हामी शरीर र मन लिएर जन्मिएका छौँ। शरीर भौतिक र स्थूल छ, मन भौतिक पनि होइन। र, अभौतिक पनि होइन, यो सूक्ष्म छ र यसले शरीरलाई चलाउँछ, इन्द्रिय र अंगहरूमार्फत।

पाप–पुण्य सबै यसैले गराउँछ। हामी मर्दा शरीर नष्ट हुन्छ, मन हुँदैन। किनकि शरीर पञ्चमहाभूतले बनेको छ। र यसमा भएका ४ तत्व – पृथ्वी, जल, अग्नि, वाफ आफ्नो मूल स्वरुपमा विलय हुन्छ अर्थात् मिसिन पुग्छ, मनचाहिँ आकाश तत्वसँग पनि सम्बन्धित छ र यो सूक्ष्म छ। आकाश तत्वमा यो विचरण गर्छ, भौतिक देहको समाप्तिपछि।

त्यसैले मनले तृष्णा र कामना बोकेको हुन्छ र त्यसैले अतृप्त रहेका कारण हामीले फेरि जन्मिरहनुपर्छ। फरक–फरक शरीर, फरक–फरक बाबुआमाबाट फरक–फरक स्थानमा धारण गरिरहनुपर्छ।

हाम्रो अचेतन मनमा यो संग्रहित छ र साधनाबाट देख्न, जान्न तथा अनुभव गर्न सकिन्छ। पूर्वजन्म नहुनका लागि र यो देहको आवागमन बन्द हुनका लागि शरीर मात्रै मरेर हुँदैन, मन पनि मर्नुपर्छ। मन मर्ने भनेको तृष्णा, कामना, वासना, भोग बुद्धि तथा संग्रह बुद्धि मर्ने हो।

सम्पूर्ण अध्यात्म साधना, ध्यानको ध्येय मनलाई मार्ने चेष्टा हो। यो शरीर रहँदैमा यदि मन मर्‍यो भने मोक्ष वा निर्वाणको अवस्था प्राप्त हुन्छ र त्यसको अत्यन्त गहिराइ तथा सूक्ष्म अवस्थामा पुगेपछि मनमा संकल्प र विकल्प (विचार आउने प्रक्रिया) बन्द हुन्छ र अन्तरचेतना तथा अन्तरमनको गहिराइमा उत्पन्न हुने निर्विकार अवस्थाले उग्र प्रकाश उत्पन्न गरी जन्म जन्मान्तरका सबै कामना र वासनाहरूलाई भष्म बनाइदिन्छ। अध्यात्मको समग्र खोज यही हो, पराकाष्ठा यही हो।

बुद्धले र श्रीकृष्णले गीतामा अनि शिव सूत्रको निचोड पनि अमनको अवस्थामा पुगेपछि चित्तको वृत्ति निरोध हुन्छ, अर्थात समाप्त हुन्छ भन्नेमा छ। पतञ्जलिको अष्टांग योगको समग्र साधना ध्येय पनि यही हो।

समाजमा लोभ, पाप, व्यभीचारी, हत्या, चोरी, लुटपाट बढिरहन्छ। यसको कारण अतृप्त कामना नै हो। कामनाको पूर्ति कहिल्यै हुँदैन र यो पूरा नहुँदा क्रोध उत्पन्न हुन्छ। भय पनि उत्पन्न हुन्छ, लोभ र मोह पनि कामनाकै अतृप्त अवस्थाको परिणाम हो।

बुद्ध जब इन्लाइटेन्ड हुनुभयो, अर्थात निर्वाणको अवस्थाको साक्षात्कार गर्नुभयो, तब उहाँले देहको आवागमनको मार्ग कस्तो रहेछ र त्यो आवागमनको मार्ग कसरी समाप्त हुनेरैछ भन्ने बारेमा पूर्ण ज्ञान र अनुभव प्राप्त गर्नुभयो। गीताको ज्ञान र बुद्धको अनुभवमा मार्ग फरक भए पनि परिणाम फरक छैन, एकै छ। तृष्णा तथा कामना नै जन्मको कारण रहेछ र त्यो तृष्णा कहिलै तृप्त नहुने हुँदा बारम्बार जन्म लिनुपरेको रहेछ भनेर बुद्धले बताउनुभयो। यो उहाँको अनुभवगत प्रज्ञाबाट आएको कुरा हो।

यो झुट हुन सक्तैन। अतृप्त मनले नै बारम्बार ती पुराना संस्कार ढुवानी गरेर आउने रहेछ भन्ने बुझौँ। बुद्धभन्दा मनको महावैज्ञानिक अरु हुन सक्दैनन्। बुद्धले स्वयं साधनाबाट विकारहरूको नाश गरेपछि निर्विकार अवस्थामा पुगेर (जसलाई निर्वाणको अवस्था भनिन्छ।) अनुभव गर्नुभयो। उहाँ भन्नुहुन्छ- तिमी पनि गरेर हेर अनुभव गर्नेछौँ। तर, यो यात्रा कठिन नै छ। हामी सामान्य मानिस मासु खान छाड्न सक्दैनौँ, चुरोट छोड्न सक्दैैनौँ, पन्ध्र मिनेट आँखा चिम्लेर एउटै आसनमा बस्न सक्दैनौँ र हामीलाई छटपटी मात्र हुन्छ। दिनभरि मन खेल्छ पिङ र रातभरि सपनामा पनि मनले चौदन्डी गर्छ, मण्डल मार्छ।

एक मिनेट पनि शन्ति छैन। हामी भ्रममा, मुर्छामा, भविष्यको आशामा र अतृप्त इच्छा, कामना र वासनाको तृप्तिमा बेहोश भएर बाँचेका छौँ। पैसाले कसैलाई पुग्दैन। पद सधैँ आफूलाई र आफ्नालाई मात्र चाहिन्छ, बासनाले हरपल सताइरहन्छ।

त्यसैले समाजमा लोभ, पाप, व्यभीचारी, हत्या, चोरी, लुटपाट बढिरहन्छ। यसको कारण अतृप्त कामना नै हो। कामनाको पूर्ति कहिल्यै हुँदैन र यो पूरा नहुँदा क्रोध उत्पन्न हुन्छ। भय पनि उत्पन्न हुन्छ, लोभ र मोह पनि कामनाकै अतृप्त अवस्थाको परिणाम हो।

त्यसैले अध्यात्ममा अपरिग्रह अर्थात् संग्रह नगर्ने प्रवृत्तिलाई जोड दिइन्छ। भक्ति योग, कर्म योग, ज्ञान योग र ध्यान योग सबैको ध्येय यही कामना र बासनाबाट छुटकारा पाउने नै हो।

मन रहेसम्म त्यो छुट्दैन र फेरि जन्म मृत्युको चक्कर, समुद्रको पानी बाफ बनेर आकाशमा उठ्ने, अनि बरफ बन्ने र पग्लिने वा वर्षा भएर नदी बनेर फेरि समुद्रमा मिल्ने भनेजस्तै यो आवागमनको चक्र चलिरहन्छ। साधनाबाट सिद्धि मिल्दै निर्वाण र मोक्षको अवस्थामा नआएसम्म यो चक्र चलिरहन्छ। यो सूक्ष्म विषय हो । साधनाबाट ज्ञान र भेदहरू खुल्दै जानेछ। अस्तु!

जेठ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्