आउनुस् पद्धतिको ‘सराद्धे’ गरौं !

यसपालि ऐतिहासिक हुने कुराहरू नेपालमा निकैवटा भएका छन् (स्मरण रहोस्- अचेल कतिपयले “ऐतिहासिक” शब्दको प्रयोग “महत्त्वपूर्ण” भन्ने, सकारात्मक अर्थ दिने गरी प्रयोग गरेको देखिए पनि र “ऐतिहासिक” शब्द आफैँ विशेषण भए पनि नकरात्मक वा सकरात्मक अर्थ दिने नभई तठस्थ अर्थ भएको शब्द हो। यसको अर्थ इतिहासमा उल्लेख भएको, इतिहासमा वर्णन भएको, इतिहाससम्बन्धी आदि हुन्छन् । मैले पनि भोलि कसैले इतिहास लेख्दा वर्णन हुने विषय भन्ने अर्थमा प्रयोग गरेको हो) । त्यस्तैमध्येको एउटा हो सभामुखज्यूको परामर्श कार्यक्रम । २०७८ जेठ १३ गते प्रतिनिधि सभा विघटन विरुद्धमा परेका रिटहरूमध्ये १९ वटा रिटहरूको सुनुवाइ प्रधान न्यायाधीशको इजलासमा चलिराखेको थियो । ठीक त्यहीबेलामा विघटनविरुद्ध परेका मुद्दाहरूका विपक्षी विघटित प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा वर्तमान परिस्थितिमा आफ्नो भूमिका के हुन्छ वा हुनसक्छ भनेर संविधानविद्हरूसँग परामर्शको कार्यक्रम राख्‍नुभएको रहेछ ।

कोसँग, के विषयमा, कस्तो र कहिले परामर्श लिने भन्ने परामर्श चाहनेको खुसीको विषय हो । कसले के परामर्श दिनुभयो, त्यो उहाँहरूको आफ्नो विचार हो । उहाँहरूको निजी विचार र बोधको विषयमा पनि मेरो केहो टिप्पणी छैन । उहाँहरूको व्यक्तिगत बोध र विचारको रूपमा त्यसलाई सम्मान नै गर्छु । त्यसैले त्यसमा कसैले प्रश्‍न उठाउन पनि सक्दैन र उठाउनु पनि हुँदैन । मलाई यति कुराको ज्ञान हुँदाहुँदै पनि फेरि यो लेखेको कारणचाहिँ खासगरी केही कारणहरू छन् ।

पहिलो कारण, प्रतिनिधि सभाको सभामुख, जो त्यस संस्थाको प्रमुख व्यक्ति हुनुहुन्छ, यो संविधान निर्माण गर्ने प्रतिनिधि पनि हुनुहुन्छ, ले संविधान पढ्नु भएन वा पढ्नु हुन्न वा जान्नुहुन्छ र/वा मिच्नुहुन्छ भनेर म कसरी अनुमान गरूँ ? जुन विषयमा आफूसमेत विपक्षी भएको अदालतमा मुद्दा विचाराधीन छ त्यस्ता विषयमा संसद्‌मा बहससम्म हुन सक्दैन भन्ने संवैधानिक प्रतिबन्ध छ (धारा १०५) उही पदाधिकारी “म के गर्न सक्छु ?” भन्दै कानूनी सल्लाह खोजेर हिँड्नुहुन्छ ?!

