टिचिङ अस्पतालमा कार्यरत एक नर्सको अनुभव

‘अस्पताल आउँदा आत्तिएका बिरामी पनि अवस्था सुध्रेर घर फर्किन्छन्’

काठमाडौँ—करिब ६ वर्षदेखि टिचिङ अस्पतालमा आइसियु नर्सका रुपमा बिरामीको उपचारमा अहोरात्र खटिरहेकी कृति नापितले कल्पना पनि गरेकी थिइनन्, कुनै दिन अक्सिजन नपाएर बिरामीले मृत्युवरण गर्नु पर्छ भनेर।

यसैबीच अस्पतालमा एक ३८ वर्षजतिका पुरुषले उनको आँखाअगाडि नै प्राण त्यागे। यो कुराले उनलाई सधैँ बिथोलिरहन्छ।

अक्सिजन सप्लाई एकदमै धेरै चाहिने ती विरामीलाई आफूले जति कोशिस गरेर अक्सिजन सप्लाइ दिए पनि बचाउन नसकेको उनको अनुभव छ।

मृत्यु भएको एकदिन अघि मात्रै ती विरामीले उनलाई भनेका थिए,‘ सिस्टर म भोलि बिहान सम्म जसरी पनि अक्सिजन लेराउँछु, प्लिज आजको दिन मलाई बचाइदिनुस् न।’

यस्तो हालतमा अक्सिजन बिरामीले नपाउँदा कस्तो अवस्था आउँछ भनेर आफुहरुलाई थाहा हुँदाहुँदै पनि आफुहरुको हात बाँधिएको हुने उनी बताउँछिन्।

त्यसो त अर्का एक बिरामीले पनि उनी सामु जिज्ञासा राखेका थिए,‘सिस्टर अस्पतालमा अक्सिजनको कमी छ हामीले बुझेका छौँ। तर अस्पतालमा अक्सिजन पुरै सकियो भने हामी सबै बिरामी मर्ने हो?’

उपचाररत विरामीको यस्तो भावुक कुरा सुन्दा कतिपटक आँखामा आँसु रोक्किनै गाह्रो पर्ने त, कतिबेला भुइँमा थचक्क बसेर टाउकोमा हात राखेर धरधरी रुन मन लाग्ने कृति बताउँछिन्।

उनी थप्छिन्, ‘विरामीको अवस्था निकै नै क्रिटिकल छ अहिले। सोच्न पनि सकिँदैन कस्तो कन्डिसनमा बिरामी हुन्छन भनेर।’

दोस्रो लहरको कोरोना संक्रमणले पाका उमेरका मानिस मात्र होइनन्, युवाहरुको अवस्था पनि नाजुक भएको देख्दा उनलाई यो लहरमा त स्वास्थ्यकर्मी स्वयं नै संक्रमित भएपनि बेड नपाइएला भन्ने लाग्छ।

तर यो बीचमा उनले उपचार गरिरहेका कति बिरामी निको भएर घर फर्किएका छन्। अस्पतालको आँगन टेक्ने सबै बिरामी निको भएर जाउन् भनेर कामना गर्छिन् उनी।

कृतिका अनुसार कतिपय बिरामीहरुले भने ‘तपाईहरु भएन भने त हामी अहिले नै मर्छौँ होला, आफ्नै ज्यानको बाजी लाएर पनि हामीलाई बचाउनु भएको छ’ भनेर आशिर्वाद दिन्छन् स्वास्थ्यकर्मीलाई। त्यतिबेला भने उनको आँखामा खुशीको आँसु बग्छ।

अस्पताल आउँदा बिरामीहरु धेरै नै आत्तिए पनि विस्तारै अस्पताल बसेर जाँदा सुधार भएर फर्किएको उनको अनुभव छ। तर कतिपय बिरामीलाई आफूले सक्नेजत्ति सबै ‘इफोर्ट’ लगाउँदा पनि बचाउन नसक्दा भने पीडा हुने उनी बताउँछिन्।

कृतिका अनुसार कोरोनाको पहिलो लहरमा अक्सिजनको हाहाकार नभएकाले विरामीहरु त्यतिबेला अहिलेको जस्तो अप्ठेरो स्थितिमा थिएनन्।

