झापा – मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने प्राकृतिक सौन्दर्यले जति चर्चित छ, अहिले सडकका किनारमा रहेका बुढा गुलमोहरका बोटले दिएका फूलले त्यति नै सौन्यदर्य बढाइदिएको छ।

अहिले त्यहाँ पुग्ने जो कोहीलाई लाग्दो हो ‘सडकका दुईतिरै यस्ता रुख भइदिए कति राम्रो देखिँदो हो।’

तर बुढा भइसकेका रुखले आफ्नो ‘तरुनी–तन्नेरी रुप’ देखाएर मानिसका आँखाका तिर्सना केही हदसम्म मेटाइदिएको छ।

कोरोना महामारीको नियन्त्रणका लागि भनेर गरिएको लकडाउनले पट्यार लाग्दो दैनिकीलाई केही समय भए पनि रातै फुलेका गुलमोहरका फूलले मोहित तुल्याइदिन्छ।

निषेधाज्ञा नभइदिएको भए तस्बिर लिनका लागि मात्र भए पनि मानिस पुग्ने थिए। तर वरपरका मानिसका लागि भने ‘टाइम पास’को मेलो भएको गुलमोहरका फूल।