नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

विश्व प्रवृत्ति हेर्दा कोरोना प्यान्डेमिक अझै अनिश्चित

गत वर्षको सुरुवातीसँगै सुरु भएको कोरोना संक्रमणले १७ महिना र यसको प्यान्डेमिकले साढे चौध महिना पार गरिसकेको छ।

सन् २०२०को मार्च ११ तारिक डब्लुएचओले कोरोना प्यान्डेमिक घोषणा गरेपछि यसका कैयौं लहर आउने क्रममा विश्वको वर्तमान लहर यसै वर्ष फेब्रुअरी अन्त्यदेखि सुरु भई फेरि ओरालो लाग्ने क्रममा छ।

वर्तमान लहरको केन्द्रबिन्दु र सबैभन्दा ठूलो हिस्सा दक्षिण एसिया रह्यो। जसले पहिल्लो समय विश्वकै दैनिक संक्रमणको ५०% र दैनिक मृत्युको ४०% सम्मको भार बहन गर्नुपर्‍यो। यद्यपि, वर्तमान लहर सुरुमा युरोप र दक्षिण अमेरिकाको भूमिका पनि कम रहेन।

वर्ल्डमिटरका अनुसार अनुसार कोरोनाकालको सुरुदेखि हालसम्म जम्मा कोरोना संक्रमणको अमेरिकामा २०%, भारतमा १६%, ब्राजिलमा १०% र नेपालमा ०.३२% हिस्सा छ।

त्यस्तै, हालसम्म जम्मा कोरोना मृत्युको अमेरिकामा १७%, ब्राजिलमा १३%, भारतमा ९% र नेपालमा ०.२०% हिस्सा छ।

विश्वको समग्र औसत कोरोना मृत्युदर (क्युमुलेटिभ डेथ रेट) २.०८% छ भने पछिल्लो समय विश्वको मृत्यु दर केही बढ्दै गई २.२% पुगेको छ।

सबैभन्दा बढी समग्र मृत्यु दर हुने देशमा दक्षिण अमेरिका र युरोपका देश पर्छन्। टेबुल १ मा विश्वका अधिकतम समग्र कोरोना मृत्यु दर भएका १० देशको सूची देखाइएको छ।

त्यस्तै, समग्र मृत्यु दर अति न्यून रहेका देशमा भुटान, लाओस, बुरुण्डी तथा अन्य स–साना टापु पर्छन् जहाँ मृत्यु दर शून्यसमान छन्।

टेबुलमा देखाइएको सूचीले समग्र मृत्यु दर देखाए पनि पछिल्लो अवस्थामा दैनिक मृत्युको प्रवृत्ति देशअनुसार फरक–फरक देखिएको छ। पछिल्लो अवस्थामा विश्वभरिका साथै अमेरिका, युरोप, ब्राजिल, रुस, भारत, नेपाललगायत दक्षिण एसियामा मृत्यु दर केही बढ्न खोजेको छ।

चित्र न. १ले दुई हप्ताको विश्वको हालसम्मको समग्र मृत्यु दर (हालसम्मको समग्र संक्रमणमध्ये समग्र मृत्युको अनुपात) र विश्वको पछिल्लो समयको दैनिक मृत्यु दर (पछिल्लो समयको दैनिक संक्रमणमध्ये दैनिक मृत्युको अनुपात)को प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै समग्र मृत्यु दर स्थिर रहे पनि पछिल्लो समयको दैनिक मृत्यु दर केही अस्थिर रही बिस्तारै बढ्ने क्रममा देखिन्छ।

कोरोनाबारे डेढ वर्षभित्र निकै धेरै अनुसन्धान र अध्ययन भएका छन्।

कोरोनाको उपचार विधि तथा भ्याक्सिन प्रविधिमा पनि ठूलो प्रगति भइसकेको अवस्थामा मृत्यु दर केही बढ्दै जानु दुःखद कुरा हो।

यसले कोरोना संक्रमण र प्यान्डेमिक कुन दिशातिर जाँदै छ भन्ने अझै स्पष्ट नभइसकेको तथ्य पुष्टि हुन्छ।