अदालतले पुनःस्थापना नगरुञ्जेलसम्म सभामुखको हैसियत जीउ बिनाको टाउकोजस्तै हो । अधिकांश सुझाव आएजस्तै सभामुख आफैँले संसद् बोलाए यो संविधानको अन्त्यको घोषणा गरिराख्‍नु पर्छ ?  यता सभामुखले सल्लाह पाएजस्तै संसद्को अधिवेशन शुरू गरेमा संसद् विघटन गैरसंवैधानिक भयो त्यसैले विघटनलाई बदर गरेर संसद् पुनःस्थापना गरिपाऊँ भनेर मुद्दा हाल्ने जालान् कि नजालान् ?  यता कानूनविद्हरूको सुझावअनुसार सभामुखले संसद् चलाए पनि अदालतले विघटन सदर गरेर चुनावमा जाऊ भनिदियो भने सभामुखले विघटन भएकै छैन, मैले चलाइरहेको छु भनेर अर्को छुट्टै संविधान बनाएर त्यसको पनि सभामुख आफूलाई घोषणा गरेर संसद्लाई निरन्तरता दिनुहोला कि यो संविधानको अन्तिम व्याख्याताले दिएको निर्णय मान्नु होला ? किनभने यो संविधानअनुसारको सभामुखले त अदालतको निर्णयलाई नाइँनास्ति गर्न पाउँदैन । सभामुखको संविधानअनुसारको भूमिकाको निर्क्यौल त परामर्शदाताले गर्ने होइन, अदालतले गर्ने हो ।

दोस्रो, परामर्शको तरिका । सभामुखज्यूले लिनुभएको परामर्श वास्तविक अर्थमा परामर्श थिएन । एउटा सार्वजनिक खपतको रणनीतिक चाल थियो । त्यस्तालाई परामर्श भन्न सकिँदैन । मैले थाहा नपाउने वा नजान्ने बित्तिकै त्यो गलत हुन्छ भन्ने त होइन तापनि यसरी त्यही विषयमा अन्तिम व्याख्याता अदालतमा मुद्दाको सुनुवाइ भइरहेको बेलामा प्रत्यक्ष प्रसारण गरेर कसैले परामर्श लिएको र कुनै पेशागत अनुशासनमा बस्नुपर्नेले प्रत्यक्ष प्रसारण मार्फत सल्लाह दिएको थाहा नपाएको मात्र नभई पढे-सुनेको पनि छैन अहिलेसम्म ।

तेस्रो, अघिल्लो दिन जसलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ र त्यो मुद्दाको मसौदाको चरणदेखि सुनुवाइ हुँदा पनि निवेदकको कानून व्यवसायी बनेर बहस गर्न जाने निश्चित छ, तिनै व्यक्तिहरू गएर विपक्षीलाई नै प्रत्यक्ष प्रसारणमार्फत सल्लाह दिइराखेको पनि मैले अहिलेसम्म देखे, सुनेको र पढेको छैन । यसलाई अष्टम आश्‍चर्य त नभनौं तर “अद्बितीय” भने लाग्यो । माथि भनेजस्तै यो पक्कै ऐतिहासिक पनि हुनेछ ।

मैले कसैलाई खसाल्न वा पखाल्न यी कुरा लेखेको होइन । मैले अहिलेसम्म कानून व्यवसाय र कानून व्यवसवायीसम्बन्धमा डेभिड पाल्फ्रेम्यानको “लन्डन्‌स इन्ज अब कोर्ट: हिस्ट्री, ल, कस्टम्स एन्ड मर्डन पर्पस’ (ओर्‍याकल पब्लिशिङ युके लिमिटेड (२०११), रस्को पाउन्डको “द लयर्स फ्रम एन्टिक्वीटी टु मर्डन टाइम्स विथ पार्टीकुलर रिफ्रेन्स टु द डिभलप्मन्ट अव बार एशोसियशन इन द युनाइटेड स्टेटस्”; वेस्ट पब्लिशिङ को. सेन्ट पाउल मिनेसोटा (१९५३), फ्र्यान्सिस लेविस वेलम्यानको “डे इन कोर्ट, अर, द सटल आर्ट्स अव ग्रेट एडभोकेट्स” द म्याकमिलन कम्पनीः न्यूयोर्क (१९१०) (हाल पुनः मुद्रित),  रबर्ट ह्याजेल (सम्पादक) को “द बार अन ट्रायल”;  द क्वार्टेट बुक्स लिमिटेडः लन्डन (१९७८)), केभिन टी. म्याकगुरीको “द सुप्रिम कोर्ट बारः लिगल एलिट्स इन द वासिङ्टन कम्युनिटी” युनिभर्सिटी अब भरर्जिनिया प्रेस: भर्जिनियाँ (१९९३) र चार्ल्स हल्यान्डर र सिमन साल्जेडोको “कन्फ्लिक्ट्स अव इन्ट्रेस्ट”, स्वीट एन्ड म्याक्सवेलः संयुक्त अधिराज्य, छैटौं संस्करण (२०१६)  भन्ने किताबहरू र केही दर्जन लेखहरू पढेको छु । तर यस्ता उदाहरणहरू कुनैमा पनि देखिनँ । त्यसैले यो “घटना” साह्रै अद्बितीय लाग्यो !

