सम्झनामा उज्वल थापा : ‘विवेकशील नेपाली’ अभियानमा जुटेको एक ‘विवेकशील नेपाली’

काठमाडौं- न कुनै प्रचार, न त कुनै पदको लोभ। मूलधारको राजनीतिले बहुदलीय व्यवस्थाको स्वाद लिइरहेका बेला उज्वल थापा बौद्धिक युवा वर्गलाई ‘कन्भिन्स गर्दै’ सडक तताइरहेका थिए- भष्ट्राचार र अनियमिताविरुद्ध।

उनीहरुका आन्दोलन र विरोधका विषयहरु विल्कुल फरक देखिन्थे, कुनै राजनीतिक दलको विद्यार्थी वा युवा संगठनभन्दा। उनले नेतृत्व गरेको समूह ‘म एक विवेकशील नागरिक’को भावमा सडकमा उत्रिरहन्थ्यो। विवेकशील नेपाली समूहका रुपमा शहरका चोक-चोकहरुमा परिचित थिए। राजनीतिक दलहरुले गर्ने नियमितजसो नेपाल बन्दविरुद्ध उनीहरु अभियान नै चलाउँथे, ‘हैन नेपाल खुल्ला छ।’ संविधान सभाले संविधान निर्माण गर्न ढिला गरिरहेका बेला ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्दै विवेकशील समूहले दैनिकजसो माइतीघरलगायत क्षेत्रमा दबाब दिइरहन्थे।

डा.गोविन्द केसीले गरेका हरेक अनसनसामु सरकारलाई घुँडा टेकाउन विवेकशील नेपाली लागिरहन्थ्यो। ‘परिवर्तनका लागि हामी नेपाली एक’ वा ‘नेपाल युनाइट्स’जस्ता नागरिक अभियानमार्फत विभिन्न क्षेत्रका सामाजिक अगुवा र गैरराजनीतिक युवाहरुलाई एक ठाउँमाम ल्याइरहन्थे । हरेक क्षेत्रमा राजनीतिको गहिरो प्रभाव रहेको नेपाली समाजसामू उज्वलको यी अभियान विल्कुल अनौठा देखिन्थे।

उनी भन्थे नै, ‘म भागवत् गीतामा भने झैँ ‘कर्मयोगी’ हुनुमा पूर्ण विश्वास गर्छु। मलाई चाहिँ अलि गाह्रो कर्म दिएको जस्तो लाग्छ भगवानले। मेरो कर्म चाहिँ अरुको दिमाग घोची राख्ने, अंग्रेजीमा “प्रोभोक गर्ने” भन्छन् क्यार यसलाई। ‘अहिले नगरे कहिले, हामीले नगरे कस्ले’ म सबैलाई यही भन्छु र देखाएर धकेल्छु।’

सामाजिक मुद्दाहरुमा उज्वल नेतृत्वको समूह आन्दोलिन हुन्थ्यो। विस्तारै  उनले दबाब समूहबाट राजनीतिमा  आउनुको विकल्प देखेनन्।

‘ अब बोल्ने दिन गए, गर्ने दिन आए नेपालमा। त्यही अनुरुप म अगाडि बढ्दै छु आफु ‘नेपाली भन्नलाई होइन, नेपाली बन्नलाई!’ बारम्बार दोहोर्‍याइरहने थापाले आफ्नो ब्लग ह्वाईनेपाल डटकममा केही वर्ष पहिला लेखेका छन्, ‘ अहिले नेपालको यो गाह्रो परिस्थितिमा म नेपालीहरुलाई कसरी एक बनाई देशलाई संमृद्ध बनाउनको निमित्त राजनीतिबाटै नेपालीहरुलाई निकास दिनुपर्छ भनेर “विवेकशील नेपाली ” नामक नवीन राजनितिक शक्ति बनाउन कम्मर कसेको छु, सयौँ सक्षम युवा तथा अग्रज साथीहरु सँग मिलेर।’

उनी भन्थे नै, ‘म भागवत् गीतामा भने झैँ ‘कर्मयोगी’ हुनुमा पूर्ण विश्वास गर्छु। मलाई चाहिँ अलि गाह्रो कर्म दिएको जस्तो लाग्छ भगवानले। मेरो कर्म चाहिँ अरुको दिमाग घोची राख्ने, अंग्रेजीमा “प्रोभोक गर्ने” भन्छन् क्यार यसलाई। ‘अहिले नगरे कहिले, हामीले नगरे कस्ले’ म सबैलाई यही भन्छु र देखाएर धकेल्छु।’

तर राजनीतिमा बामे मात्र सर्दासर्दैको अवस्थामा थापाको  थापाको मंगलबार ४४ वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमणले शरीरका अंगहरु फेल भएपछि अत्याधुनिक प्रविधिबाट मेडिसिटी अस्पतालमा गएको शुक्रबारदेखि उनको उपचार भइरहेको थियो। उनलाई ह्याम्स र ग्रान्डी हुँदै मेडिसिटीमा शुक्रबार बिहान भर्ना गरिएको समाचार केही बेरमा भाइरल बनेको थियो। उनको उपचारका लागि सुरु गरिएको सहयोग अभियानमा २४ घण्टामै ५० लाख रुपैयाँभन्दा बढी उठेको थियो।

