स्वास्थ्यकर्मीले सहनु सहिसके, अझै कति सहनु?

कोरोनो भाइरसको महामारी विश्वभरि फैलिएपछि हामीले तेस्रो विश्वयुद्धको जस्तो अनुभव गरिरहेका छौं। अहिले विश्व कोरोनाविरुद्धको युद्धमा छ। कोरोना भाइरस नाम गरेको अदृश्य शक्तिसँग लडिरहेका छौं हामी।

अरु युद्धमा जस्तो अग्रपंक्तिमा सेना गएर लडेको छैन, यस युद्धका लडाकु नर्सहरू, चिकित्सक, जनस्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मी छन्।

नेपालमा पनि कोभिड १९ को महामारी सुरु भएदेखि नै अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले लडिरहेका छन्। अरु लडाइँ भएको भए गोला, बारुद, तोप, तालिम सबै चिज हुन्थ्यो। यो कोभिड भन्ने अदृश्य भाइरससँग लड्न सुरुमा त कतिपय स्वास्थ्यकर्मीले मास्क, पन्जा, गाउनजस्ता आधारभूत पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) पनि पाएनन्।

विस्तारै ती पीपीईको आपूर्ति त हुन थाल्यो तर पीपीई लगाएर कम्तीमा पनि ८ देखि १२ घण्टा काम गर्नु असामान्य कुरा थियो। पीपीईको गाउन भनेको बड सिल्डजस्तै हुन्छ, जसमा भाइरस नछिरोस् भनेर सबैतिर सिल्ड गरेको हुन्छ। त्यो लुगा लगाउँदा पिसाब फेर्न पनि असहज हुन्छ वा भनौं दिसा–पिसाब गर्न जानै नमिल्ने पनि सक्छ।

सुनिन्छ, कतिपय स्वास्थ्यकर्मीले त डाइपर लगाएर ड्युटीमा खटिरहे। यसरी स्वास्थ्यकर्मीले कोरोनासँग लड्ने स्रोत–साधनको अभावमा कार्यक्षेत्रमा धेरै चुनौती भोगे।

उनीहरूको संघर्ष समुदायस्तरमा पनि भयो। नेपाली समाजले एकातिर स्वास्थ्यकर्मीलाई अग्रपंक्तिका लडाकु भनेर प्रशंसा त गरे तर आफ्नो घर, टोलमा स्वास्थ्यकर्मी नबसे हुन्थ्योजस्तो व्यवहार पनि देखाए। कतिपय ठाउँमा त मानिस एकजुट भएर स्वास्थ्यकर्मी बसेको घर खाली गर्नसमेत लागिपरे। एकातिर समाजमा मानिस त्रसित भएको कुरालाई नकार्न त सकिँदैन तर यसले स्वास्थ्यकर्मीको मनोबल निकै गिराएको थियो।

वास्तवमा कोरोनाको महामारी चलिरहँदा, हामीजस्ता आम मानिस लकडाउनमा बोर भएर घर बसिरहँदा, नर्स र चिकित्सकले सुरक्षित वासस्थान पाउन पनि संघर्ष गर्नुपर्‍यो।

अस्पतालको जागिर खाएपछि आफ्नो ड्युटी त गर्नै पर्‍यो, त्यसको कुनै विकल्प नै हुँदैन। अझ आफ्ना सहकर्मी साथीहरू कोरोना पोजिटिभ देखिएर क्वारेन्टाइनमा बस्न थालेपछि, अस्पतालमा काम गर्ने जनशक्तिको अभाव हुन थाल्यो।

फलस्वरूप, अस्पतालको ड्युटी झन्झन् लम्बिन थाल्यो। एकातिर लामो ड्युटी, अर्कोतिर खान न पिउन पाउनुको अवस्था, असुरक्षित वासस्थान, उपचारका लागि आवश्यक सामानको अभाव, बिरामीको अनगिन्ती प्रश्नहरूको ओइरो, वास्तवमा स्वास्थ्यकर्मीले कार्यक्षेत्रमा सहनुसम्म सहे।