प्रतिनिधि सभाको सभामुख, जो त्यस संस्थाको प्रमुख व्यक्ति हुनुहुन्छ, यो संविधान निर्माण गर्ने प्रतिनिधि पनि हुनुहुन्छ, ले संविधान पढ्नु भएन वा पढ्नु हुन्न वा जान्नुहुन्छ र/वा मिच्नुहुन्छ भनेर म कसरी अनुमान गरूँ ? जुन विषयमा आफूसमेत विपक्षी भएको अदालतमा मुद्दा विचाराधीन छ त्यस्ता विषयमा संसद्‌मा बहससम्म हुन सक्दैन भन्ने संवैधानिक प्रतिबन्ध छ (धारा १०५) उही पदाधिकारी “म के गर्न सक्छु ?” भन्दै कानूनी सल्लाह खोजेर हिँड्नुहुन्छ ?!

हुन त पहिला संविधानहरूमा “अदालतमा विचाराधीन रहेका कुनै मुद्दा सम्बन्धी विषयमा” छलफल गर्न नपाइने भनेर लेखिएका थिए; जस्तै- २०१९ को संविधानको धारा ४५ (४), २०४७ सालको संविधानको धारा ५६ (२) र २०६३ को अन्तरिम संविधानको धारा ६० (१) । वर्तमान संविधानले अघिका संविधानहरूमा रहेको यो विषयलाई “प्रतिकूल असर पार्ने विषय” भनेर साँघुर्‍याएकोले प्रतिनिधि सभा पुनःस्थापना गर्न अदालतलाई त्यस्ता परामर्शले “प्रतिकूल असर” पार्दैन बरु सहयोग नै पुर्‍याउँछ र पुनःस्थापनाको लागि सहयोग नै पुगोस् भनेर सभामुखज्यूले त्यसरी प्रत्यक्ष प्रसारण गर्नुभएको हो कि र  सल्लाहकारहरूले पनि नेपाल कानून व्यवसायी परिषद्ले जारी गरेको “कानून व्यवसायीको आचारसंहिता, २०५१” को दफा ३ (१) मा “कानून व्यवासायीले देहायका पेशागत आचार अनिवार्यरूपमा पालना गर्नु पर्नेछ” भनेर (क) मा “कानून व्यवसायीले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै कार्य गर्नु हुँदैन ।” भन्ने र (भ) मा “एकै मुद्दामा पक्ष र विपक्ष दुवैका तर्फबाट स्वयं मसौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुँदैन तथा आफूसँग काम गर्ने कानून व्यवसायी वा लेखन्दास वा अन्य व्यक्तिद्बारा जानी-जानी मस्यौदा वा बहस वा पैरवी गर्न गराउँन हुँदैन” भन्ने मात्र लेखी विपक्षीलाई परामर्शचाहिँ दिन हुँदैन भनेर लेखेको छैन । त्यसैले परामर्श दिन के फरक पर्छ भनेर हुनसक्छ । मैले नबुझेको हुनसक्छु । यति लेखिसकेपछि यदि मैले नबुझेको रहेछु भने पनि कसैले त मलाई सच्याइदिन्छ र ज्ञान पाउँछु भन्ने आशामा पनि यति कुरा उठाएको हुँ । वश, यत्ति हो ।

