जम्मू–कश्मीरमा भाजपा नेताको चरमपन्थीले गरे गोली हानी हत्या

भारतको जम्मू–कश्मीरमा भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको चरमपन्थीले हत्या गरेका छन् ।

स्थानीय पार्षद राकेश पण्डिताको चरमपन्थीले गोली हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हासहितले यो घटनाको निन्दा गरेका छन् ।

पुलवामामा बुधबार राति भाजपा नेता राकेश सोमनाथ पण्डिताको गोली हानी हत्या भएको कश्मीरका आइजी विजय कुमारले बताएका छन् ।

पुलवामाको त्राल क्षेत्रमा साथीसँगको भेटका लागि गएका बेला पण्डितामाथि चरमपन्थीले गोली हानी हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले जनाएको छ ।

उनीमाथि राति सवा १० बजेतिर तीनजना अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका हुन् । गोली लागेर गम्भीर घाइते भएको उनको उपचारका लागि लैजाँदै गर्दा निधन भएको हो ।

आक्रमणमा उनको साथीकी छोरी पनि घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जेठ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्