व्यंग्य

मुद्दाका नौ सिङ

अघिल्लो संसद विघटन संविधान अनुसार गर्न मिल्दैन र सरकार प्रधानको आदेशले संसदलाई निल्दैन भन्ने अदालती आदेशको पूर्ण पाठ आउने अनि यसलाई सबैले पढ्न पाउने समय कुर्दाकुर्दै फेरि संसद विघटन भयो र माथिको आदेश अनुसार देश चुनावतिर गयो।

संविधानको धारा ७६को जुनसुकै उपधारा प्रयोग गरे पनि एउटै व्यक्ति बाहेक अरु कोही पनि सरकार प्रधान हुन नसक्ने र नमिल्ने भएपछि राष्ट्र प्रधानले पनि के गरुन् अनि देश र जनताको भलाइको उपाय खोज्न कता झरुन्? हिजोको अवस्था र हालत सबै बुझेका समकक्षी र प्रतिस्पर्धी सबैले लाएको खाएको र मानसम्मान पाएको देख्न नसकेर पाइलै पिच्छे रिस राग डाह मात्रै गरेर कुनै पनि काममा सहयोग र समर्थन नगरेपछि एउटै सहयोगी सरकार प्रधानले भनेको पनि नमान्ने हो भने फेरि कहाँ पुर्‍याइदेलान् भन्ने डर।

त्यसकारणले गर्दा जोसुकैले जेसुकै भनुन् र जेजस्तो स्तरमा गनुन् उनलाइ केही मतलब हुने कुरै आएन। सबैका आआफ्ना बाध्यता हुन्छन्। सानाका बाध्यता सानै हुन्छन् अनि ठूलाका ठूलै। अरु कसैले साथ नदिए पनि आधा रातमा घोषणा गरेर सबैलाई माथ गरिदिएपछि कराउने कराउँदै गर्छन्, डराउने डराउँदै गर्छन् र अलि दिन विरोध गरे बापत खल्तीमा माल परेपछि हराउने हराउँदै गर्छन्।

सबैकुरा मालमै अडेको हुनाले राम्रो ताल पारेपछि गाल पर्ने सम्भावना अलि कमै हुन सक्छ भनेर झ्याप झ्याप निर्णय गरिदियो र अरु सबैकुरा बिर्सेर सरकार प्रधानको पोल्टो भरिदियो,टन्टै खलास्। जसले आफूलाई यहाँसम्मको बनायो उसैप्रति मात्रै आज्ञाकारिता जनायो बस्यो । अरु उनैले जानुन् र नियम कानुनलाइ कसरी मान्नपर्ने हो उनैले मानुन् अनि आफूले पुर्‍याएको सेवालाई उत्कृष्ट ठानुन् भन्ने मनसायले काम गर्न पाउनु र मध्यरातमा यस्तो सद्बुद्धि पलाउनु अनि हरेक किसिमले आफ्नो हितैसीको चाहना अनुसार कलम चलाउनु र दुवैजनाले पँगु ठहर्‍याइ  सकेको संसद ढलाउनु ज्यादै राम्रो कुरा हो।

आफूहरुले नै बनाएको संविधानलाई दुवैजनाले आफूखुशी व्याख्या गर्दै संसद भंग गरेर दंग पर्दै हिँडेको बेलामा अदालतले ब्यूँत्याइ दिएपछि त्यहि संसदबाट विश्वासको मत लिने साहस देखाउँदा नपाएपछि संविधानको दुलो केलाएर र दुवैले बुद्धि खेलाएर फेरि ठूलो दलको नेताको हैसियतमा सरकार प्रधानको कुर्सीमा टिक्ने अनि फेरि संसद विघटनको जुक्ति झिक्ने सोचलाई सबैले सकारात्मक रुपमा लिइदिनै पर्छ भन्ने उहाँहरुको भनाइलाई अन्यथा मान्न पर्ने आवश्यकता नभएको उहाँहरुको जिकिर छ।