उनले कोभिडको पहिलो र दोस्रो लहरबीच धेरै नै फरक अनुभव गरेकी छन्।  पहिलो लहरमा कोरोनाका कारण बुढापाकाहरु धेरैको मृत्यु भएको थियो भने अहिले भने ठीक उल्टो भएको उनी बताउँछिन्।

उनका अनुसार पहिलो लहरमा ५५ वर्ष माथिका बिरामीहरु ‘सिरियस’ भएर अस्पताल आउँथे भने अहिले २५ देखि ४५ वर्षसम्मका बिरामीहरु ‘सिरियस’ भएर अस्पताल आइरहेका छन्।

बिरामीहरु अस्पतालमा छटपटाइरहेका हुन्छन्, तर पनि स्वास्थ्यकर्मीहरुले अक्सिजन उपलब्ध गराउन सक्दैनन्।

दोस्रो लहरको कोरोना संक्रमणले पाका उमेरका मानिस मात्र होइनन्, युवाहरुको अवस्था पनि नाजुक भएको देख्दा उनलाई यो लहरमा त स्वास्थ्यकर्मी स्वयं नै संक्रमित भएपनि बेड नपाइएला भन्ने लाग्छ। 

‘हामीलाई थाहा हुन्छ, बिरामी किन छटपटाइरहेको हुन्छ। के गर्यो भने इम्प्रुभहुन्छ भनेर तर पनि हामी उहाँहरुलाई कम्फर्टेबल गराएर राख्न सक्दैनौँ,’ उनी थप्छिन्,‘यस्तो अबस्थामा एकदमै फ्रस्टेसन हुन्छ।’

लगभग एक हप्ता अगाडि सम्म पनि टिचिङ अस्पतालमा इमरजेन्सीको बेडले बिरामी धान्न नसकेपछि ग्राउन्डमा नै अक्सिजन राखेर विरामीलाई उपचार गराइएको थियो। तर अहिले २—३ दिनदेखि भने इमरजेन्सीमा पहिलाको जस्तो अवस्था नभएको उनी बताउँछिन्।

अस्पतालको आँगनमा पुग्नेबित्तिकै बेड पाउने समय यो नभएपनि अस्पतालमा आएका विरामीलाई आफूहरुले अहिलेसम्म उपचार गर्न सकिँदैन भनेर नफर्काएको र अब पनि त्यस्तो नहुने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘बेड नै नभएपनि हामीले ग्राउण्डमा राखेर अक्सिजन सप्लाई गरिरहेका छौँ।’

झन् अहिले गर्मीको सिजनमा पिपिई लगााएर ड्युटीमा खटिँदा धेरै नै गाह्रो हुने बताउँछिन् कृति।

उनी थप्छिन्, ‘२—३ लेयर पिपिई, २—३ लेयर मास्क, त्यो माथि अझ फेससिल्ड।  प्रोटेक्सनको लागि भनेर अझ हामीले खुट्टामा प्लास्टिक बेरेर त्यसमाथि बुट लगाउँछौँ। त्यो लगााएर २—३ घण्टा यत्तिकै बस्न त गाह्रो हुन्छ, झन् यति लामो समय आइसियुमा ड्युटी गर्दा त धेरै नै गाह्रो हुन्छ।’

तर पनि कतिपय ठाउँहरुमा औषधि र एम्बुलेन्स लगाायत नपाउँदा बिरामीले मृत्युवरण गर्नु परेको सबर सुन्दा उनलाई निकै गाह्रो हुन्छ र आफ्नो दुख त्यसै भुल्छिन् कृतिले।

त्यसैले उनी सरकारसँग अक्सिजनको अभाव नआइदेओस् भन्ने अपेक्षा राख्छन्। साथसाथै अब सरकारले भ्याक्सिन पनि फ्रन्टलाइनरलाई मात्र नभई बिस्तारै सबै जनतालाई सुरु गर्नुपर्ने बताउँछिन् कृति।

किनकि भ्याक्सिन लाइसकेको व्यक्तिलाई संक्रमण भएपनि छिटो निको भएर जाने दर धेरै भएको उनको अनुभव छ।

उनी थप्छिन्, ‘भ्याक्सिन लाएको विरामीहरु पनि हुनुहुन्छ अस्पतालमा। तर उहाँहरलाई संक्रमण भएपनि छिटो निको भएर घर फर्किनु भएको छ।’