कोरोनाको महामारीले स्वास्थ्यकर्मीको परिवारमा समेत उथलपुथलको अवस्था आयो। स्वास्थ्यकर्मीहरू भनेका पनि मानिस हुन्। उनीहरूको पनि परिवार हुन्छ। परिवारमा बूढाबूढी, बच्चाबच्ची पनि हुन्छन्। आफ्नो कारणले सबैलाई जोखिममा राख्ने कुरा पनि आएन भने जोखिम न्यूनीकरणका लागि उपाय पनि भएन। कतिपय स्वास्थ्यकर्मीका कारणले उहाँहरूको घरपरिवारमा सबैलाई कोरोना भइदियो।

त्यस्तो बेला को कहाँ क्वारेन्टाइन बस्ने, कसले कसलाई स्याहार्ने, बालबालिका कता सुरक्षित ठाउँमा लैजाने, ज्येष्ठ परिवारका सदस्यहरूलाई के गर्ने, भोग्नुसम्म आपत भोगे।

कतिपय स्वास्थ्यकर्मी त हस्पिटलको हस्पिटल नै बसे। मेरो आफ्नै श्रीमान् पनि एक चिकित्सक भएको कारणले हामीले पनि शुरु देखि नै डर, भय, त्रास, मानसिक तनाव भोग्यौं।

नेपालमा कोरोना महामारी २०७७ सालकोे फागुनदेखि सुरु भएको हो। त्यसबेलादेखि नै बच्चा तथा आमाबुबाको सुरक्षाका लागि मेरा श्रीमान् अस्पतालको क्वाटरमै बस्नुभयो।

महामारीको सुरुवाती अवस्थामा अहिलेको जस्तो भयावह अवस्था त थिएन। तर, चाइना, इटाली, अमेरिका, युकेजस्ता देशको समाचार देख्दा धेरै डर लाग्थ्यो।

व्यक्तिगत रूपमा चाइनाको एक घटना देखेर मलाई गहिरो मानसिक आघात पुगेको थियो। त्यहाँ कोरोना अस्पतालका एक निर्देशक चिकित्सकको कोरोनाका कारणले नै मृत्यु भयो। उनको लासलाई उनका परिवारले छुन, हेर्न नपाउने भयो। उनको शव अस्पतालबाट शव बाहनमा राखेर निकालिँदै थियो र त्यसबखत उनकी श्रीमती गाडीको पछि–पछि दगुरेर रुँदै थिइन्।

नराम्रो त कसैले सोच्नुहुँदैन तर मलाई मेरो श्रीमान्लाई पनि केही हुने हो कि भन्ने चिन्ता थियो। एक हिसाबले त मैले अकल्पनीय कुराको कल्पना गरेर धेरै रात अनिँदो बसेँ। कसैले नदेख्ने गरी धेरै पटक रोएँ।

कोरोनाको खोप र ईश्वरको कृपाले मेरा श्रीमान् अहिलेसम्म त सकुशल नै हुनुहुन्छ तर कतिपय नर्स, चिकित्सक र अस्पतालका सफाइका कर्मचारीले अरुको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाउन पुगे।

त्यसैगरी, अहिले पनि सम्झिँदा मनै कटक्क हुने घटना २०७७ सालको बुवाको मुख हेर्ने दिन भएको थियो। त्यो बेला मेरो श्रीमान् आफ्नो पिताजीको मन राख्न गाउँको घर जानुभएको थियो। उहाँले घरबाहिरबाटै सामाजिक दूरी कायम गर्दै आफ्नो बुवाको मुख हेरेर आउनुभएको थियो।

बुबाको मुख हेर्ने दिन छोरो घर आएर पनि घरभित्र नपसेको र पानी पनि नखाई फर्केको अवस्थाले उहाँको मातापितालाई झनै चिन्तित बनाएको थियो।

पछि मलाई फोन गरेर छोरालाई कोरोना भन्ने रोग लागिसकेको हो कि भनेर सोध्नुभयो। मैले होइन आमा हजुरहरूको छोरा अस्पतालमा काम गर्ने भएकाले, हजुरहरूलाई रोग नसरोस् भनेर घरभित्र नपसेको भनी सम्झाएँ।