ठूलो दलको नेताको रुपमा सरकार प्रधानले शपथ ग्रहण गर्दा प्रतिज्ञा गर्छु भन्ने दोहोर्‍याएर राष्ट्र प्रधानले पढाउन खोज्दा त्यो पर्दैन भनेर राष्ट्र प्रधानलाई भनेको र राष्ट्र प्रधानले हिहि गरेर समर्थन जनाएको अनि आफूलाई मन लागे अनुसार शपथ खाएर बनाएको सरकार प्रधानले यस विरुद्ध निकै रिट परेपछि अध्यादेश मार्फत शपथको ढाँचा बदली गरिदिए।

राष्ट्र प्रमुखको यसमा पनि हिहि सहितको जोडदार समर्थन रहनुलाई जनताले अन्यथा मान्ने र त्यसमा कुनै कैफियत छ कि भनेर जान्ने आवश्यकताको सवालै आएन। आफ्नो मान्छेलाई बेलैमा ठाउँमा बसाल्न सक्यो भने चाहेको समयमा चाहेजस्तो निर्णय खसाल्न सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हुनसक्छ।

यसोउसो जसोतसो गरेर चुनावमै जाने र सबैलाई बाध्य पारेर त्यतै लाने मनशायले म अब सरकार प्रधानको जागिर पनि खान्न र विश्वासको मत लिन संसदमा पनि जान्न लौ अब अर्को धारा अनुसार अर्को सरकार बनाइ पाउँ भन्ने सरकार प्रधानको निर्देशन बमोजिम अर्को सरकारको लागि बहुमतसहितको आवेदन आह्वान भयो। जम्मा २१ घण्टाको समय भित्र मागिएको आवेदनमा कसैले बहुमत जुटाउन सक्दैनन् भनेर अरुलाई फुटाउन र भागबन्डामा पद बाँडेर ढुकुटी लुटाउन अनि कसैकसैको मित्रता छुटाउन र बाहिरी सम्पर्क टुटाउन राम्रै प्रयासहरु भए रे भन्ने हल्ला पनि सुनिए।

यो धेरै वर्षदेखिको दैनिक कार्य भएकोले कसैले पनि धेरै चासो राखेन। बहुमत दाबी गर्ने समयसीमा सकिनुभन्दा दुईघण्टा अघि सरकार प्रधानले आफूले संसदबाट बहुमत पनि नआउने, सरकार सञ्चालन गर्न साबिक अनुसार कसैको सहयोग पनि नपाउने र म नै सरकार प्रधान बन्न पाउँ भनेर कतै पनि नधाउने जोडदार घोषणा गर्दै पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गराए।

अब चाहिँ यिनले राजीनामा दिने भए र सरकार प्रधानको कुर्सी छोडेर विश्राम लिने भए भनेर विरोधीहरु दंग परे। त्यसको एकै छिनपछि आफूलाई संसदमा भएका मध्ये १५३ जनाको समर्थन भएकोले आफैलाई सरकार प्रधानमा नियूक्त गरियोस् भन्ने पत्रसहित राष्ट्र प्रधानकहाँ उपस्थित भए।

अर्को पक्षले पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई सरकार प्रधानमा समर्थन रहेको १४९ जनाको हस्ताक्षरसहितको दाबी पेश गर्नासाथ योजनामा ठेस पुगेजस्तो देखियो। उक्त दिन संसदमा २६६ सदस्य कायम भएपनि दुवै पक्षले दाबी गरेको संसद संख्या जोड्दा ३०२ हुन पुगेछ। सरकार प्रधानले आफ्नो दलबाट हस्ताक्षर गर्नको लागि मात्रै अर्को पक्षमा पोइल गएका सांसदहरुलाइ कारबाही गर्ने आशयको पत्र पठाएछन्। एउटै कुर्सीको लागि दुइथरिले दाबी गरेपछि र राष्ट्र प्रधान दोधारमा परेर के गर्ने कसो गर्ने भनेर जान्न नसकेपछि सरकार प्रधानको निर्देशन मान्न परिहाल्यो।

