए। श्रीमानले छोएको थाली उनले भगवानको अगाडि राखिदिइन्।

घर पुगेपछि दिनेशले सबै भन्दा अगाडि खुट्टा धोए। तातो पानीमा खुट्टालाई रगटेर धोएपछि दिनेशले भने, ‘बल्ल हल्का भयो। एक महिनासम्म नधोएको कस्तो भारी भइरहेको थियो।’

हात, खुट्टा धोइसकेपछि दिनेशले एक गिलास पानी पिए। त्यसपछि सुप।

साँझको खाना तयार भइसकेको थियो। श्रीमतीलाई उनी भनिरहेका थिए, ‘एकछिन आराम गरेर खाना खाउँला।’

कसरी भयो संक्रमण?

घर पुगेपछि साला समुन्द्रका साथमा दिनेश । तस्बिर: बर्षा शाह/देश सञ्चार

नयाँ वर्ष सुरु भएसँगै दिनेशकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखियो। उनी होम आइसोलेसन बसिरहेकी थिइन्। त्यसको केही दिन पछि दिनेशलाई पनि कोरोना भाइसको संक्रमणसँग मिल्दाजुल्दा लक्षणहरु देखिए। घरमा संक्रमित भएका कारण आफूलाई पनि संक्रमण भएको हुन सक्ने भएकाले दिनेशले परीक्षण गराए। नभन्दै रिपोर्ट पोजेटिभ आयो। उनी पनि श्रीमतीसँगै आइसोलेसन बसे।

दिनेशलाई खोकी भने बेजोडले लागिरहेको थियो। वैशाख ११ गते साँझ समुन्द्रले दिदी भिनाजुलाई भिडियो कल गरे। भिडियो कलमा सुमन्द्रले भिनाजुलाई अक्सिमिटरमा अक्सिजन लेभल देखाउन अनुरोध गरे। अक्सिमिटरमा देखाइरहेको नम्बर देखेर समुन्द्र झस्किए। ‘भिनाजु तपाईँको अक्जिन लेभल त ३५ देखाएको छ’, उनी आत्तिँदै भने।

उनलाई एकपटक लाग्यो, ‘अक्सिमिटर बिग्रियो होला’। सुमन्द्रले दिदीलाई पनि चेक गर्न पठाए। दिदीको ठिक देखायो। उनलाई अझै पक्क गर्न मन लाग्यो र भान्जाको पनि चेक गर्न लगाए। दिदी र भान्जाको ठिक थियो, अक्सिजन लेभल। फेरि भिनाजुको चेक गर्दा ३५ देखाइरहेको थियो।

उनी अत्तालिए। तुरुन्त उनी भिनाजुको घर पुगे। एम्बुलेन्सलाई फोन गरे। समुन्द्रलाई एम्बुलेन्स चाकलले उल्टै सोधिरहेका थिए, ‘बिरामीका लागि अस्पतालमा बेड फिक्स भएको हो?’

उनले काठमाडौँका नाम चलेका सबै अस्पतालमा फोन लगाए। तर कतैबाट पनि बेड खाली छ भन्ने जवाफ पाएनन्। तर भारत मैत्री अस्पतालले भने केही समयका लागि अक्सिजनको जोहो गरिदिने बतायो। के गर्ने? कसो गर्ने? उनी सोच्न सकिरहेका थिएनन्। त्यसैबेला एक जनाले उनलाई भने, ‘दाइ टेकु अस्पताल लैजानुस्। डा. अनुपले बोलाउनु भएको छ भन्नू।’

समुन्द्रलाई उनले भनेको कुरा ठिकै लाग्यो। राति १० बजे टेकु अस्पताल पुगे। बिरामीले अस्पताल भरिएको थियो। उनको अक्सिजन लेभल पनि घट्दै थियो। डाक्टरले उनलाई भेन्टिलेटरमा राख्नु पर्ने बताए। तर टेकु अस्पतालमा भने भेन्टिलेटर खाली नभएका कारण अन्य अस्पतालमा खोज्न समुन्द्रलाई आग्रह गरे।

केही अस्पतालको नम्बर उनीहरुले दिए। केही नम्बर समुन्द्र आफैले खोजे। सबै ठाउँ फोन लगाए। सबैको उत्तर एउटै थियो, ‘खाली छैन। सबै प्याक छ।’

दिनेशलाई यता आकस्मिक कक्षमा अक्सिजन दिएर राखिएको थियो। उता भेन्टिलेटरको जोहो गरिरहेका समुन्द्रले कही कतै पनि पाएनन्। निरास हुँदै उनले एक जना डाक्टरलाई सुनाए,‘कहीँ कतै पनि खाली छैन रे।’

डाक्टरले सोधे, ‘बिरामी कति वर्षको हुनुहुन्छ?’