दक्षिण एसियाको कुरा गर्दा वर्तमान प्यान्डेमिक लहर धेरै लामो समयसम्म टिक्न पाएन र अप्रिल अन्त्यतिर दैनिक संक्रमण लहरको उच्च बिन्दुमा पुगी, केही स्थिर रही मे पहिलो हप्तादेखि क्रमशः ओरालो लाग्न सुरु गर्‍यो। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण घट्दै जाने क्रम जारी छ यद्यपि, दैनिक तथ्यांक केही तल–माथि हुने गरेको छ।

दैनिक संक्रमण परीक्षणमा भर पर्छ। त्यति मात्र नभई संक्रमण दरलगायत प्यान्डेमिक मापनका अन्य सबै दर तथा अनुपात पनि दैनिक परीक्षणको मात्रामा भर पर्छ।

हाल नेपाल र भारतमा साबिक जत्तिकै परीक्षण गर्दा संक्रमण केही घट्दै गएको छ भने पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत देशमा परीक्षण घटाए संक्रमण घट्ने र बढाए बढ्ने प्रवृत्ति देखिएको छ।

भुटान र माल्दिभ्समा परीक्षण निकै बढाए पनि संक्रमण केही मात्रै बढेको देखिन्छ। देशअनुसार संक्रमण र प्यान्डेमिकको फरक फरक प्रवृत्तिले गर्दा पनि भविष्यमा प्यान्डेमिकले कुन रुप लिने हो भन्न नसकिने अवस्था अहिले पनि कायमै छ।

यस्तो अनिश्चित र अस्थिर अवस्थामा दीर्घकालीन रूपमा कोरोनाबाट बच्ने र बचाउने उपाय गर्नु अपरिहार्य देखिन्छ।

तसर्थ कोरोना परीक्षण र नियन्त्रणका उपाय प्यान्डेमिकको अन्त्य नभएसम्म निरन्तर गर्नुपर्छ, यो कुरा नागरिक, सरकार र सिंगो देशले बुझ्नु जरुरी छ।

यसरी वर्तमान अवस्थामा दक्षिण एसिया र नेपाल प्यान्डेमिकको मारमा परिरहेको बेला केही आशाको किरण देखिन थालेको २–३ हप्ता भएको छ।

वर्तमान अवस्थामा प्यान्डेमिक लहरको केन्द्रबिन्दु र विश्वकै सबैभन्दा ठूलो हिस्सा भारतमा दैनिक संक्रमण केही घट्दै गएको केही समय भइसकेको छ।

चित्र नम्बर २ ले दुई हप्ताको दक्षिण एसियाली देशको दैनिक संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै भारतमा दैनिक संक्रमण क्रमशः ओरालो लाग्दै जाने क्रम जारी छ। भारतमा हालको दैनिक संक्रमण वर्तमान लहरको उच्च बिन्दुभन्दा आधा भइसकेको छ भने अन्य देशमा केही थपघट भए पनि दैनिक संक्रमण केही स्थिर देखिन्छ।

माल्दिभ्सको दैनिक संक्रमण, जनसंख्याको अनुपातमा हाल पनि उच्च बिन्दुमा छ भने बंगलादेश र अफगानीस्तामा न्यून परीक्षणका बाबजुद दैनिक संक्रमण फेरि केही बढ्न खोजेजस्तो देखिन्छ।

यसरी समग्र दक्षिण एसियामा संक्रमणको प्रवृत्ति कम हुँदै जानु सुखद समाचार हो। त्यस्तै, चित्र नम्बर ३ ले दुई हप्ताको दक्षिण एसियाको जम्मा दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियाको दैनिक संक्रमण तीन हप्ताअगाडि ४३२००० भएकोमा हाल यो संख्या २००००० जति भई क्रमशः घट्दै गएको देखिन्छ।

यसरी दक्षिण एसियामा दैनिक कुल संक्रमण घट्दै गए पनि चित्रमा देखाइएजस्तै दैनिक मृत्युचाहिँ संक्रमणको अनुपातमा घटेको देखिँदैन। कोरोना भाइरसको नयाँ प्रजाति पहिलाको भन्दा बढी आक्रामक देखिएको विभिन्न अनुसन्धानले देखाएका बेला संक्रमणको दाँजोमा मृत्यु नघट्नुले पनि यसको पुष्टि गर्छ।

