साहित्य (कथा)

अलबिदा…!

अफिस पुगेपछि म सरासर आफ्नो क्याबिनमा जान्छु। बाहिर अन्य क्याबिनमा रहेका सहकर्मीहरुसँग सामान्य गुड मर्निङको औपचारिकता बाहेक कसैसँग कुरा नै हुँदैन। म रिजर्ब छु। मेल खोल्यो, समाचार हेर्‍याे, कार्यक्रमको सेड्युल हेर्दा हेर्दै सधैँ करिव १५ मिनेट बित्छ। यही बीचमा राजन आउँछ सधै।

‘सर, कफी हार्ड बनाउँ कि सुगर फ्री?’

‘सुगर फ्री’, जवाफ सुन्ने बित्तिकै उ बाहिरिन्छ।

राज, कार्यालयको सहयोगीको रुपमा कार्यरत छ। तर, यो मान्छे गज्जब अनौठो छ। म अर्को कार्यालयबाट यता आएको लगभग वर्ष दिन बित्यो तर, यो वर्ष दिनमा यो मान्छेको अनुहारमा मैले हाँसो देखेको छैन। खै के सोच्छ? सधैँ ठुस्स पर्छ मुला।

चिन्तनले मानिसलाई विवेकी बनाउँछ भने चिन्ताले चितामा पुर्‍याउँछ। तर, यो मान्छे चिन्तन गर्छ कि चिन्ता मैले बुझ्न सकेको छैन। न त यो विवेकशील छ न यो चितामा नै पुग्ला जस्तो लाग्छ। त्यसैले त यो मेरो लागि अनौठो छ।

अगाडि भित्तामा टेलिभिजन बजिरहेको छ। म ल्यापटपमा ८० का दशकका गीत बजाउँदै काम सुरु गर्छु। ‘सुनो किसि सायर ने कहाँ ये खुव’ गीत बज्दै छ। दिमागमा राजेश खन्ना नाचिरहेको छ, यता ल्यापटपको किबोर्डमा औला।

आज ढाडमा समस्या छ। एकनासले दुखिरहन्छ कहिलेकाहीँ। डाक्टर भएजति सबै देखाइसके पीडाले छोड्ला जस्तो छैन। केही दिन औषधि खायो ठिक भए जस्तो हुन्छ फेरि उस्तै। असाध्यै दुख्यो। कुर्सीमै ढल्कन्छु। काम गर्न जाँगर नै चल्दैन। अनि यसो फेसबुक खोल्छु मोबाइलमा।

फेसबुक पछिल्लो समय खाली समयको दरिलो साथी बन्दै गएको छ। सूचनाको जानकारी लिन सुपर फास्ट माध्यम। म सधैँ एउटा प्रोफाइल खोल्छु यो मुहार पुस्तिकामा। फोटो हेर्छु, ग्यालरीमा सेभ गर्छु अनी एकछिन पछि डिलिट।

लामो समय फेसबुकमा खोजी गरे पनि उसलाई भेट्न सकेको थिइन। एक दिन उसको आफन्तको प्रोफाइल हेर्दै गर्दा उसले कमेन्ट गरेको भेटे। मैले अन्धकार गल्लीभित्र धिपधिपे दियो भेटेँ। हत्तपत्त रिक्वेष्ट पठाए, खै कहिले स्विकारेको रहेछ। तर, फेसबुकमा जोडिएपछि म सधैँ उसको फोटो हेर्थे। तर, न लाइक न कमेन्ट केही गर्दिन। आज आँटै गरेर हल्लो लेखिदिए।

मुटु ढुक्क गर्‍याे। उसले हाई भनेर जवाफ फर्काइ । अब सुरु भयो औपचारिकतासहितको कुराकानी। के छ, कस्तो छ , कसरी चल्दैछ जिन्दगी? यस्तै यस्तै।

