कहिलेसम्म प्रतिष्पर्धी भएर बस्ने नारीपुरुष?

घरमा आमाले बनाएको बनाएको चिया पिएर, श्रीमतीले बनाएको मिठो खाना खाएर आफ्नी प्यारी छोरीलाई अकंमाल गर्दै काममा निस्केको पुरुषलाई घर बाहिर नारीहरु कमजोर, लाचार र परनिर्भर लाग्छ ।

सुरक्षित छाहारी लाग्ने आफनो बुवा, सुखदुखको साथी श्रीमान र आमाको आँखाको नानी छोरा घरबाहिर कठोर, मिचाहा र अत्याचारी लाग्छ । घरभित्र एउटै डिनर टेबलमा सँगै रमाउदै खाना खाने नारी पुरुष घरबाहिरको चिया टेबलमा दुई विरोधी देशका सैनिक योद्वा झै बन्छन् । प्रकृतिले एकअर्काको परिपूरकको रुपमा बनाएको नारी र पुरुष कहिलेसम्म प्रतिस्पर्धी भएर बस्ने ?

मानव जीवनको निरन्तरताको लागि आवश्यक विभेद बाहेक प्रकृतिले नारी र पुरुषमा कुनै भिन्नता राखेको छैन तर संस्कार र संस्कृतिको नाममा समाजमा बनाइएका खोक्रा नियमले विभेदको खाडल झनझन गहिरिँदैछ ।

हामी नारी र पुरुषको फरक शारीरिक पहिचानमा यति धेरै संकुचित भयौँ कि बाँकी सबै ९५ प्रतिशत भन्दा बढि समानता गौंण भइदियो । प्रकृतिले नारीलाई शारीरिक रुपमा संवेदनशील, भावनात्मक रुपमा कोमल र सहनशील बनाएको छ किनकी नारीमाथि विशेष जिम्मेवारी छ , आमा बन्ने । नौ-नौ महिनासम्म आफू भित्र एउटा जिवन बोक्नु, जीवन र मृत्युको दोसाँधमा रहेर बच्चा जन्माउनु अनि पूर्णरुपमा सर्मपित भएर पालनपोषण गर्नु जस्तो महत्वपूर्ण र सम्मानीय जिम्मेवारीलाई जाबो बच्चा त किराफट्याङग्राले नि पाउछन् भनेर कहिले सम्म अपमान गरिरहने ? जनावरकै स्तरमा बाच्नको लागि त मानिसलाई बुद्वि विवेक प्राप्त भएको होइन ।

शायद त्यसैले एउटा गाइको बच्चा जन्मेको केही क्षणमै आफनो खुट्टामा उभिन, हिँड्न र उफ्रिन सक्छ तर मानिसको बच्चालाई त्यति लायक बनाउन विशेष स्याहारसुसार, पोषण, मेहेनत र धैर्यताको आवश्यकता पर्दछ, यसको महत्व हामीले कहिले बुझ्ने ?

वर्तमान परिप्रेक्ष्यमा पुरुषको दाँजोमा नारी पिछडिएको, समाजले ठहराएको उच्च स्थानमा नारीको पहुँच कम भएको ठानेर नै सम्पूर्ण नारीहरुलाई उचित अवसर र सुविधा प्रदान गर्नको लागी राज्यले विशेष नारी अधिकारहरु दिएको छ । तर राज्यले घरघरमा गएर हरेक नारीहरुले राज्यले दिएका अधिकार र सुविधा उपभोग गर्न पाएका छन् वा छैनन् भनेर सुनिश्चत गर्न सक्दैन ।

कुनै कार्यालय निश्चित नियम र कानूनले संचालन भए जसरी हाम्रो घर र समाज संचालित भएको हुँदैन । कुनै औपचारिक नियम कानून भन्दा हाम्रो समाज हाम्रै मूल्यमान्यता, संस्कृति र परम्पराहरु द्वारा संचालित छन् । प्रत्यक्ष रुपमा आर्थिक योगदान नदिएकै वा दिन नपाएकै कारण हजारौँ वर्षदेखि नारीहरुले पिता, पति वा छोराको रुपमा पुरुषकै आश्रयमा रहेको भ्रम चिर्न निति नियमभन्दा पनि फराकिलो सोच र सहि दृष्टिकोणको आवश्यकता छ ।