पछिल्लो अवस्थामा विश्व र दक्षिण एसियामा कोरोना संक्रमणमा केही कमी आएको अवस्थामा विश्वको तुलनामा दक्षिण एसियाको संक्रमण अनुपातमा पनि गतहप्तादेखि केही कमी आएको देखिन्छ।

पछिल्लो अवस्थामा विश्वको तुलनामा दक्षिण एसियाको दैनिक कोरोना संक्रमण अनुपात ५०%बाट ४५%मा घटेको छ।

त्यस्तै, विश्वमा कोरोना मृत्युमा पनि कमी आइरहेका बेला दक्षिण एसियाको कोरोना मृत्यु भने, माथि उल्लेख गरिएजस्तै, खासै घटेको देखिँदैन जसले गर्दा विश्वको तुलनामा दक्षिण एसियाको दैनिक कोरोना मृत्युको अनुपात दुई हप्तादेखि ४०% जति देखिँदै आएको छ जुन तीन हप्ता अघिसम्म ३०% भन्दा कम थियो ।

पछिल्लो समय संक्रमण संख्याको हिसाबले मात्रै होइन संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पनि दक्षिण एसियाली देशको कोरोना संक्रमणमा केही कमी आएको देखिन्छ।

चित्र ४ ले दक्षिण एसियाली देशको गत दुई हप्ताको, जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ।

 

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार नेपाल साप्ताहिक औसत संक्रमण दरको हिसाबले झन्डै तीन हप्तादेखि विश्वकै दोस्रो उच्च स्थानमा पुगेकोमा गत हप्ता तेस्रो स्थानमा झरेको छ।

यद्यपि, हाल नेपालको दैनिक पोजिटिभिटी केही स्थिर रही पछिल्लो समय केही घटेको लक्षण देखिन्छ। यो हामी सबैको लागि सुखद समाचार हो।

चित्रमा देखाइएजस्तै भारतको पोजिटिभिटी पनि क्रमशः ओरालो लाग्दै एक महिनाअघिको दाँजोमा निकै तल झरेको छ।

तर, माल्दिभ्सको अवस्था हाल पनि चिन्ताजनक देखिन्छ।

त्यहाँ पोजिटिभिटी पनि उच्च बिन्दुमा कायम रही गत हप्ता विश्व सूचीमा ५औं स्थानमा पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार गतहप्ता सबैभन्दा उच्च स्थानमा रहेको अर्जेन्टिनाको साप्ताहिक औसत संक्रमण दर ७७.९६%, नेपालको ४०.५४%, माल्दिभ्सको २७.७१% र भारतको १०.४३% छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी विवरणअनुसार दक्षिण एसियामा मे २६सम्म २९६८३९८६ जनामा यो संक्रमण लागिसकेको छ भने ३५५२४५ जनाले यसैका कारण ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, सन् २०२१ मे २३ देखि २९ (बि सं २०७८ जेष्ठ ९ देखि १५) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् । जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठक वर्गसमक्ष पु¥याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो।

निम्न केही तथ्यांकका आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौं–

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। गत हप्ता सन् २०२१ मे २३ देखि २९ अर्थात् ०७८ जेठ ९ देखि १५ गतेसम्म जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र नम्बर ५ मा प्रस्तुत गरिएको छ।

परीक्षणको मात्राअनुसार दैनिक संक्रमणको संख्या पनि थपघट हुने क्रम जारी छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, जेठ १५ गते शनिबारसम्म, देशभरि जम्मा ४७७७९ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ५५३४२२ पुगेको छ।

सात हप्तादेखि गुणात्मक हिसाबले बढ्दै गएको नेपालको संक्रमण संख्या दुई हप्तादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गत हप्ता ५७९३९बाट ४७७७९मा झरेको हो।

त्यसैगरी, डेढ महिनाभन्दा लामो समयदेखि बढ्दै गएको कोरोना मृत्युमा पनि गत हप्ता पहिलो पटक केही कमी आएको छ र साप्ताहिक मृत्यु १२९७ बाट १०१० पुगेको छ।

यसरी कोरोना संक्रमण र कोरोना मृत्यु दुवै घट्दै आउनु सुखद पक्ष हो। चित्र नम्बर ६ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३२% देखिन्छ।