ऊ र म एउटै गाउँका अनि एउटै उमेरका दौतरी। सँगै एउटै विद्यालयमा १ देखि १० कक्षा सम्म पढेका। तर, खै कहिल्यै बोलचाल भएन। थाहा पाउँदादेखि उसलाई देखे, चिने तर खै किन बोल्न हिम्मत नै भएन। न उसले बोल्थी न त म नै। उसका अरु थुप्रै साथीहरुसँग म नजिक थिए तर, उसको नजिक हुन वा बन्न कहिल्यै हिम्मत भएन।

अहिले उसको जवाफको हाई शब्द पछि उ सँगका अन्य कुराकानीमा यस्तै भएको महशुस गर्दैछु। स्कुल सँगै जान्थ्यौँ। एउटै लमतन्न बाटो, करिव १ घण्टाको बाटो। उनीहरु प्राय ४ जनाको समूहमा अगाडि जान्थे। हामी उनीहरुको पछाडि पछाडि। म जानाजान साथीहरुसँग घरबाट निस्कन ढिला गर्दथे ताकि उसको अघि देखिनु नपरोस्। स्कुलमा सधै आँखा उसैलाई खोज्ने।

उसलाई भेटेको छैन। दिमागमा उसको त्यही बालापनको आकृति छ केवल मसँग। उसको फेसबुक प्रोफाइलको फोटोमा ऊ बिलकुल फरक छे मेरो कल्पनाको दिमागी चित्र भन्दा। त्यो समयको गोरो मुहार, मिलेका दन्तपंक्ति अनि कर्ली केश। लाग्थ्यो ऊभन्दा राम्री अरु कोही छैन। ऊ राम्री थिई वा थिइन तर मेरो लागि उ अरु भन्दा फरक थिई। बेला बेला सँगै हिँड्दा पुलुक्क फर्किएर हेर्थी, लाग्थ्यो संसार एकैटकमा फर्किएको छ।

गाउँको बिचमा उसको घर। उसको घर भन्दा ठिक सामुन्नेमा मेरो मिल्ने साथीको घर। अब के चाहियो मेरो ठेगाना साथीकै घरमा। फेरि साथीको कोठा बार्दलीमा, पश्चिम फर्किएको झ्याल। आखाँ एकटक उसकै घरतिर, उसैको खोजीमा।

सायद यही हो माया। तर, मैले गरेको त्यो माया केवल मसँग मात्र सीमित थियो। मेरो माया जो नितान्त मेरो मात्र थियो। पहिलो माया वा आकर्षण। पहिलो चाहना। पहिलो अन्तरमनको प्रेमिल आवाज।

प्रेम एक शाश्वत सत्य भाव हो। हिजो थियो,आज पनि छ र अवश्य भोलि समेत रहन्छ। साहित्यका धुरन्धरहरु भन्छन, प्रेमको उर्जाले निरन्तर पल्लववित, पुष्पित र फलित हुन्छ। तर, म भन्छु प्रेमको अनुभूति मानिसमा बिरलै हुने अद्वितीय र बेजोड हुन्छ। कतै डर हुन्छ अनि कतै निडरता हुन्छ। प्रेम निस्वार्थ हुन्छ। प्रेममा समर्पण हुन्छ। सम्मान हुन्छ। फेरि यो आर्कषणबाट पनि त सुरु हुँदैन। यो त संयोग हो अन्तर हृदयको।

म्यासेन्जरमा म्यासेज टोन बज्यो ।

‘ओइ, के गर्दै छस्?’

म जवाफ फर्काउछु, ‘अफिसमा छु, काम गर्दैछु । तँ नि?’

