सिनेमा हलमा लगाउँदै गर्दा विवाद

गुपचुप ढंगबाट कोरोनाविरुद्धको खोप लगाउँदै प्रदेश सरकार

मोरङ – गुपचुप ढंगबाट कोरोनाविरुद्धको खोप निकटस्थलाई लगाउने क्रममा विराटनगरको एक सिनेमा हलमा विवाद भएको छ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ ले बिहीबार कार्यालयलाई ५० भायल खोप उपलब्ध गराएको थियो।

जनस्वास्थ्य कार्यालय मोरङका अनुसार शुक्रबार बिहान मुख्यमन्त्री निवास र बार एसोसिएसनमा खोप लगाउने कार्यक्रम तय भएको थियो।

तर, अन्तिम समयमा बिनाजानकारी मुख्यमन्त्री कार्यालयबाट खोप लगाउने स्थल विराटनगर २ तिनपैनी चौकस्थित एक सिनेमा हलमा सारिएको थियो।

जनस्वास्थ्य कार्यालयका खोप अधिकृत रामानन्द यादवले निर्धारित स्थलमा लगाउने भनिएको खोप कार्यक्रम एकाएक अन्तै सारिएको बताए।

सिनेमा हलमा खोप लगाउने कुरा प्रहरीलाई समेत जानकारीमा नआएको मोरङ प्रहरीको भनाइ छ।

खोप केन्द्रबारे जानकारी नभएको बताएका मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले सर्वसाधारणले खोप लगाएको स्थल घेरेपछि टोली पुगेको बताए।

सिनेमा हल परिसरमा खोप लगाउने कार्यक्रमबारे स्थानीयले जानकारी गराएपछि हल पुगेका कांग्रेस नेता राजेश गुप्ताले सरकारको निकटस्थलाई खोप लगाउने रवैयाले जनताले दुःख पाइरहेको बताए।

दिउँसो करिब १ बजे सिनेमा हलको परिसरमा पुग्दा करिब २ सय जना बाहिर गेटमा खोप लगाउन माग गरिरहेको अवस्थामा रहेको उनले बताए।

सर्वसाधारणको भीड बढ्दै गर्दा खोप लगाउनेहरूले खोप सकिएको जानकारी गराएपछि विवाद उत्पन्न भएको उनको भनाइ छ।

यसै क्रममा विद्यार्थी नेता ताजिम अन्सारीले जनता खोप र उपचार नपाएर मृत्युवरण गरिरहदाँ उद्योगी र पहुँचवालालाई खोप उपलब्ध गराएपछि स्थानीयले अवरोध गरेको बताए। कोभिशिल्ड खोपको पहिलो चरण लगाएर दोस्रोका लागि सिनेमा हलमा पुगेको अधिकांशले खोपको माग गरेको उनले बताए।

अन्सारीका अनुसार सिनेमा हलमा उद्योगीहरूलाई सुटुक्क खोप लगाएको जानकारीसंगै स्थानीय पनि खोप लगाउनका लागि पुगेका थिए। उनले भने, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनरलाई लगाएको भए हामी सरकारलाई धन्यवाद दिन्थ्यौं। तर चुनाव घोषणा गरेर सहयोग गर्ने उद्योगीलाई मात्रै खोप दिएपछि विरोध गरेका हाैँ।’ उनका अनुसार स्थानीयसहित आफूहरू पुग्दा उद्योगीहरूले खोप लगाइसकेका थिए।

सामाजिक विकास मन्त्रालयका अनुसार उद्योगी व्यावसायीलाई मुख्यमन्त्री निवासमा खोप लगाउने योजना थियो।

तर, मुख्यमन्त्री कार्यालयमा पनि शुक्रबार नै दोस्रो डोज खोप लगाइने भएपछि उद्योग संगठन मोरङाका अध्यक्ष सुयस प्याकुरेलले सिनेमा हल उपलब्ध गराएको मन्त्रालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

प्याकुरेल सिनेमा हल सञ्चालक मध्येका एक हुन्। आफूले खोप नलगाएको बताएका प्याकुरेलले सिनेमा हलमा भीडभाड भएको जानकारी आएको भएपनि घटनाबारे अनविज्ञ रहेको बताए। यद्धपी, एक उद्योगीका अनुसार अध्यक्ष प्याकुरेलले बिहीबार उद्योग संठनका सदस्यलाई एक्लै आउनु भन्दै सूचना पठाएका थिए ।

पछिल्लो समय प्रदेश सरकारले कोभिडविरुद्धको दोस्रो चरणको खोप आफू निकटस्थहरूलाई लगाउँदै आएको र खोप लुकाएको आरोप नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले लगाएकाछन्।

प्रमुख सचेतक कार्कीका अनुसार प्रदेश सरकारले आफ्ना गुटका र सहयोग गर्नेलाई छानीछानी खोप लगाएको आरोप लगाए। कार्कीले शुक्रबार मुख्यमन्त्री कार्यालयमा एमाले ओली समूहका मान्छेलाई खोप लगाइएको दाबी गरे।

जेठ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्