दुई हप्ता अगाडि पनि यो अनुपात ३२% थियो र केही हप्तादेखि यो अनुपात क्रमशः झर्दै गएको देखिन्छ।

यसले के संकेत गर्छ भने हाल नेपालमा संक्रमण काठमाडौँ उपत्यकाभन्दा काठमाडौँ बाहिर फैलिँदै छ। नेपाल सरकारले देखाएको तथ्यांकअनुसार पछिल्लो समय नेपालभरि र पहाडी र हिमाली क्षेत्रमा पनि पहिलाभन्दा संक्रमण धेरै देखिएको छ।

त्यस्तै, कोरोना संक्रमण विभिन्न उमेर समूहमा फैलिनु र पहिलाभन्दा महिला संक्रमितको अनुपात पनि बढ्दै जानुले पनि हाल नेपालमा संक्रमण सामुदायिक स्तरमा फैलिएको छ भन्ने संकेत गर्छ जुन नेपाल सरकार र डब्लुएचओले पनि पुष्टि गरिसकेको छ।

नेपाल सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार हाल अधिकतम संक्रमित १० देखि ७० वर्षसम्मका उमेर समूहभित्र परेका छन्।

यद्यपि, ६५% संक्रमित २० देखि ५० वर्ष उमेर समूहभित्र पर्छन्। त्यस्तै, पछिल्लो समय समग्र कोरोना संक्रमणको महिला अनुपात ३९% पुगेको छ जुन लामो समय ३०% भन्दा कम थियो।

दैनिक संक्रमण (पोजिटिभिटी) दर प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ७ले नेपालको गत हप्ताको दैनिक संक्रमण दर देखाएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेको देखिन्छ।

गत हप्ता पोजिटिभिटी दर न्यूनतम ३०.७८% देखि अधिकतम ४०.०६%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३५.४८% रह्यो।

यसरी डेढ महिनाभन्दा लामो समयदेखि निरन्तर उकालो लागेको नेपालको कोरोना संक्रमण दर अर्थात् पोजिटिभिटी दुई हप्तादेखि कम हुँदै औसत ४५% बाट ३९% हुँदै गत हप्ता ३५%मा झरेको छ।

संक्षेपमा माथिका तथ्यांकबाट गत हप्ता दक्षिण एसिया, नेपाल र भारतमा प्यान्डेमिक लहर केही ओरालो लाग्दै गएको देखिन्छ जुन सुखद पक्ष हो। त्यस्तै, कोरोना मृत्युमा पनि गत हप्तादेखि कमी आउनु प्यान्डेमिकको सकारात्मक पक्ष हो।

नेपालको अवस्था हालसम्म पनि विश्वमा सबैभन्दा खतरापूर्ण र जोखिमपूर्ण देखिए पनि दुई हप्तादेखि संक्रमण र मृत्युमा आएको सुधारले आउने केही हप्ताभित्र कोरोना संक्रमण विस्तारै नियन्त्रण हुँदै जाने देखिन्छ।

बिगत र हालको अनुभवले कोरोना प्यान्डेमिकको लहर आउने–जाने क्रम अझै केही समय रहने देखिन्छ।

एकातिर भ्याक्सिनको प्रभावले मानिस र समुदायमा कोरोनाविरुद्धको शारीरिक शक्ति (इम्युनिटी) बढ्दै गई प्यान्डेमिक क्रमैसँग निर्मूलीकरण हुँदै जाने देखिन्छ भने अर्कोतिर कोरोना भाइरसको नयाँ–नयाँ प्रजाति र स्वरुपको उत्पत्ति हुँदै गई यसले मानव समाजमा दीर्घकालीन असर पार्ने देखिन्छ।

प्यान्डेमिक एक दिन सधैँका लागि यस धर्तीबाट हराउने कुरा त निश्चित छ तर कहिले भन्ने प्रश्न अनिश्चित छ। तर, के कुरा निश्चितप्रायः छ भने कोरोनाले छोटो समयमै र सजिलै हामीलाई छाड्ने छैन। तसर्थ दीर्घकालिन योजना बनाई नागरिक र सरकार दुवै सतर्क रहनु आजको आवश्यकता हो।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्