‘म नि अफिसमै छु, काम गर्दैछु । आज लगानी धेरै छ, हेर न, एकछिन नि फुर्सद भएन।’

सामान्य कुराकानी क्रमको निरन्तरता दैनिक चल्दैछ आजभोलि। म खुशी छु। उसलाई लामो समयपछि भेटेर। अफिसमा दैनिक काम र मिटिङको चापमा थकित मनलाई ऊ सँगका कुराकानीले शीतलता प्रदान गरेझैँ अनुभुत हुन्छ आजभोलि।

बिहान ठिक ९ बजे उ कार्यालय पुग्छे अनि म पहिलो म्यासेज गर्छु सधैँ, ‘गुड मर्निङ म्यानेजर।’

एकदिन कुरैकुरामा उसले सोधी, ‘तँ मेरो विवाहमा किन आइनस् भन त?’

म जवाफबिहिन बने। खै त्यतिकै आइन होला कि सायद म थिइन होला घरमा।

कस्तो प्रश्न। कति कठिन शब्दहरु। मानौँ यो प्रश्न यस्तो भयो कि रातभर अंग्रेजीको परीक्षा हो भनेर पढेर गएको विद्यार्थीले भोलिपल्ट परीक्षा हलमा पुग्दा नेपाली विषयको परीक्षा रहेछ भन्ने थाहा पाए जस्तो। के लेख्ने जवाफ? म चिटचिट बनेँ। कसरी भन्ने म किन आइन भनेर । कहाँ गए म भनेर।

अब म दरिलो बन्छु। उसको सम्झनामा पढाइ बिग्रियो। स्कुलको राम्रो विद्यार्थी म एकाएक कलेज पुगेपछि नराम्रो बने। सेकेण्ड इयरमा त ३ वटा विषय नै लाग्यो। ऊ विवाह भएर गई। मेरो माया थाहै नपाइ सायद। भन्न कोशिश नगरेको कहाँ हो र। एसएलसीताका उसँग ल्याएको नोटमा लेखेर समेत पठाएको थिएँ तर ……….। हातमा कम्पासको तिखोले घोचेर नि नाम कोर्ने हिम्मत पनि त्यही मायामा गरियो। चिनो स्वरुप खत हातमै छोडियो अनि अविरल सम्झना मनभित्रै।

त्यो समय नै फरक थियो। डर लाग्दो। सामाजिक संरचना नै अलग। न त प्रेमिल कविता गुन्जन्थे कतै न त प्रेमका कुनै कथा।

कस्तो प्रश्न। कति कठिन शब्दहरु। मानौँ यो प्रश्न यस्तो भयो कि रातभर अंग्रेजीको परीक्षा हो भनेर पढेर गएको विद्यार्थीले भोलिपल्ट परीक्षा हलमा पुग्दा नेपाली विषयको परीक्षा रहेछ भन्ने थाहा पाए जस्तो। के लेख्ने जवाफ? म चिटचिट बनेँ। कसरी भन्ने म किन आइन भनेर । कहाँ गए म भनेर।

जानी नजानी गरेको पहिलो प्रेम जसरी पनि टुट्दो रहेछ। तर, त्यही पहिलो प्रेमको सम्झना मनबाट कहिल्यै पनि टुट्न सकेन। ऊजस्तै हाँसो भएको कोही देख्यो उसकै याद। यादसँग कसैको केही लाग्नै नसक्ने। जताबाट पनि आउन सक्ने, कस्तो याद। कति वर्ष बिते तर उसको याद मनबाट कहिल्यै बित्नै सकेन।

प्रेम प्राप्ति मात्र हो र भन्या? कसैलाई निरन्तर गरिने प्रेम पनि त प्रेम हो। फेरि कसैको आशमा बाँच्नु पनि त प्रेम हो। भलै त्यो आशा झुटै किन नहोस्। कुनै सम्बन्धको गहिराइमा अनि त्यसको अन्तस्करणमा पुग्नु पनि त प्रेम हो। आत्मिक अनि आफैमा कल्पनाको पात्रसँग भावनात्मक सम्बन्ध राख्नु पनि त प्रेम हो। अन्तर मनको कन्दराबाट सधै प्रष्फुटित हुने नाम जो आफूलाई संसारकै सबैभन्दा प्रिय लाग्छ अनि बाँकी सब फिक्का त्यो पनि त हो प्रेम। यदि प्रेम गर्ने जति सबै सफल बन्थे भने सांसारिक चक्रमा चै असर पुग्दैन थियो र भन्या ? मानवता हल्लाउने संसारका ठूला ठूला युद्दहरु कहाँ हुन्थे होला र। अनि कसरी लेखिन्थे कथाहरु इतिहासका पानामा।

