सम्पादकीय

हाम्रो गणतन्त्र

नेपाली ‘गणतन्त्र’ का थुप्रै मौलिक पक्ष छन्। जनताको संलग्नता बिना र परिचालित राजनीतिक नेतृत्वको झ्याली प्रपञ्चबाट ल्याइएको गणतन्त्रले १३ वर्ष पूरा गरेको छ। तर यसपल्टको गणतन्त्र मुलुकका लागि थुप्रै अपशकून लिएर आएको छ।

राजसंस्थाको अनुपस्थिति गणतन्त्रको एउटा पक्ष हो, तर बाह्य निर्देशनबाट आन्तरिक राजनीति सञ्चालन पराकाष्ठमा पुग्नु गणतन्त्रको आधार मानिने जनताको सामूहिक आत्म निर्णयको अधिकारलाई निषेध गर्नु गणतन्त्रलाई ‘पोटासियम साइनाइड’ मा डुबाउनु सरह हो।

मुलुकमा मुख्य गणतन्त्र दिवस सैनिक मुख्यालयको अडिटोरियममा मनाइएको छ त्यसबेला जब सरकारको वैधानिकतामाथि न्यायपालिका, राजनीतिक र बौद्धिक वृत्तमा प्रश्न उठाइएको छ। र, कतिपयले त्यस्तो सरकारका निर्णय र आदेश नमान्न सुरक्षा निकायहरुलाई समेत आग्रह गरिरहेका छन्।

मुलुकमा गणतन्त्र दिवस कर्मकाण्डी रुपमा मनाईँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथिको र संसद माथिको हैसियत षडयन्त्रपूर्ण तरिकाले खोसेका छन्। मुलुक कोरोना भाइरसको महामारीबाट त्रस्त छ, तर ओली–भण्डारी समीकरण अघोषित सत्ता कब्जामा लिप्त छ। ओली हरेक दिनजस्तो चाहे नीति तथा कार्यक्रमका नाममा होस्, चाहे अध्यादेशीय बजेटका नाममा प्रतिपक्ष र व्यापकरुपमा फैलिँदो जन आक्रोशलाई सराप्नमा व्यस्त छन्।

राजनीतिक उच्चतम तहको यो अराजकता राज्यका विभिन्न तहमा फैलिएका छन्। कोभिड–१९ सँग लड्न कमाण्ड अस्पतालका रुपमा मान्यता दिइएको वीर अस्पतालमा सरकारी गुण्डागर्दी शैलीको शासन स्थापित भएको छ। त्यहाँ खटाइएका डा. जागेश्वर गौतमले अस्पताल निर्देशकको साइनबोर्ड हटाएर उनको कार्यालय कब्जा गरेका छन्।

भेरी अस्पतालमा महामारी विरुद्ध समर्पणका साथ रातदिन खटेका डाक्टर नर्सहरु तथा अस्पताल कर्मचारीमाथि आपराधिक शैलीमा आक्रमणमा उत्रिएका छन्। अरु दुर्भाग्य, त्यस्ता घटनामा संलग्न व्यक्तिहरु सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी एमालेसँग आवद्ध भएका भुक्तभोगीहरुले बताएका छन्। यो अस्पतालमा भर्ती भएका बिरामीहरुको मात्र हैन, मुलुकभरिका अस्पतालहरुलाई आतंकित गर्ने घृणित कार्य हो।

राजनीतिक रुपमा मात्र हैन, जनताको जीवनमा खेलवाड गर्ने यस्ता प्रवृत्तिलाई प्रोत्साहित गर्ने व्यवस्थालाई नै ‘गणतन्त्र’ मान्नु पर्ने अवस्था अत्यन्त दुःखद हो। व्यक्तिकाे सुरक्षा, मर्यादासँगै प्रजातन्त्रका माैलिक मूल्य मान्यता अनि राष्ट्रकाे सम्मानकाे मूल्यमा अभ्यास गरिने व्यवस्थालाई गणतन्त्र भनिँदैन, मानिँदैन।

जेठ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्