***

एउटा पूरानो विषयको स्मरण

पटक-पटक प्रयास गर्दा पनि संसद्ले प्रधानमन्त्री चयन गर्न नसकेकोले त्यस विषयमा पहिलो राष्ट्रपति डा. रामवरण यादवले कानून व्यवसायीहरूसँग धेरै पटक सल्लाह लिनुभयो । त्यही समूहमा म पनि थिएँ । त्यस बखतमा गज्जब अनौठो घटना हुन्थ्यो । घटना यस्तो थियो- राष्ट्रपतिसँगको कुराकानी सिध्याएर शीतल निवासको तेस्रो तलाबाट झरेर मोटरमा बसेर रेडियो खोल्दा भरखरैभित्र भएका सबै कुरा रेडियोबाट प्रसारण भइरहेका हुन्थे । एक दुई पटक त राष्ट्रपति कार्यालयबाट नै दिइएको हो कि भन्ने पनि लाग्यो । तर कतिपय कुरा भित्र छलफल भएका अपरिपक्व कुराहरू जस्ताको त्यस्तै आउँथे जुन राष्ट्रपति कार्यालयबाट दिने सम्भव नै थिएन। फेरि राष्ट्रपति कार्यालयबाट नै दिइएका भए पनि कानून व्यवसायी लिइएको वा कानून व्यवसायीले दिएको सल्लाह संरक्षित संवाद (Privileged communication) भित्र पर्छ र त्यस्तो संवाद/सल्लाह लिने र दिने कुनै एउटाको निर्णयको आधारमा मात्र बाहिर आउन सक्दैन ।

जति पटक गयो त्यति नै पटक त्यसैगरी आउँथ्यो । त्यसमा पनि एउटा रेडियोमा अझ विस्तृतरूपमा आउँथ्यो !  मेरो बुझाइमा यसरी प्रचार गराउनुको अरू कुनै कारण थिएन केवल फलानोलाई पनि राष्ट्रपतिले पनि बोलाउनु हुँदो रहेछ भनेर विज्ञापन गराउनु थियो । यथार्थमा कुनै ठूलो ओहदाको पदाधिकारीले आफूसँग सल्लाह लिएको भनेर आफ्नो विज्ञापन गराउनु कानून व्यवसायीको नैतिक र व्यवसायिक आचरणविपरीतको काम थियो ।

यस्तो काम गर्न तँछाडमछाड गर्ने खासगरी तीन जना भएकोमा प्रायशः सबै विश्‍वस्त थिए । मलाई पनि त्यसरी दिने तिनै तीन जनामध्ये कसैले हुनुपर्छ भन्ने लाग्यो । सँगै शीतल निवास जानेमध्येकै केही साथी र अग्रजहरूसँग यस विषयमा कुरा गर्दा उहाँहरूले मैले जसलाई शङ्का गरेँ उनीहरूकै नाम लिँदै “…हरूकै काम त हुनुपर्छ नि” भन्नुभयो ।

मैले यस विषयमा ख्याल गरिरहेकै बेलामा एक दिन राष्ट्रपतिसँग कुराकानी सकेर फर्किने बेलामा अरूभन्दा म पछाडि परेँ । अरू गइसक्नु भएको थियो । फर्किँदा भर्‍याङको उत्तरपट्टि रहेको शौचालय प्रयोग गर्नुपर्‍यो भनेर त्यता तर्फ लागेँ । शौचालयको बाहिरी ढोकाबाटै अघिदेखि शङ्का लागेका मित्र एउटा रेडियोलाई सूचना दिदै हुनुहुँदो रहेछ । त्यो सुनेपछि म तुरुन्तै शौचालय नछिरी ढोकामै उभिएर एकछिन सुनेर बसेँ । त्यसपछि माधबले थाहा पायो भन्ने सन्देश पुगोस् भनेर कुनै सङ्केत नै नगरी सुटुक्क छिरेर भनिदिए “ए … जी पनि जानुभएको छैन ?” त्यसपछि उहाँले झस्किँदै “म पछि गरौँला है” भनेर फोन काट्नु भयो र “माधबजी, म लागेँ है” भन्दै लाग्नुभयो ।

