दोलखाका पत्रकार गौतमको कोरोनाले लियो ज्यान

काठमाडौं- अन्नपूर्ण पोष्टका दोलखाका सम्वाददाता तथा रेडियो भीमेश्वरका स्टेसन म्यानेजर रविन्द्र गौतमको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

स्वास्थ्य अवस्था जटिल बनेपछि एक साताअघि एयर लिफ्ट गरी काठमाडौं ल्याइएका गौतमको उपचारका क्रममा आइतबार अपरान्ह एभरेस्ट अस्पतालमा निधन भएको हो। ३८ वर्षीय गौतमलाई स्वास प्रश्वासमा थप समस्या भएपछि शनिबार आईसीयूबाट  भेन्टिलेटरमा सारिएको थियो।

स्वर्गीय गौतमका ६ महिना र ९ वर्षकी छोरी, श्रीमती र वृद्ध आमा छन्।

दोलखाका अर्का पत्रकार तथा पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाका अनुसार तीन साताअघि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गौतमले परीक्षण गराएका थिए तर रिपोर्ट नेगेटिभ देखाएको थियो।

उनका श्रीमती र आमालाई भने कोरोना संक्रमण देखिएको थियो। एक साताअघि श्वास प्रश्वासमा समस्या देखिएपछि गौतम फेरि स्वास्थ्य जाँच गर्न पुगेका थिए। त्यतिबेला उनको फोक्सो निमोनिया भएर ७० प्रतिशत काम नलाग्ने अवस्थामा पुगेको रिपोर्ट प्राप्त भएको खतिवडाले बताए।

एन्टिजेन परिक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो। लगत्तै उनलाई काठमाडौं ल्याइएको थियो। ‘ काठमाडौं पठाउने बेलामा होपलेस न हो है तैलेँ जितेर फर्कनुपर्छ भन्दा पिर नगर आफ्नो केयर गर म जितेर मात्र आउँछु भन्थ्यो। बुढी औँला उठाएर उच्च मनोबलसहित थम्प गरेर हेलिकप्टर चढेको थियो’, दोलखामै रहेर पत्रकारिता गर्दै आएका खतिवडाले गौतमको मृत्युको खबर सुनेपछि सामाजिक सन्जालमा लेखेका छन्।

उनका अनुसार गौतमले पत्रकारिता गरेर श्रीमती, दुई छोरीहरु र बृद्ध आमाको रेखदेख गर्दै आएका थिए।

जेठ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्