बुवाकै मुख हेर्ने दिन मेरा श्रीमान् हाम्री छोरीलाई भेट्न हामी बसेको ठाउँमा पनि आउनुभयो। हामीले परैबाट उहाँलाई हेर्‍यौँ र गफ गर्यौं। छोरीले टाढाबाटै पापा ‘आई लभ यु, ह्याप्पी फादर्स डे, आई एम सो प्राउड अफ यू’ भनिन्। बाबा र छोरीलाई हेरेर मैले आँसु रोक्न सकिनँ। कोरोनाको त्रास यस्तो थियो कि न मैले श्रीमान्‌लाई छुन सकेँ, न त छोरीले आफ्नो बाबालाई, न त उनले हामीलाई नै।

बुवाकै मुख हेर्ने दिन मेरा श्रीमान् हाम्री छोरीलाई भेट्न हामी बसेको ठाउँमा पनि आउनुभयो। हामीले परैबाट उहाँलाई हेर्‍यौँ र गफ गर्यौं। छोरीले टाढाबाटै पापा ‘आई लभ यु, ह्याप्पी फादर्स डे, आई एम सो प्राउड अफ यू’ भनिन्। बाबा र छोरीलाई हेरेर मैले आँसु रोक्न सकिनँ। कोरोनाको त्रास यस्तो थियो कि न मैले श्रीमान्‌लाई छुन सकेँ, न त छोरीले आफ्नो बाबालाई, न त उनले हामीलाई नै।

कोरोनाको महामारी रोकिएला कि भनेर आशा गर्दा हरेक पटक हामीलाई निराशा हात परेको छ। अब त कोरोना थामिन्छ कि भन्यो अर्को लकडाउन हुन्छ। अब त सक्कियो कि कोरोना भन्यो, फेरि नयाँ भेरियन्टसहित दोस्रो लहर आयो भन्छ। फेरि लकडाउन। हामी त लकडाउन भनेर थपक्क घरमा बसेका छौं, डाक्टर नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई त जहाँ कोरोना छ त्यहीँ जानीजानी जानुपरेको छ।

कोरोना व्यवस्थापनमा नेपाल सरकारको व्यवस्थापन एकदम कमजोर भएको हामी सबैले महसुस गरेका छौं। यो कमजोर तयारी र व्यवस्थापनको मारमा सबैभन्दा धेरै समस्या स्वास्थ्यकर्मीले नै भोग्नुपरेको छ।

पहिलो लहरमा कोरोना भाइरसले हामीलाई चिमोटेर नगएको होइन तर हामी बेसारपानी, नेपालीको गरम मसला खाने बानी भन्दै कोरोनालाई जित्छ भन्ने भ्रममा रह्यौँ। कोरोना भाइरस हामीभन्दा धेरै बाठो रहेछ, ऊ हाम्रो बेसारपानी खाने बानीलाई चिनेर सोहीअनुसारको तयारीसाथ दोस्रो लहर लिएर आयो।

अब त घरघरमा कि त रोग लागेको मानिस छ, कि त खोप लगाएको मानिस छ। हरेक टोलमा कम्तीमा पनि दुईतीन जना टोलवासीको कोरोनाको कारणले मृत्यु भइसकेको छ। कोरोनाले यसरी धमाधम मानिसलाई मार्दै गयो कि, यो बूढाबूढीलाई मात्र लाग्ने रोग हो भन्ने भ्रम पनि छताछुल्ल भइसकेको छ।

कोरोनाले गर्दा को को मर्‍यो को को ? कोरोनाले नाम चलेका, नाम नचलेका, राजनीतिज्ञ, कलाकार, युवा कसैलाई पनि छाडेन। यो कोरोनाको ताण्डव मच्चिरहँदा अग्रपंक्तिमा रहेर नामगुमनाम स्वास्थ्यकर्मीहरू लडिरहे।

कोरोनाविरुद्ध जसरी आमनेपाली लडिरहेका छौं, हामीले लडेको लडाइँ र स्वास्थ्यकर्मीले लडेको लडाइँ एकदम फरक छ। हामीले लडेभन्दा धेरै चर्को लडाइँ हाम्रा लागि, कतिपय अवस्थामा त हाम्रो आफ्नै लापरवाहीले गर्दा स्वास्थ्यकर्मीहरू लडिरहेका छन्। अबचाहिँ यस्तो अवस्था छ कि अक्सिजन छैन, अस्पतालमा बेड छैन, भेन्टिलेटर छैन, आईसीयू खाली छैन र संक्रमितहरू बढिरहेका छन्। हुँदाहुँदा राजनीतिक रूपमा पनि देश उथलपुथल छ। देशमा सर्वसाधारणका लागि कहिले खोप आइपुग्ने हो भन्ने प्रश्न सबैको मनमा छ। यी सब अभावको प्रभाव स्वास्थ्यकर्मीले नै भोग्नुपरेको छ।