‘तेरो कुरा त म बुझ्दा पनि बुझ्दिँन हाै’, उसको म्यासेज आउँछ।

त कहाँ बुझ्छेस् त बुद्दु । त्यसै म तलाई बुद्दु भन्छु त। मेरो झापड भेटेपछि तेरो बुद्दि आउँछ कि?

आम्मा, चुप।

तँ चुप, छुच्ची।

मन पुलकित बन्यो। लाग्यो मनका चाहना पूरा भएका छन् आज। वर्षौँ देखि गुम्सिएका आर्तनादका खाटाहरु पुरिए झैँ छ आज। हुन त मानिसमा उग्र चाहनाको डेरा नै हुन्छ। एक चाहको प्राप्ति पश्चातपछि अन्य अनेकौँ चाहनाको लाम रहेको हुन्छ। फेरि निरन्तर कुनै बस्तुको चाहना, इच्छा र आकांक्षाको सपना नपाल्ने हो भने त त्यसको प्राप्तिका लागि पनि त प्रयत्न सुरु नै नहुँदो हो। सपना पूरा गर्न त सपना नै देख्नु पर्दछ। यो सत्य हो। सपना देख्नु पर्छ अनि पुरा गर्ने कोशिष नि गर्नै पर्छ। म सोच्छु सपना झुटा भए पनि देख्नुपर्छ तर सपना चै देख्नुपर्छ।

क्या गज्जब छ समय पनि। कुनै समय थियो म उसको अन्जान प्रेममा थिए। उसको अगाडि उभिनु, ऊ सँग कुरा गर्नु मेरो लागि सगरमाथा छिचोल्नु समान थियो। आजकाल दैनिक कुरा हुन्छ। ऊप्रतिको मेरो आशा अनि बेचैनी उत्तिकै थियो त्यो समयमा। उसको एक झलकका लागि घरको सबै काम सकेर साथीको घरमा दौडिन्थ्यो। अनि सिधै कोठामा, त्यही पश्चिम फर्किएको झ्याल। आज यो समय बिहानदेखि बेलुकै सम्म ऊसँग कुरा।

तैपनि मनमा एउटा छुट्टै बेचैनी छ। कतै मेरा केही शब्दहरुले उसको मन दुख्ला कि भनेर म सर्तक छु। म चाहन्न यति लामो समय पछि भेटेको मेरो अन्तर मनको कुनै कुनामा अझै बाँकी रहेको केही खुशीका ज्वारभाटहरु मेरै कारणले निभून्। अनि फेरि मेरा केही शब्दहरुले उसको मन दुखोस्। ऊ मायालु छे। उसका कुराहरु निर्दोश अनि अवाेध बच्चाका झैँ हुन्छन्। न कुनै कपट भावका शब्द छन् न त कुनै त्यस भाव भित्रका पर्यायवाची अर्थ नै।

अफिसको कामले २ दिनको यात्रा तय गरिने भयो। मनमा नयाँ ठाउँ जाने उत्साह भन्दा पनि फर्कँदा ऊसँग भेट गर्न पाइने आशामा मन पुलकित बन्यो। मन फुरुङ्ग छ आज। दशैँमा बच्चाले नयाँ लुगा लाउन पाउने आशामा नाच्ने मन आज आफ्नो भएको छ। मन नै चन्चल बनेको छ। लाग्छ हजारौँ वर्षको श्रापबाट मन मुक्त बन्दैछ। कता कता डर पनि छ कि ऊसँगको भेटमा मेरो आफ्नो हालत के होला भनेर। उसको अनुहारको कान्ति कल्पना तेज छ मेरा लागि, अन्धकार चुक रात्रीमा क्षितिजमा बलेको कुनै राँको समान।

‘मलाई के ल्याइदिन्छस्?’