सरकार प्रधानको दाबी नमानौँ आफ्नाे पनि के कसो हुने हो, अर्को पक्षको दाबी नमानौँ सत्तामा आएपछि आफ्नाे पनि पत्तासाफ गरिदेलान् भन्ने डर। के गरौँ भनेर विचार गर्दागर्दै मध्यरात भइहाल्यो। मध्यरातमा मस्त सुतिरहेका सल्लाहकारहरुलाई के दु:ख दिनु? कानुनी सल्लाह लिउँ न त भने पनि कानुनविद न्यायमूर्तिहरु पनि मस्त सुतिरहेका होलान्। अदालतको राय लिउँ भने अदालत बन्द छ। लौ अर्को पक्षलाई दिउँ न त भने सरकार प्रधानले राजीनामा दिएका छैनन्। मुखले छोड्छु भने पनि दाबी पेश गरेर रेकर्ड तोड्छु र सरकार प्रधानको संख्यामा थप एक अंक जोड्छु भनेर लागेका छन्।

सरकार प्रधान र उनको मन्त्रिमण्डल बाहेक सबै सांसदहरुसँग शत्रुता भइसकेको र संसदको काममा पनि पटक पटक हस्तक्षेप हुने गरेको सन्देश गइसकेको अवस्थामा बाँच र बचाउको सिद्धान्त लगाउनुलाइ नै बुद्धिमानी ठानिन्छ अनि यस्तोमा गरेको निर्णयलाइ सहि मानिन्छ र अप्ठ्यारोमा बुद्धि पुर्‍याउन सक्नुलाइ नै महान भनेर जानिन्छ। देशमा ज्यादै ठूलो आपत विपत संकट वा लडाइँ आइपरेको जस्तो गरि मध्यरातमा मन्त्रिपरिषदको बैठक बसि संसद विघटन गरि मध्यावधि निर्वाचनको सिफारिस आयो र राष्ट्र प्रधानको कार्यालयले पनि उतिखेरै उहाँको हातैमा पुर्‍यायाे।

अत्यन्त लोकतान्त्रिक र प्रजातान्त्रिक काम गरेको हुनाले संसारको इतिहासमा एउटै निर्णयमा राष्ट्र प्रधान र सरकार प्रधानलाई तीन दर्जन जति रिट परेर हिट भएको यो नै संसारको पहिलो घटना हुनपर्छ। यी मुद्दाहरु कुन पक्षले जित्छ र कुन पक्षको भविष्य बित्छ भन्ने थाहा छैन।

यसो हेर्दा देशमा यी दुईवटा कार्यालय जनताको लागि चौबिसै घण्टा खुला रहने रहेछन् भन्ने पनि सबैले थाहा पाए। देशैभरिका कार्यालयहरु बन्द गरेर माथि देखि तलसम्मका सबैजना मस्त सुतेको बेलामा यि दुई कार्यालयका माथि माथिका मात्रै रातैभरि नसुति काम गर्ने गरेको सुन्दा अन्य साना ठूला देशका राष्ट्र प्रधान र सरकार प्रधानहरुले पनि यसको नक्कल गरेर कार्यालय सञ्चालन गर्ने अक्कल झिक्ने भएका छन् रे भन्ने सुनिन्छ। यसरी दुईजना अति मिल्ने साथिले देशको प्रतिष्ठा कति माथि पुर्‍याएका छन् भन्ने पनि सबैले मनन गरिदिन पर्छ।

हाम्रो परिप्रेक्षमा मध्यरातको निकै ठूलो महत्व छ। कोतपर्ब मध्यरातमै भयो,रणोद्दिपसिंह र जंगबहादुरका सन्तानहरुको हत्या मध्यरातमै भयो,राजा वीरेन्द्रको बंशनास पनि झण्डैझण्डै मध्यरातमै भयो, ४६ सालको परिवर्तनको घोषणा पनि मध्यरातमै भयो, गणतन्त्रको घोषणा पनि मध्यरातमै भयो, पहिलो संविधान सभाको अवधि थप पनि मध्यरातमै भयो, पेट्रेलियम पदार्थको मूल्य पनि मध्यरातमै बढाइन्छ,लकडाउन वा निषेधाज्ञाको म्याद पनि मध्यरातसम्मको लागि नै तोकिन्छ र त्यहि अनुसार नै ठोकिन्छ भनेपछि यसमा कसैले दु:ख मनाउ र विरोध जनाउ गरिराख्न पर्ने देखिँदैन।