हाम्रो बिरामीले अक्सिजन पाएन, बेड पाएन भने हामी आफ्नो रिस चिन्ता स्वास्थ्यकर्मीलाई नै पोख्न खोज्छौं। तर, यो गलत हो। अस्पतालमा सामान नहुनु स्वास्थ्यकर्मीको दोष होइन। अस्पतालमा आवश्यक सम्पूर्ण सामान व्यवस्था गर्नु अस्पतालको प्रशासन र राज्यको काम हो। यसको जिम्मा स्वास्थ्यकर्मीले लिन सक्दैन। हामीले के बुझ्नुपर्छ भने हाम्रा स्वास्थ्यकर्मी अहिलेको अवस्थामा न्यूनतम स्रोत–साधनका भरमा कोरोनासँग लड्न बाध्य भइरहेका छन्।

त्यसमाथि पनि ‘जहाँ गाह्रो, त्यहाँ साह्रो’ भनेजस्तै, यस्तो चुनौतीपूर्ण घडीमा स्वास्थ्यकर्मीले अस्पतालमा गुण्डाहरूसँग पनि लड्नु, भिड्नु र भाग्नु परिरहेको छ।

पछिल्लो पटक भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला अत्यन्तै निन्दनीय गुण्डागर्डी हो। कोरोना महामारीमा अहोरात्र बिरामीको सेवामा खटिरहने स्वास्थ्यकर्मीलाई यसरी एउटा सामाजिक तथा राजनीतिक पद बहन गरेर बसेका जिम्मेवार व्यक्तिबाट ज्यानै मार्ने उद्देश्यले हमला गर्नु लज्जास्पद कुरा हो।

हुन त अहिले स्वास्थ्यकर्मी एकजुट भएर न्याय माग गर्दै छन् तर न्याय अस्पतालको प्रांगणको जुलुसमा मात्र सीमित हुने हो कि भन्ने डर पनि छ।

यो घटना न्यायहीनताको एउटा उदाहरणको रूपमा फासफुस भएर नजाओस् र दोषीले कारबाही पाओस् भन्ने कुरामा सबै क्षेत्रबाट एकजुट हुनु जरुरी छ।

यस्ता हिंसात्मक गतिविधि गरिसकेपछि पीडकले पीडितलाई नै दोष लगाउने, आफूले गरेका हिंसात्मक गतिविधिलाई सामान्यीकरण गरिदिने र कानुनी रूपमा जवाफदेही हुनबाट जोगिन माथिसम्मको पावर लगाउने प्रयास हुन सक्छ। यो घटना भइरहँदा राष्ट्रपतिबाट ‘भावनात्मक उत्तेजना’ भन्दै आशयको जुन ट्विट प्रेषित भयो, त्यसले स्वास्थ्यकर्मीको मनोबल गिरेको छ।

जे–जस्तो चुनौती आए पनि स्वास्थ्यकर्मीले र हामी जस्ता आमजनताले पनि न्यायका लागि लड्न छाड्नुहुँदैन। यस घटनामा अपराधीले दण्ड सजाय पाएन भने यस्ता हिंसात्मक गतिविधि अब आउने दिनमा बढ्दै जाने सम्भावना हुन्छ।

अर्को कुरा, यो घटनाको प्रकृति हेर्दा घटना अकस्मात घटेको होइन। बिरामी कुरुवाले स्वास्थ्यकर्मीलाई सुरुदेखि नै तर्साएको, धम्क्याएको, र दबाबमा राखेको प्रस्ट देखिन्छ। यो कुराको जानकारी ड्युटीका सिनियर तथा इञ्चार्ज नर्स ज्यूले प्रशासनसमक्ष जानकारी दिएको पनि प्रस्ट छ।

यति सबै हुँदाहुँदै पनि अस्पताल प्रशासन गैरजिम्मेवार रहेको कुरालाई हामी नजरअन्दाज गर्न सक्दैनौँ। यदि अस्पताल प्रशासनले जोखिमको सुइँको पाउनेबित्तिकै स्थानीय सुरक्षा निकायलाई हारगुहार गरी उचित सुरक्षाको व्यवस्था गरेको भए त्यस्तो दुर्घटनाको रोकथाम हुन सक्थ्यो।