समुन्द्रले जवाफ दिए, ‘४० वर्षको।’

‘हि इज योङ, उहाँलाई जसरी पनि बचाउनु पर्छ। म एक पटक बुझेर आउँछु। रिजर्भमा छ कि’, डाक्टरले समुन्द्रलाई सान्त्वना दिँदै भेन्टिलेटरको जोहो गर्न निस्किए।

भेन्टिलेटरको जोहो भयो पनि। डाक्टर रिजर्भमा भेन्टिलेटर रहेको भन्दै आकश्मिक कक्षमा आए र दिनेशलाई भेन्टिलेटरमा सिफ्ट गर्न अनुरोध गरे। दिनेशलाई राति करिब २ बजे भेन्टिलेटरमा सारियो।

दिनेशका लागि भेन्टिलेटर

अस्पतालको बेडमा दिनेश । तस्बिर : बर्षा शाह/देश सञ्चार

भेन्टिलेटरमा राखिएको ६ दिन पछि दिनेश चलमलाउन थाले। अब भने समुन्द्रलाई आशा जाग्यो, ‘अब भिनाजु निको हुनुहुन्छ।’ उनी टाढैबाट भिनाजुलाई हेर्थे। अनि उनलाई सधैँ हौसला दिन्थे, ‘भिनाजु राम्रो भइरहेको छ। ठिक हुन्छ।’

समुन्द्रको यो हौसलाले दिनेशका आँट आउँथ्यो। म निको भएरै फर्किन्छु। अनि उनी आत्मबल अझै बलियो बनाउँथे।

भेन्टिलेटरमा उपचार हुन्जेल दिनेशलाई थाहा थिएन, त्यहाँ पुगेका कमै व्यक्ति मात्र निको भएर फर्किन्छ। वार्डमा सरेपछि मात्र उनले यो कुरा थाहा पाएका थिए। ‘शायद यो कुरा थाहा भएको भए मनोबल कमजोर हुन्थ्यो होला। निको हुन्छु भन्दा पनि मरिन्छ कि भन्ने कुराको सोच धेरै जाग्थ्यो होला’, दिनेशले भने।

उनले थपे, ‘तर मलाई साला बाबुको हौसलाले निको हुन हिम्मत दियो। बिरामी हुँदा आफन्तको आड र भारोसाले धेरै फरक पर्दो रहेछ।’

उनले १४ दिन भेन्टिलेटरमै बिताए। आफूसँगै अन्य बेडमा उपचार भइरहेका बिरामीलाई ब्यागमा प्याक गर्दै बाहिर निकालिएको दृश्य देखेका उनको मनमा चिसो नपसेको पनि होइन। तर उनले निको हुने इच्छा शक्ति बढाइरहे। त्यही बेला उनलाई लागेको थियो, ‘मेरो भाग्यमा यसरी ब्यागमा बन्द भएर होइन, निको भएर आफ्नै खुट्टाले हिँड्दै घर जानु छ।’

उनको स्वास्थ्यमा सुधार आउँदै गयो। भेन्टिलेरमा राखेको १४ दिन पछि उनलाई वार्डमा सारियो।

‘२५–३० लिटर अक्सिजन दिनु परेको थियो भिनाजुलाई। त्यसपछि बिस्तारै घट्दै गयो। कहिल्यै पनि अक्सिजन बढाएर दिनु परेको छैन, यही नै भिनाजुको सबै भन्दा राम्रो पक्ष हो’, समुन्द्रले भने।

अहिले दिनेशलाई आधा लिटर अक्सिजन मात्रै दिने गरिएको छ। केही दिनमा त्यसको पनि मात्रा घट्ने छ।

अस्पतालको सम्झना…

अस्पतालबाट घर फर्किने क्रममा गाडीमा बस्दै गरेका दिनेश । तस्बिर : बर्षा शाह/देश सञ्चार

एक महिनाको बसाइमा अस्पतालमा आएका बिरामीहरु आफ्नै परिवार लाग्न थालेको थियो दिनेशलाई। अझ अस्पतालका डाक्टर, नर्सहरुले आफूलाई गरेको सेवा उनको मनमा गढेर बसिररहेको कहिल्यै नमेटिने गरी।

डाक्टरलाई भगवानको अर्को रुपमा लिएका छन् उनले। ‘भगवान सबै ठाउँमा पुग्दैनन्। त्यसैले बिरामीको सेवाका लागि डाक्टरलाई पठाएका हुन्। त्यही भगवानले गर्दा आज निको भएर घर फर्किन पाएँ’, दिनेशले भने।

आफ्नो उपचारका खटिने सबैलाई उनले धन्यवाद दिए।

अझ विशेष धन्यवाद ‘डा. सुमन खरेल’ लाई जसले उनका लागि भेन्टिलेटरको जोहो गरिदिएका थिए। र भेन्टिलेरमा उपचार भइरहँदा सधैँ उनलाई निको हुन प्रेरणा दिइरहे। उत्साहित गराइरहे।

साँच्चिकै डा. सुमन उनका लागि भगवान सावित भए। समयमै भेन्टिलेटरको व्यवस्था नभएको भए, दिनेशको ज्यान तलमाथि नहुन सक्थ्यो भन्न सकिँदैनथ्यो। त्यसैले त दिनेश र समुन्द्रका लागि उनी ‘खास’ छन्।

त्यसैगरी वार्डमा आफ्नो बारे सधैँ हालचाल बुझिरहने र बिरामीलाई आफ्नोपन महसुस गराउने डा. अनुप बास्तोलालाई पनि सम्झिरहेका छन् दिनेशले ।

श्रीमतीका साथमा दिनेश । तस्बिर : बर्षा शाह/देश सञ्चार

सबै तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

जेठ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्