वर्तमान परिप्रेक्ष्यमा पुरुषको दाँजोमा नारी पिछडिएको, समाजले ठहराएको उच्च स्थानमा नारीको पहुँच कम भएको ठानेर नै सम्पूर्ण नारीहरुलाई उचित अवसर र सुविधा प्रदान गर्नको लागी राज्यले विशेष नारी अधिकारहरु दिएको छ । तर राज्यले घरघरमा गएर हरेक नारीहरुले राज्यले दिएका अधिकार र सुविधा उपभोग गर्न पाएका छन् वा छैनन् भनेर सुनिश्चत गर्न सक्दैन ।

जबसम्म नारीलाई हरेक पुरुषले र स्वयं नारीले पनि पूरुष समान मानव अस्तित्वको रुपमा स्वीकार्न सक्दैनन्, नारी अधिकार मात्र ले समानता ल्याउनै सक्दैन । र मानवको रुपमा दुवै जाति समान भएभने त्यँहा नारी अधिकारको आवश्यतकता नै पर्दैन ।

हाम्रो परम्परामा नारीलाई देवी समान मानिन्छ तर विडम्बना पुरुष समान मानिदैन । किनभने देवीलाई मन्दिरमा राखेर पूजा गर्न सजिलो छ उचित सम्मान र स्थान दिएर घरमा राख्न विशाल हृदय र ढृढता चाहिन्छ । बिहान बेलुकै राधेकृष्ण, गौरीशकंर, सीताराम, लक्ष्मीनारायण जप्ने हामी विवाह, ब्रतबन्ध वा कुनै पनि किसिमको सामाजिक कार्य गर्दा छापिने कार्डमा समेत कहिल्यै पनि नारीको नाम अगाडि लेखिन लायक ठान्दैनौँ, साहस गर्दैनौं वा इच्छा गर्दैनौँ ।

अञ्जनी पुत्र हनुमान, देवकीनन्दन कृष्ण, कुन्ति पुत्र अर्जुन तथा गंगा पुत्र भीष्म भनेर इतिहास सर्गव सम्झिरहँदा यहाँ आमाको नामबाट नागरिकता प्राप्त गर्न पनि सकिँदैन । आर्थिक योगदानको मात्र गणना गरिने हाम्रो समाजमा पूरुष समान अस्तित्व कायम गर्नको लागि आजका नारीहरु घरभित्रका कामकाजमा मात्र सीमित नभएर घर बाहिर पनि पुरुष समान काम गरिरहेका छन । घरको र बाहिरको कामको दोहोरो मारमा पिल्सिएर पनि आफूलाई प्रमाणित गरिरहेका छन । तर के नारीको वास्तविक सफलता पुरुष जस्तै वा पुरुष जत्तिकै काम गर्न सक्ने हुनुपर्ने हो त ? के नारीहरु प्रकृतिले दिएको आफ्नै मौलिक पहिचान, स्वरुप र अस्तित्वमा सम्मानिय छैनन ?

महाभारत हेरौँ वा रामायण इतिहास साक्षी छ, नारीको अपमान गरेर उनलाई तुच्छ ठानेर कुनै परिवार, समाज र राष्ट्र सुखी र समृद्ध हुन सकेको छैन । नारी र पुरुषलाई प्रकृतिले आ–आफ्नै पहिचान र महत्व दिएको छ । त्यसैले नारीलाई पुरुषको स्थान दिन आवश्यक छैन तर नारीलाई आफ्नै स्थान स–सम्मान दिन अत्यावश्यक छ । भौतिक विकासको हिसाबले होस तथा बौद्घिक ज्ञानको विकासको हिसाबले होस, हामी मानव इतिहासको स्वर्णिम युगमा छौं । विगतमा शिक्षाको कमी, चेतनाको कमी वा मानवताको कमीको कारण भएका असमझदारी र गल्तीहरु वर्तमानमा दोहो–याउन आवश्यक पर्दैन । प्राणी जगतमै सबैभन्दा चेतनशील र विवेकशील प्राणी हामीले अर्को मानवलाई समान देख्न र मान्न सकेनौँ भने यि सबै ज्ञान र चेतनाको भण्डारको के नै औचित्य रहन्छ र ???

जेठ १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्