अहिलेको घोषणा पनि घोषणाकर्ताहरुको लागि त होइन देश र जनताको लागि अति महत्वपूर्ण भएकोले अनि त्यहि दिशामा गएकोले देशबासीहरुको निद्रा नबिगारिकन काम गर्नु देशका अविभावकहरुको ठूलो महानता हो । राति केही आपत विपत पर्‍याे भने सकभर निदाइरहेका केटाकेटीहरुलाई बाधा नपुर्‍याइकन  काम सुल्झाउनु र भोलिपल्ट अरुलाई पनि त्यसमा उल्झाउनु त बाबुआमाको कर्तव्य  नै हो नि। यसो हेर्दा रैतीहरुको लागि यतिसम्मको उदारता देखाउन र इतिहासमा लेखाउन सक्नुलाई चानचुने त्याग मान्न मिल्दैन। म कुनै हालतमा खान्न र त्यो कुर्सीमा बस्न जान्न भन्दा पनि केही नलागेपछि अरु के नै गर्न सकिन्छ र?

रात रहे अग्राख पलाउँछ र अलमल गरेर बस्दा अर्कैले दिमाग चलाउँछ भनेर भएको यो निर्णय सही समयमा गरिएको अनि उज्यालो नहुँदै सबैतिर छरिएको हुनाले सबैले थाहा पाए। राति सुत्दा माननीय भएर सुतेकोमा बिहान उठ्दा भुपु भइसकेको सुन्दा सबैभन्दा खुशी चाहिँ माननीयहरु नै भए रे। सत्तापक्षका जति मध्यावधि निर्वाचनबाट दुइतिहाई ल्याउने र अहिलेको भन्दा पनि गतिलो तरिकाले सत्तासुख भ्याउने पक्का छ भनेर सरकार प्रधानले भनेकोले दंग परे।

विपक्षीहरु अदालतले यो निर्णयलाइ उल्ट्याइ दिन्छ र आफ्नो पक्षले सत्ताको बागडोर लिन्छ अनि हामीलाई पनि सत्तापक्ष भनेर संसारले चिन्छ भनेर दंग परे। एउटै संसदीय दल पक्ष र विपक्षमा बाँडिएको र विभिन्न स्वार्थ, रिस, राग, कुण्ठा आदिले भाँडिएको पनि प्रष्ट देखियो। इमान्दारिता र नैतिकताको प्रशस्त खडेरी परे पनि सबैले चाहिँदोभन्दा बढि घर घडेरी जोडेको हुनाले यसमा अझ धेरै प्रगति हुने तर्फ लम्कनु र जता फाइदा होला जस्तो छ उतै पट्टिबाट चम्कनु स्वाभाविकै हो।

सत्तापक्षको झगडाको बाछिटाले मधेशवादी दल समेत रुझेको र सत्तापक्षको साथै विदेशबाट पनि राम्रै नगद बुझेको हल्लामा खै कति सत्यता छ उनैले जानुन्। एउटा खेमाले दक्षिणी छिमेकीको निर्देशन र नगदसहित सत्तापक्षतिर लागेको अनि पश्चिमाहरुले हण्डि र डण्डि देखाएर फकाएपछि अर्को खेमा विपक्षतिर लागेको भन्ने हल्ला पनि उनैले जान्ने कुरा हो।

सरकार प्रधान भइदिनोस् र बालुवाटारमा बस्न गइदिनोस् भनेर सबै विरोधी र विपक्षीहरुले पटक पटक कराउने गर्दा पनि सरकार प्रधान हुन डराउने गर्दै आएका प्रमुख प्रतिपक्षी दलका नेताले पनि यसपाली चाहिँ बडो मुस्किलले भ्यागुताको धार्नी पुर्‍याएर दरखास्त दिन गएकोमा मध्यरातमा यति राम्रो लोकतान्त्रिक हो कि प्रजातान्त्रिक हो कि गणतान्त्रिक कदम चालिएला र आफ्नो दाबीलाई रद्दिको टोकरीमा फालिएला भन्ने भेउ पाउन सकेनन्।