‘के ल्याइदिउँ’, म प्रश्नसहितको जवाफ सोध्छु।

‘त्यहाँको छुर्पी र चकलेट राम्रो हुन्छ। त्यही ल्याइदेन है।’

फर्कदा साथीको घरमा केही समय आराम गर्ने तालिका मैले नै बनाए। मलाई खानाको शौख छ। नमिठो त पटक्कै छिर्दैन बरु भोकै बस्ने हो। साथीहरु यो मामिलामा सतर्क छन्, मेरो ख्याल राख्छन्। साथीले घरमा निस्कने भनेपछि अगाडि नै खाजाको प्रबन्ध गर्न भनेको रैछ। मन खुशी भयो। उता ऊसँगको भेटको लागि मन त बिहानैदेखि दौडिरहेको थियो। कतिबेला पुगौँ जस्तो। मन यति बेचैन भयो कि उसको लागी ल्याएको छुर्पी र चकलेट नै बिर्सिएछ फेरि फर्किएँ आधी बाटोबाट। निलो सानो झोला।

यता २ बजे फर्कने भनेको छ। पाकेको खाजा छोडेर दौडएिको छु। उसलाई कुरेको २० मिनेट भइसक्यो बाटोमा, यो त आउँदिन त। भोकले बतास चलाइसक्यो। बल्ल दर्शन भयो महारानीको। कत्रो कुराएको। मुटु फेरि ढुक्क फुल्यो। मेरो कल्पनाको हाँसोसहित उसको आगमनले मन चंगा समान उड्यो कता कता। उफ् ….

‘के छ खबर ? ठिक छेस् नि? अफिस कहाँ हो तेरो’, आत्तिएका प्रश्नहरु एकैपटक।

‘चिया खाउँ बस’, उसको निर्देशन सहितको आथिथ्यतामा म लुरुक्क बने।

चिया त आयो टेबलमा तर चियासँगै चिटचिट पसिना पनि उत्तिकै। केही भन्दैछे ऊ, मलाई सुन्नु नै छैन। ऊ बोलिरहेकी छ, म भने लुकेर अनि लुकाएर उसलाई हेर्न तल्लिन। उसको हाँसो सधै सम्झना छ मलाई तर धुमिल। उसँगको एउटा फोटोमा ऊ निस्फिक्री हाँसेकी छ। वर्षौदेखि उसको एउटा फोटो राखेको छु सुरक्षित। पर्स फेरिए सयौँ यो बिचमा तर उसको फोटो कहिल्यै फेरिएन। हुन त उसका सयौँ तस्बिरहरु फेसबुकमा उपलब्ध छन् तर मलाई त्यही तस्बिर प्रिय छ आजसम्म पनि जसमा उसको निश्चल हाँसो बहेको छ। आज त्यही हाँसो मेरो अगाडि छ सजीव। म अवाक छु।

‘कति धेरै ल्याइदिएको’, खुशी भावको कृतज्ञता झल्काउँछे।

‘तँलाई मन पर्छ नि त। अरु त केही पाउँदो नि रहेनछ, फेरि तैले यो मनपर्छ भनेकी थिइस् नि त।’

‘अब जाउँ है। अफिसमा एकैछिन भनेर निस्किएकी छु।’

‘हो र?’