होम आइसोलेसनमा बसेका बिरामीलाई गाह्रो भएमा जतिसक्दो अस्पताल आउन सुझाउँछिन् कृति।

बिरामीलाई अस्पतालको बेडमै राखेर उपचार गर्न नसके पनि अस्पताल आइसकेका बिरामीलाई केही न केही उपचार गराउन सकिने उनी बताउँछिन्।

भन्छिन्, ‘ग्राउन्डमै राखेर भएपनि अक्सिजन दिने, औषधि दिने गछौँ। त्यसैले आफूलाई गाह्रो छ भने अस्पतालमा ठाउँ छैन भनेर घरमा नबस्नुहोला।’

कोरोना भाइरसको पहिलो लहरमा टोल छिमेकमा जुन त्रास थियो, अहिले त्यो कम भएको उनको अनुभव छ।

पहिलो लहरमा उनी सँगै अस्पतालमा काम गर्ने कतिपय साथीहरुलाई घरबेटीले घर छोड्न समेत आग्रह गरेका थिए संक्रमणको डरले।

तर अहिले स्वास्थ्यकर्मीप्रतिको सम्मान जनमानसमा बढेकाले त्यस्तो अनुभव नदेखेको तथा नसुनेको उनी बताउँछिन्।

कोरोना महामारीको पहिलो लहरमा संक्रमित भएकी थिइन् कृति पनि। त्यतिबेला आइसेलेसनमा बसेको सम्झिँदा अहिले पनि उकुसमुकुस हुन्छ उनलाई।

थकानले गर्दा बेडबाट उठ्न नसकिने, ज्वरो र अत्याधिक खोकीले गर्दा आँखा खोल्न नसकिने जस्ता लक्षण उनलाई देखियो जसका कारण उनलाई सात दिन त निकै गााह्रो बनायो कोरोनाले।

चौध दिनको आइसोलेसन बसाइपश्चात टेस्ट गराउँदा पनि उनमा कोरोना पाजेटिभ नै देखियो। त्यसपछि फेरि ७ दिन आइसेलेसनमा बसिन्। तर त्यसपछि पनि पोजेटिभ रिपाेर्ट आयो। फेरि ७ दिन आइसोलेसन बसाइ थपिएको थियो। २८ दिनसम्म आइसोलेसनमा बसिन् उनी।

कोरोना महामारी यता बिरामी र अस्पतालमात्र नभई घरको पनि चिन्ता थपिएको छ उनलाई कतै आफ्नो कारणले घरमा संक्रमण सर्छ कि भनेर।

आफूलाई परिवारको त, परिवारलाई आफ्नो चिन्ता भएको उनी बताउँछिन्।

‘नानी काम छोड्ने होकि। अहिले त भेरियन्टपनि कडा खालको छ रे, बरु अहिले घरमै बस पछि काम खोजे हुन्छ,’ कृतिको परिवारले दिएको सुझाव हो यो उनलाई।  उनी यस कुरालाई परिवारले दिएको प्रेसरभन्दा पनि आफूप्रतिको चिन्ता र माया पोखिएको बताउँछिन्।

कोभिड र यसले दिएका दुख र अप्ठेरा पार लगाउँदै यस महामारीलाई जित्ने आशा कायमै छ उनको। उनी थप्छिन्, ‘हामी फ्रन्टलाइनर नै थाके आम जनताले के गर्ने?’

अहिलेको समयमा आफ्नो देशलाई कति फ्रन्टलाइनरको जरुरत छ भनेर उनले बुझेकी छन्। अहिलेको अवस्थामा व्यक्तिगत स्वार्थ भन्दा बिरामीको अबस्था हेरेर काममा खटिनुपर्ने उनी बताउँछिन्।

स्वास्थ्यकर्मीको अभाव भइरहेको अहिलेको अवस्थामा महामारीको बहाना लिएर बिदा बस्न उनको मनले मानेको छैन।

बरु यस्तो बेलामा आफुले गरिराखेको काम, आफ्नो स्किललाई घरमै बसेर खेर फाल्नु भनेको कायरता हो जस्तो लाग्छ उनलाई।

उनी थप्छिन्, ‘अहिलेको समयमा काम छोडेँ भने त कायरता भइहाल्यो नि। जतिबेला अस्पताललाई दक्ष जनशक्तिको आवश्यकता छ त्यतिबेला काम छोडेर पछि गर्न त आफूलाई पनि सन्तुष्टि मिल्दैन।’

जेठ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्