‘देशमा केही गरौँ भन्ने हुटहुटीले भरिएका असल मानिस हुन्, उज्वल थापा। आज कोभिडसित जुधिरहेका छन्। शिघ्र स्वास्थ्य लाभको कामना’, त्यसै दिन साहित्यकार बुद्धिसागरले लेखेका थिए। थापाको मृत्युको खबरपछि पनि बुद्धिसागरको स्टाटस आएको छ। लेख्छन्- उज्वल थापाप्रति हार्दिक श्रद्धान्जली। जे भयो, धेरै चाँडो नै भयो भन्ने पीडा त भैरहने छ। र हेरिने पनि छ-जिवन कति लामो वा छोटो बाँचियो भन्दापनि कति अर्थपूर्ण बाँचियो! तपाईको अर्थपूर्ण जीवनलाई सलाम।’

बुढानिलकण्ठ स्कुल पढेका थापा एस्ट्रो फिजिक्स पढ्न अमेरिका पुगेका थिए, छात्रवृत्तिसहित। तर समयक्रममा भौतिकवादी जीवनबाट दिक्क लागेर उनी अमेरिकामै बौद्ध भिक्षु बन्न हिँडेका थिए। पछि उनले बौद्ध दर्शनबाट प्रभावित भएर सादा जीवन बाच्ने अठोट लिए। ५ वर्ष अमेरिका बसेपछि वाक्क लागेर आफू नेपाल फर्किएको ब्लगमा उल्लेख गरेका छन्। नेपाल आएर उनले सूचना प्रविधिसँग सम्बन्धित उद्यम सुरु गरे।

विभिन्न अभियानमा संलग्न भएपछि उनले परिवर्तनका लागि राजनीतिमा आउनुको विकल्प देखेनन्। दोस्रो संविधान सभा निर्वाचमा स्वतन्त्र उमेद्वार भएर लडेका थिए। त्यतिबेला चुनावी अभियानमा उनले फरक राजनीतिक संस्कार देखाएका थिए। विवेकशील पार्टी दर्ता गरेर उनी अध्यक्ष भए। पछि आफ्नोजस्तै वैकल्पिक राजनीतिक शक्तिका लागि लडिरहेको रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो।

एकीकृत पार्टीमा दुवै जना मिश्र र थापा संयोजक बसे। अघिल्लो आम निर्वाचनमा विवेकशील साझाको राजनीतिक अभियान उदाहरणीय थियो। उनीहरुले प्रचार प्रसारका लागि प्रविधिको प्रयोग गरेका थिए भने चुनावमा भएको खर्च पनि सार्वजनिक गरेका थिए। चुनावमा जनता वैकल्पिक शक्तितर्फ देखिएनन्। पछि साझा र विवेकशील फुटे। पछि फेरि एकिकृत हुँदा विवेकशीलको नेतृत्व उज्वलले मिलन पाण्डेलाई सुम्पिए। उनी राजनीतिमा युवा अघि सर्नुपर्छ र प्राथमिकता दिइनुपर्छ भनेर अन्य राजीतिक दलहरुलाई समेत आग्रह गरिरहन्थे। अन्य दलका युवा नेतामाझ पनि उनको प्रभाव राम्रो बलियो थियो।

‘आदरणीय उज्वलजी, शिघ्र स्वास्थ्य लाभको कामना। भिन्न ठाउँमा रहेर पनि राजनीतिमा परिवर्तन र देशको नवनिर्माणको मुद्धामा अभिन्न मानसिकता क्रमश बलियो बन्ने छ। भगवानसँग प्रार्थना छ- मृत्युलाई जितेर उठ्नु हुने अनि जीवनको संवादलाई हामी घनिभंत बनाउने छौँ’, थापा गम्भीर रहेको थाहा पाएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लेखेका थिए। उज्वलकै शब्दमा उनलाई कसैले यसो गर, उसो गर, यता जा, उता जा, यता हिँड, उता हिँड, उता नहिँड भनेको पटक्कै मन पर्दैन थियो। उनलाई जे सही लाग्थ्यो, त्यसलाई कसैको पनि वादले प्रभावित पार्न सक्दैन थियो। उज्वल विवेकशील हुनुपर्छ भन्थे।

उनको मान्यता थियो, ‘हामीले यो धर्तीमा आएपछि केही गरेरै जानै पर्छ। हामी हरेकले आ-आफ्नै एउटा विशेष कर्तव्य बोकेर आएको हुन्छौँ। यदि त्यसो गरेनौँ भने जिन्दगी अधुरै भएर भौतारिदैँ हिड्छौँ।’ अब उज्वलले कति गरे, त्यसको मूल्यांकन गर्ने र सम्मान गर्ने जिम्मा युवा पिँढीको हुने छ जसलाई उनले सँधै अघि सारिरहे।

जेठ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्