उसै पनि मध्यरातमा ककसले केके गर्छन् कसलाइ थाहा हुन्छ र? बोलेको पनि नबुझिने र सानातिना फाइदाको लागि पनि कहाँकहाँ मनपेट खोलेको पनि नबुझिने यिनलाइ चुनाव नै भए हुन्थ्यो जस्तो लागे पनि प्रतिपक्षको धर्म निभाउनै पर्ने हुनाले मात्रै यस्तो कर्म गर्न परेको यिनको मर्म धेरैले बुझेका छन्।

चाहिँदो भन्दा र क्षमता भन्दा बाठो हुन खोज्दा टेक्ने समाउने र परिआएको बेलामा छेक्ने सामर्थ्य समेत गुमाउँदै गएका स्वघोषित महान नेतालाई मध्यावधि निर्वाचन भए साफ हुने र यथास्थिति रहे पानीबाट बाफ हुने त्रास भएकोले प्रमुख प्रतिपक्ष र सत्तापक्ष भित्रका विरोधीहरुको आड नपाएमा मुखमा माड नलाग्ने अवस्था भएकोले अँध्यारोमा डराएको मान्छे ठूलोठूलो स्वरमा कराउँदै दौडेको जस्तो गरेर बर्बराइराखेका हुन्।

सत्ताधारी दलकै सरकार विरोधी माननीयहरु पनि ठूला कुरा गर्दागर्दै र सरकार प्रधानलाई हटाउन अघि सर्दासर्दै घर न घाटको भइएला र फेरि उठ्नै नसक्ने ठाउँमा गइएला भन्ने डरले स्वघोषित महान नेताको लहैलहैमा लागेर यहाँसम्म आइपुग्दा गन्तव्य हराएको मन्तव्य दिनेमा पुगेका छन्। सुरुमा यिनिहरुको निकै ठूलो जमात भएपनि खिइँदै गएको हो कि जस्तो देखिँदा दयाको पात्र मान्ने र यिनिहरुको भविष्य के हुने हो भनेर जान्ने इच्छा राख्नेहरु पनि नभएका होइनन्।

ठूलो दलको नेताको हैसियतले सरकार प्रधानमा नियुक्त हुँदा जनताको पक्षमा सपथ लिन पर्दैन भनेका र राष्ट्र प्रधानलाई आफ्नो सामान्य कारिन्दाको रुपमा मात्र गनेका सरकार प्रधानले राजीनामा पनि नदिएका र कुन्नि कुन चाहिँ उपधारा अनुसार नियक्ति र शपथ पनि नलिएका भएपनि राष्ट्र प्रधान र सरकार प्रधान दुवै पद आफैले चलाएका अनि अरु सबैलाई गफैमा भुलाएर ढलाएका अपूर्व कदम संसारमै हुने बिरलै घटना मध्येमा पर्छ। निकै कसरतपछि यसको विरुद्ध विपक्षीहरुले केश बनाएर अदालतमा मुद्दा पेश गरेका छन्।

अत्यन्त लोकतान्त्रिक र प्रजातान्त्रिक काम गरेको हुनाले संसारको इतिहासमा एउटै निर्णयमा राष्ट्र प्रधान र सरकार प्रधानलाई तीन दर्जन जति रिट परेर हिट भएको यो नै संसारको पहिलो घटना हुनपर्छ। यी मुद्दाहरु कुन पक्षले जित्छ र कुन पक्षको भविष्य बित्छ भन्ने थाहा छैन।

ज्यादै लोकतान्त्रिकवादी र प्रतिवादी दलका झोले बनेर खोले खाइरहेका अत्यन्त सक्षम कानुन व्यवसायी र न्यायमूर्तिहरु,अत्यन्त निष्पक्ष भनेर दलको मुखपत्रबाट जीविका चलाउने र नेताहरुको ताबेदारी गरेर नगद फलाउने सञ्चारकर्मीहरुकाे बिगबिगी भएको ठाउँमा कसको हार र कसको जित हुन्छ भन्न सकिने कुरै आएन। उसै पनि मुद्दाका नौ सिङ भन्ने भनाइ त्यसै आएको होइन।

जेठ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्