यो घटनाबाट अन्य अस्पतालले पनि समयमै शिक्षा लिनु जरुरी छ। अस्पतालका प्रशासनले यस्ता अप्रिय घटना न्यूनीकरणका लागि आफ्ना स्वास्थ्यकर्मीलाई हिंसात्मक गतिविधिको अविलम्ब पहिचान गर्ने, कहाँ कसलाई कसरी सुरक्षाको सहयोग माग्ने भन्ने विषयमा तालिम दिनु जरुरी छ।

सुरक्षाका सिलसिलामा स्वास्थ्यकर्मीका लागि म एउटा कुरा प्रस्ताव गर्न चाहन्छु। कृपया तपाईंलाई ड्युटीमा असुरक्षा महसुस हुन्छ भने १०० नम्बरमा फोन गरी पुलिसलाई समयमै जानकारी गराउनुस्। यदि, तपाईंलाई कसैले धम्की दिएको छ भने अस्पतालले के गर्छ भनेर मुख ताकेर नबस्नुस्। आफैँले नजिकैको सुरक्षा निकायमा गएर वा सिडिओ कार्यालयमा गएर शान्ति सुरक्षा गरिपाऊँ भनी निवेदन दिनुहोस्।

यसो गर्दा तपाईंहरूलाई कतै मैले आफ्नो अस्पतालको लाइन अफ कन्ट्रोल क्रस गरें कि भनेर लाग्न सक्छ तर जे जस्तो भए पनि कार्यक्षेत्रमा सुरक्षित हुन पाउनु तपाईंको आधारभूत मानवअधिकार हो। तपाईंलाई सुरक्षा दिन नसक्नु तपाईंले काम गर्दै गरेको संस्थाको कमजोरी हो।

त्यसैगरी, आफूले आफूलाई भीआईपी हुँ भनेर सोच्ने मनस्थितिलाई पनि म के निवेदन गर्न चाहन्छु भने, यो अस्पताल भनेको सामाजिक संस्था हो। अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीले तपाईंहरूलाई चिन्नै पर्छ भन्ने कुनै जरुरी छैन। त्यहाँ सबैलाई समान व्यवहार हुनुपर्छ। पहुँचवाला मानिसले स्वास्थ्यसेवाका लागि भनसुन गर्ने प्रवृत्तिले बढावा पायो भने हामीजस्ता आम मानिसको स्वास्थ्य क्षेत्रप्रति विश्वास टुट्नेछ। म प्रार्थना गर्न चाहन्छु कि यस्तो दिन नेपालमा नआओस्।

अन्त्यमा, कोरोना संकटको यो घडीमा सबै नेपालीले स्वास्थ्यकर्मीलाई सम्मान गरौं भनेर मात्र पुग्दैन। उहाँहरूको सम्मानमा ताली बजाएर मात्र पनि पुग्दैन। आउनुस् आज हामी सबैजना मिलेर उहाँहरूलाई बुझ्ने र उहाँहरूको कुरा सुनिदिने संकल्प गरौं। कोरोना महामारीको यस युद्धकालमा हाम्रा निम्ति आफ्नै ज्यान बाजी थापेर अग्रपंक्तिमा रही स्वास्थ्य सेवा दिइरहनुहने सम्पूर्ण स्वास्थ्यकर्मीलाई हाम्रो हृदयदेखि नमन छ।

एक –दुई जना आपराधिक पृष्ठभूमि भएका र राजनीतिक आधार पाएर गुण्डागर्दी गर्न पल्केका मानिसका कारण तपाईंहरू निरुत्साहित नहुनुुस्। करोडौं नेपाली मन तपाईंहरूप्रति कृतज्ञ छ।

सम्पूर्ण नर्स, चिकित्सक, अन्य स्वास्थ्यकर्मी र अस्पतालमा सहायकका रूपमा काम गर्ने सरसफाइका कर्मचारी, सुरक्षा गार्ड र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अग्रपंक्तिमा रहेर कोरोनाविरुद्ध लडिरहने सम्पूर्ण महानुभावको जय होस्।

जेठ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्