अमेरिकाबाट आउने खोपको संख्या निश्चित छैन

काठमाडौँ- भ्याक्सिन अभावका कारण संकट बेहोरिरहेको नेपाललाई अमेरिकाले भ्याक्सिन दिने भए पनि कति मात्रामा भ्याक्सिन दिने स्पष्ट भइसकेको छैन।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र तथा कूटनीतिक तहबाट गरिएका प्रयासहरुका कारण नेपालले अमेरिकाबाट भ्याक्सिन पाउन लागेको हो।  यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार टीका प्रसाद ढकालले नेपालले ५० लाख भ्याक्सिन पाउने जानकारी गराए पनि उनले उक्त जानकारी सही नभएको भन्दै ट्विट गरेका छन्।

उनले ट्विटमा लेखेका थिए- सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।

यद्यपि उनले  केही बेरमै उक्त ट्विट डिलिट गर्दै परिणाम नेपालको अपेक्षा र अनुरोध भएको भन्दै अर्को ट्विट गरेका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलुकी एक ट्विट गर्दै भ्याक्सिन दिने अमेरिकी निर्णयको सराहना गरेका छन्।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई मेन्सन गर्दै भ्याक्सिन दिने अमेरिकी निर्णयको स्वागत गर्ने उल्लेख गरेका छन्। उनले भ्याक्सिन दिन नेपाल सरकारले गरेको अनुरोध स्वीकार गरेकामा अमेरिकालाई धन्यवाद पनि दिएका छन्। ‘यसले नेपाल र अमेरिकाबीचको मित्रताको सुदृढतालाई पुष्टि गरेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

(राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार टीकाप्रसाद ढकालको ट्विटमा दिएको जानकारी सही नभएकाले हामीले समाचार सच्चाएका छौँ।)

जेठ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्