म झसंग भए । कति छिटो। मन भरेर उसलाई हेर्न नि पाएको छैन।

‘हुन्छ । कति बेर कुरेँ तलाई । कति छोटो भयो समय नै।’

‘के गर्नु त निस्कने बेलामा एउटा काम आयो’, उसले बाध्यता सुनाई ।

जाउँ अब ।

मन पुलकित बन्यो। लाग्यो मनका चाहना पूरा भएका छन् आज। वर्षौँ देखि गुम्सिएका आर्तनादका खाटाहरु पुरिए झैँ छ आज। हुन त मानिसमा उग्र चाहनाको डेरा नै हुन्छ। एक चाहको प्राप्ति पश्चातपछि अन्य अनेकौँ चाहनाको लाम रहेको हुन्छ।

मन पुलकित बन्यो। लाग्यो मनका चाहना पूरा भएका छन् आज। वर्षौँ देखि गुम्सिएका आर्तनादका खाटाहरु पुरिए झैँ छ आज। हुन त मानिसमा उग्र चाहनाको डेरा नै हुन्छ। एक चाहको प्राप्ति पश्चातपछि अन्य अनेकौँ चाहनाको लाम रहेको हुन्छ। फेरि निरन्तर कुनै बस्तुको चाहना, इच्छा र आकांक्षाको सपना नपाल्ने हो भने त त्यसको प्राप्तिका लागि पनि त प्रयत्न सुरु नै नहुँदो हो। सपना पूरा गर्न त सपना नै देख्नु पर्दछ। यो सत्य हो। सपना देख्नु पर्छ अनि पुरा गर्ने कोशिष नि गर्नै पर्छ। म सोच्छु सपना झुटा भए पनि देख्नुपर्छ तर सपना चै देख्नुपर्छ।

‘त रिसाउदैनस् भने एउटा कुरा भन्छु ल’, उसले कुरै कुरामा म्यासेज गरी।

‘भन न’, म झसंग भए।

‘अब हामी यसरी कुराकानी गर्ने क्रमलाई बन्द गरौँ ल।’

‘किन, के भयो र?’

मैले हजार बिन्ति गरेपछि उसले आफ्नो कारण बताउन राजी भई। म अवाक बने। उ कमजोर बनेकी छ आफै भित्रबाट। टुटेकी छ आफैमा मानौ सुन्दर स्यामेन ग्लास टुटेको छ छरपस्ट। सम्हाल्न कठिन छ तर सम्हालिन जरुरी छ। म उसका हरेक प्रश्नबाट कतै भाग्न सकिरहेको छैन।

न त उसलाई यो अवस्थामा छोड्न सकिरहेको छु न त म आफैँ उसले भने जस्तो कुरा बन्द गर्न नै उचित ठानेको छु। कसरी छोडौँ उसलाई यो पीडामा एक्लै। मेरो सामान्य मानवीय नैतिकताले त यो मान्दैन भने यहाँ त प्रश्न उसको पीडाको छ अनि सिंगो उसको छ।

म झस्किन्छु। मेरो सपनाको फल पूरा भएको छ। म प्रायः सपना देख्दिन तर एक रात सपनामा उसलाई देखे। एउटा सुन्दर गाउँ, चारैतिर फुलेका फूलहरु। ऊ मेरो हात समाएर हिँडिरहेकी छ तर सुकसुकाउँदै। एकाएक ऊ जोडसँग रुन्छे। म हजार फकाउँछु, सम्झाउँछु तर ऊ रुन्छे मात्र।

बिहान सपना उसलाई सुनाए तर आधा मात्र। ऊ रोएको भन्न मन नै लागेन। मन त्यसै डराएको छ आफैसँग। आखिर किन रोइ होला ऊ। तर सपनाको वास्तविकता यस्तो कठोर भएर आयो कि उसका आँखा भरिएका छन् आज।

कुराकानीको प्रारम्भ सामान्य औपचारिकताबाट भए तापनि कुराकानीकै क्रममा कति छिटो अनि अन्जानमै त्यो बिस्तारै बानी झैँ भएको छ। उसँगको कुरा बिना दिन निरस लाग्न थालेको छ। उसको म्यासेजले दिनको शुरुवात नगर्दा के भयो होला उसलाई भन्ने चिन्ता थपिदिएको छ।

