कमला नदीको जोखिम नियन्त्रणका लागि गरेको कामको भुक्तानी नदिएको भन्दै धर्ना

जनकपुरधाम– कमला नदी नियन्त्रणका लागि गरेको कामको भुक्तानी नदिएको भन्दै विभिन्न उपभोक्ता समितिहरुले आन्दोलन थालेका छन्।

वर्षातको समयमा कमला नदीको बाढीले क्षति पुर्‍याउन थालेपछि त्यसको नियन्त्रणका लागि विभिन्न उपभोक्ता समितिहरुले काम गरेका छन् । तर त्यसको भुक्तानी नभएपछि उनीहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय अगाडि धर्ना दिएका हुन्।

धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका कामहरुको भुक्तानी हुन सकेको छैन। भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन्।

एक उपभोक्ता समितिका अध्यक्ष पुष्पेन्द्र कुसियौतले काम गरिसके पनि कार्यालयले भुक्तानी गर्न नमानेपछि आफूहरुलाई बाध्य भएर धर्नामा बसेको बताए। उनले कार्यालयकै विश्वासको भरमा विना करार आफूहरुले काम गरेकाले यस्तो अवस्थाको सिर्जना भएको बताए।

कमला नदीका कारण आउने बाढीको जोखिम न्यूनीकरणका लागि तीनै जिल्लाको हथमुण्डा, हरिने, दूधौली, डकाहा, चिकना, पटेर्वा, निदैना, बन्दीपुर, चिसापानी लगायतका स्थानमा तटबन्ध निर्माण, तारजाली लगाउने लगायतका कार्यहरु गरिएको छ।

यता कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराइले अर्थ मन्त्रालयले ढिलो गरेर कार्यक्रमको स्वीकृति दिएका कारण भुक्तानीमा केही ढिलाई हुने बताए।

उनले जलश्रोत तथा सिँचाईं विभाग र उर्जा जलश्रोत तथा सिँचाईं मन्त्रालयले माघ महिनामै कार्यक्रम स्वीकृतिका लागि भनेपनि वैशाख १० गते मात्रै अर्थ मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएकाले भुक्तानीका लागि केही कुर्नैपर्ने स्थिति रहेको बताए।

जेठ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्