शहरका ठूला अस्पतालमा कोरोनाको चाप, गाउँका स्वास्थ्य चौकीमा गर्भवती–सुत्केरीको लाइन

नेपालगञ्ज – नेपालगञ्जमा वैशाख ९ गते रातिदेखि नै निषेधाज्ञा लगाइयो । वैशाख १३ गते त्यसलाई फैलाएर जिल्लाभरि गरियो । त्यो निषेधाज्ञा अहिले पनि जारी छ ।

यो कोरोना कहरमा नेपालगञ्ज बजारदेखि अलिकति टाढा रहेको उदयपुर स्वास्थ्य चौकीमा सुत्केरीको लाइन नै लागेको तथ्यांकले देखाएको छ । नेपालगञ्जका ठूला अस्पतालमा कोरोना संक्रमितले भरिँदा गाउँको स्वास्थ्य चौकी गर्भवतीको रोजाई हुन पुगेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मै पर्ने उदयपुर पुरानो गाविस हो । नगरलाई उपमहानगरपालिका बनाउँदा यो गाविस नेपालगञ्जमा जोडिन आइपुग्यो । यहाँको स्वास्थ्य चौकीको तथ्यांक हेर्दा प्रस्तुति यो अब्बल देखिन्छ ।

कोरोना कहरमा दैनिक एकजना बढिले यहाँ बच्चा जन्माएका छन् । चैत्र महिनामा ४३, वैशाखमा ३१ जनाले बच्चा जन्माएका छन् । यो स्वास्थ्य चौकीमा अरु बेला पनि सुत्केरी हुन आउनको लाइन नै लाग्ने गरेको कर्मचारीहरु बताउँछन् ।

जेठ ९ गतेको तथ्यांक यस्तो थियो । साँझ ५ बजेर ५६ मिनेट जादा गोसाईगुरुवाकी संगीता कोरीले छोरा जन्माइन् । बाबुगाउँकी सरोनी कनोजियाको राति ११ बजे १८ मिनेटमा छोरा जन्मियो । राति १२ः५४ बजे लोनियनपुरकी पूजा चौहानले छोरी जन्माइन् ।

भोलिपल्ट अपरान्ह ४ः४५ बजे गौरीपुरुवाकी सुनिता चौहानले छोरा जन्माइन् । सोही बेलुका ६ बजेर ३० मिनेटमा बालेगाउँकी निर्मला बढैले छोरी जन्माइन् । बेलुका ७ः२० बजे लोनियनपुरकी गीता लोनियाको छोरी जन्मियो ।

स्वास्थ्य चौकीले वर्षमा एक सय ६२ जनाको सुत्केरी गराउने लक्ष्य निर्धारण गरेको छ । चालु आर्थिक वर्षको जेठ १० गतेसम्ममा ५ सय ३१ जना सुत्केरी भइसकेको स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर केसीले जानकारी दिए । यो स्वास्थ्य चौकीमा वर्षेनी सुत्केरी हुनेको संख्या बढ्दै गएको देखिन्छ । यहाँ आर्थिक वर्ष ०७५/७६ मा ३ सय ५ जना र ०७६/७७ मा ४ सय ५५ जना सुत्केरी भएका थिए ।

सुत्केरी हुने महिलाको चाप बढ्दो रहेकाले उदयपुरमा अनमीहरुलाई डे–नाइट ड्युटीमा राखिएको छ । स्वास्थ्य चौकीमा तीनजना नर्सिङ कर्मचारी (दुई जना सिनियर अनमी र एकजना अनमी) कार्यरत छन् । उनीहरु सधैँजसो व्यस्त हुने गर्दछन् । तीनजनामा पाँच–पाँच दिनको रोटेसन मिलाइएको छ । धेरै जना एकै दिन आउँदा तीनैजना खटिन्छन् ।

उदयपुर स्वास्थ्य चौकीमा ७५ प्रतिशत बाहिरी वडाबाट सुत्केरी हुन आउँछन् । स्वास्थ्य चौकीका प्रमुख केसीका अनुसार, हिरमिनिया, बेतहनी, पुरैना, पुरैनी, जयसपुर, भवानीयापुर, पिप्रहवा, परसपुर र केही बाहिरी जिल्लाबाट समेत आएका छन् । स्वास्थ्य चौकीमा अप्रेसनको सुविधा छैन । अप्रेसन गर्नुपर्नेलाई भेरी अस्पतालमा पठाउने गरिन्छ । सिनियर अनमी प्रेमकुमारी विसीले स्वास्थ्य चौकीमा आएका ज्ञण् प्रतिशत रिफर हुने जानकारी दिइन् ।

स्वास्थ्य चौकीमा डेलिभेरी बेड दुईवटा छ । सुत्केरी भएपछि राख्ने तीनवटा बेड छन् । धेरै जना सुत्केरी हुँदा राख्ने बेडको समस्या हुने गर्दछ ।

उदयपुरमा नियमित गर्भवती जाँचको अवस्था पनि राम्रो देखिन्छ । गर्भ जाँचका लागि पनि वार्षिक तारगेट एक सय ६२ जना छन् । चालु आर्थिक वर्षको वैशाखसम्ममा नियमित गर्भजाँच गर्ने एक सय ६१ जना छन् । आर्थिक वर्ष ०७६/७७ मा २ सय ३५ र ०७५/७६ मा एक सय ७९ जनाले नियमित गर्भ जाँच गरेका थिए ।

अझ खुशीको कुरा त वडा नम्बर १३ मा पछिल्लो तीन वर्षमा मातृ मृत्यु भएको छैन । बाँकेमा गर्भवती सुत्केरीको मृत्युदर धेरै रहदा वडा नं. १३ मा पछिल्लो तीन वर्षमा कसैको ज्यान नगएको स्वास्थ्य चौकीका प्रमुख केसीले बताए । स्वास्थ्य चौकीका प्रमुख केसीका अनुसार, वडामा अस्थायी साधन प्रयोग गर्ने ३३ प्रतिशत रहेका छन् ।

स्वास्थ्य चौकीले अस्पताल बराबरको सुविधा दिनुमा वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको ठूलो हात रहेको छ । वडाध्यक्ष शाहले बर्थिङ सेन्टरका लागि विशेष फोकस गरेर बजेट छुट्याइदिने गरेका छन् । बर्थिङ्ग सेन्टरका लागि औषधि खरिद गर्न वडाले प्रत्येक वर्ष डेढ लाख रुपैयाँ छुट्याउँदै आएको छ । बर्थिङ्ग सेन्टरका लागि सामान खरिद गर्न ५० हजार दिने गरेको छ ।

६० हजारमा खानेपानी फिल्टर, प्रिन्टर खरिद, सोलार प्लान्ट वडाले गरिदिएको छ । पूर्ण खोपका लागि प्रत्येक वर्ष ५० हजार रुपैयाँ दिँदै आएको छ । वडाध्यक्ष शाहले अस्पतालको सरह नै सुविधा दिइरहेको उदयपुर स्वास्थ्य चौकीलाई वडाले प्राथमिकतामा राखेर बजेट दिने गरेको बताए ।

आव ०७५/७६ मा उदयपुर स्वास्थ्य चौकीलाई नेपालगञ्ज उपमहानगरपालिकाले उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा सम्मान गरेको थियो ।

जेठ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्