उसका छिनछिनका मिठा आत्मीयता साट्ने भावहरुले, कुराकानीका क्रममा भएका केटाकेटी पनका झगडाहरुले अनि कुरैकुरैमा रिसाएका झैँ लाग्ने उसका जवाफहरुले दिन रोमाञ्चक बनाएका छन्।

‘सुन प्यारी, तँप्रतिको मेरो आसक्ति पटक्कै होइन। ममा सामिप्यताको लालसा मात्र हो। फेरि मैले भन्दै नै आएको छु कि तँलाई असहज हने बित्तिकै म जे नि गर्न तयार छु। तर, मेरो एउटै शर्त तेरो खुशी त्यसमा जोडिएको हुनुपर्छ। अनि अर्को कुरा अहिले तँ एक्लो भएकी छेस्। तँलाई हौसला आवश्यक छ। कसैको साथ आवश्यक छ। यो बेलामा म कसरी तँलाई एक्लै छोड्न सक्छु र? पहिले तँ ठीक हो सबै कुरा सामान्य होस् त्यसपछि म टाढा जान कत्ति पनि बेर लाग्दैन। त टाढा त के भनेर त हेर जीवनमा कहिल्यै तेरो सामुन्ने म पर्ने छैन।’

यो तय थियो । जसरी ममा उसँगको सामिप्यताको लालसा बढेको थियो नि यसमा यो बिन्दु तय थियो। म तयार नै थिएँ त्यसको लागि तर उसलाई साथको आवश्यक भएको बेलामा एक्लो छोड्न त कदापि होइन। यो बिन्दुको कल्पना त थियो तर कारण यो कल्पनामा पटक्कै थिएन। जे होस् यो हुन्छ अवश्य अनि म ऊबाट अलप त हुन्छु नै कुनै दिन। तर टाढा क्षितिजबाट उसका खुशीका कामना गीत गुन्जाइरहनेछु।

प्रार्थना गरिरहने छु उसका दैनिक उल्लासका लागि। मन त भारी भएको छ तर यो आवश्यक छ। चाहे मन भारी नै किन नहोस्। साँच्चै प्रेम एक शाश्वत सत्य भाव हो। हिजो थियो,आज पनि छ र अवश्य भोलि समेत रहन्छ। प्रेम सामुन्नेमा नै हुन्छ वा हुनुपर्छ भन्ने तथ्य त कहिँ पनि भेटिँदैन नि।

फेरि मैले विगतबाट नै उसको नामसँग, उसको तस्बिरसँग अनि उसको मिठो यादसँग न प्रेम गरेको थिएँ। त्यसैले पनि ऊ हुनु वा नहुनुको अर्थ वा प्रभाव अहिले परेर हुन्छ र भन्या। अहिले त ऊ भेटिएकी हो। भेटिएका हजारौँ चिज हराउँदै जान्छन् अनि बाँकी त रहन्छ त्यही मिठो याद। बाँकी त रहन्छ त्यही हँसिलो मुहारको मुस्कान अनि सम्झनाको कर्ली केश उडिरहन्छ हावामा। ऊ फेरि एकपटक खोलाको पारि किनारा झैं हुनेछ अब। म उसलाई हेरिरहने छु एक तमास।

म धर्म मान्छु। मैले पढेको शास्त्रले मानवीय चाहना अधुरा रहे जुनी अर्को पाइन्छ भनेर बुझाउँछ। सायद ममा केही चाहना अधुरा रहेका छन्। मेरो अर्को मानवीय जुनी निश्चित छ। प्रेम एकै जुनीमा सकिए के परिभाषित गरौँला र म । प्रेम अमर छ। मैले गरेको प्रेम त झनै अमर। फेरि भेटौला अर्को जुनीमा। तर शर्त छ मेरो एउटै कि मुहारमा त्यही मुस्कान हुनुपर्छ अनि केश उस्तै कर्ली। चुप‍‍…

जेठ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्