त्यो दिन पनि रेडियोबाट सधैँझै भित्र भएका सबै कुरा प्रसारण भइरहेका थिए । त्यसपछि घर आएर साँझमा फोन गरेर “एटर्नी-क्लाइन्ट प्रिभिलेज्ड कम्युनिकेसन” पनि नबुझ्ने र “यस्तो सल्लाह दिएँ” भनेर आफ्नो विज्ञापन गर्ने काम भएको छ, अबदेखि म आउँदिन, नबोलाउनू, मैले पनि केही सल्लाह दिन सक्छ भन्ने लागे छुट्टै बोलाउनू भनेँ। त्यसपछिदेखि २०७२ भदौ १६ सम्म  राष्ट्रपतिज्यूसँग ७ पटक भेट भयो । पछि त्यसैगरी बोलाउँन थालियो र बोलाउँदा अर्को एक जना र मलाई सँगै बोलाइन्थ्यो (अर्कोलाई चिन्ने किसिमले म कुनै सङ्केत पनि गर्दिन)। म मेरो मोटर चालकलाई पनि नलगी आफैँ चलाएर सँगै जाने मानिसलाई पनि लिएर जान्थेँ र फर्कँदा पनि उहाँको घरसम्म म नै पुर्‍याइदिन्थेँ ।

यी पटक-पटक भेटका अवधिमा धेरै गम्भीर र खुला कुराहरू भए । ती कहिल्यै बाहिर आएनन् । राष्ट्रपतिज्यूकै भान्सामा उहाँसँगै (भूकम्प अघि पूरानै भवनको शायद चौथो तल्लाको पश्चिमपटी र भूकम्पपछि प्रिफेव भान्सामा) खाना पनि धेरै पटक खाइयो । ती कुनै पनि कुरा कहिल्यै आएनन् । शायद यही नै पहिलो हुनुपर्छ ।

ती भेटघाटमा के के विषयमा के के कुराकानी भए भन्ने हाम्रा परिवारलाई थाहा छ । त्यसबाहेक अरू कसैलाई थाहा छैन । दुईवटा कुराबाहेक अरू सबै मसँगै आर्यघाटमा बिलाउँछन् । ती दुईवटा कुरा पनि मैले संस्मरण लेख्‍न भ्याएँ भने वा त्यहाँ संलग्नमध्ये कसैले लेखे-बोलेमा मात्रै बाहिर आउने हुन् किनभने ती विषय “संरक्षित संवाद” हुन् । तिनीहरू न मेरो व्यवसाय मलिलो बनाउँने “मलखाद” (विज्ञापन) हुन् न त सल्लाह लिनेका छद्म लडाइँका “गोलीगठ्ठा” ।

मैले यो घटना स्मरण गर्नुको कारण कानूनी परामर्श परामर्श लिने र दिनेबिचको विशिष्ट संवाद हो । स्वस्थ पद्धतिको अंश हो । सल्लाह दिने कानून व्यवसायीले पनि “फलानो ओहदाको पदाधिकारीलाई पनि सल्लाह दिने हैसियतको हुँ” वा “फलानाले पनि मसँग सल्लाह माग्छन्” भनेर विज्ञापन गर्ने र सल्लाह लिनेले पनि कसैलाई “हेर ! मैले कानूनविज्ञसँग सल्लाह लिइरहेको छु । ख्याल गर !” भने छद्म लडाइँको विषय होइन भन्ने स्मरण गराउनको लागि हो ।

***

पद्धति बसाउँने नाउँमा/निहुँमा स्थापित प्रचलन र पद्धतिलाई पनि निरन्तर क्षय गराइँदैछ । हरेक क्षेत्रमा र हरेकले पद्धतिलाई कुनै न कुनै निहुँमा भत्काएर आफूलाई “बहादुर” देखाउँने होड नै चलेको छ । त्यसैले यो मौकामा आउनोस् सबै मिलेर सबै पद्धतिहरू भत्काइदिऊँ । पद्धतिहरूको “सराद्धे” गरौं । आखिर चलेकै त “आमा मादले बाउ बोतले; छोराछोरी भन्टाङभुन्टुङ दे’न लात्ताले” भन्ने उखानजस्तो छ !

अस्तु ।

जेठ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्