लुभ्र संग्रहालयकी प्रथम महिला अध्यक्षले भनिन्, ‘मोनालिसा अब कतै पठाइने छैन’

काठमाडौँ – संसारकै सर्वाधिक मानिसले भ्रमण गर्ने प्यारिसस्थित लुभ्र संग्रहालयले आफ्नो २२८ वर्ष लामो इतिहासमा पहिलोपटक महिला प्रमुख पाएको छ।
कला इतिहासकार लोर्हाँस दे क्याँखलाई उक्त संग्रहालयको अध्यक्षमा राष्ट्रपति इम्यानुअल माक्रोले नियुक्त गरेका हुन्।
यसअघि चार वर्षदेखि सहरकै दुई संग्रहालय ‘म्युजी दोख्से’ र ‘लो होँजहीँ’को अध्यक्षता गर्दै आएकी दे क्याँखले सेप्टेम्बरदेखि लुभको जिम्मेवारी सम्हाल्नेछिन्।
यो ओहोदाको निम्ति अत्यन्तै कडा प्रतिस्पर्धा भएको थियो। ‘मेरो मुटु एकदमै जोडले धड्किरहेको थियो,’ संस्कृतिमन्त्री रोजलिन ब्याचलोँले उक्त पदका विजेताको घोषणा गर्दाको क्षण सम्झँदै ५४ वर्षीया दे क्याँखले भनिन्, ‘त्यो हर्षोल्लास मात्र नभएर मेरा निम्ति भावुक क्षण पनि बन्न पुग्यो।’
दे क्याँख फ्रान्सकै परिचित लेखक तथा पत्रकारकी छोरी हुन्। दोस्रो विश्वयुद्धताका नाजीहरूले लुटेका कलाकृति पुनःस्थापित गर्नमा उनले महत्वपूर्ण भूमिका निभाएकी थिइन्।
त्यसैगरी, समकालीन विषयवस्तुमा केन्द्रित चित्रकलाको प्रदर्शनीका लागि प्रोत्साहन दिने काम पनि गर्दै आएकी थिइन्।
विशेषगरी कला क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित पार्न उनले धेरै प्रयास गरेकी थिइन्।
लुभ्रलाई विश्वकै संग्रहालय मानिए पनि त्यसलाई त्यो रूपमा कायम गर्न नसकिएको टिप्पणी गर्ने दे क्याँखले अब आफ्नो प्रयास त्यतैतिर लक्षित हुने अठोट प्रकट गरेकी छन्।
त्यसैगरी, लुभलाई ऐतिहासिक मात्र नभई समकालीन संग्रहालयका रूपमा पनि अघि बढाइने उनले बताइन्।
‘विगतका आधारहरु देखाएर यसले त्यो अहिले कसरी सान्दर्भिक भइरहेको छ भनेर पनि उल्लेख गर्न सक्छ,’ उनले थपिन्, ‘त्यसका लागि हामीलाई समय र सोचको आवश्यक पर्छ जुन यो संकटको घडीमै हामी प्रस्तुत गर्नेछौं।’
लुभको अध्यक्षका रूपमा कार्यरत रहँदा आफूले यस संग्रहालयलाई विशेषगरी युवा पुस्तासँग कसरी जोड्न सकिन्छ भनेर उपायको खोजी गर्ने जानकारी पनि दिइन्।
फ्रान्सकै एक पूर्व संस्कृतिमन्त्रीले लुभ्र संग्रहालयमा राखिएको विश्वप्रसिद्ध मोनालिसाको चित्रलाई पैसा लिएर अन्य संग्रहालयमा राख्न दिन पनि सकिने प्रतिक्रिया दिएका थिए।
त्यसबारे प्रश्न गर्दा नवनियुक्त अध्यक्ष दे क्याँखले त्यस्तो कुनै सम्भावना नरहेको स्पष्ट पारिन्।
‘यो चित्र असाध्यै संवेदनशील छ,’ उनले थपिन्, ‘विश्वकै प्रसिद्ध कृति जसलाई अन्त सार्न सकिँदैन भन्ने पहिचान भएको अवस्थामा लुभ्रमै मोनालिसा हेर्न आउने दर्शकका निम्ति यो झनै उत्साहको विषय बन्नेछ।’
मोनालिसालाई यसअघि भने सन् १९७४ मा प्रदर्शनका निम्ति रुस र जापान लगिएको इतिहास छ।
त्यसभन्दा पहिले अमेरिकी प्रथम महिला ज्याकी केनेडीले भ्रमणताका गरेको अनुरोधअनुसार न्युयोर्क र वासिंगटन डिसीमा पनि लगेर यसको प्रदर्शन गराइएको थियो।
त्यतिबेला यस्तो यात्राले चित्रकलालाई असर गर्न सक्छ भनेर फ्रान्समा विरोध प्रदर्शन पनि गरिएका थिए।
त्यसैगरी, सन् १९११ मा एकपटक यो चित्र चोरी पनि भएको थियो।
दे क्याँख विशेषगरी उन्नाइसौं र बीसौं शताब्दीका कलाकृतिको मामलामा विशेषज्ञता राख्छिन्।
कोभिडका कारण लामो समयदेखि बन्द रहेका फ्रान्सका संग्रहालय सातादेखि फेरि खुल्न थालेका छन्।
गत वर्ष लुभ्र संग्रहालयमा घुम्न आउनेको संख्यामा अघिल्लो वर्षको तुलनामा ७२ प्रतिशतले गिरावट आएको थियो।