युवतीलाई भारत लैजाँदै गर्दा दम्पती पक्राउ

युवती बेचविखन गर्न ५० हजार दिने भनी कन्यापूजाको नाटक

वीरगञ्ज – भारततर्फ बेचबिखन गर्ने उद्देश्यले २ जना युवतीलाई लैजाँदै गरेको अवस्थामा वीरगञ्जबाट एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत, राज्य बिहार, जिल्ला पूर्वी चम्पारण, थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम–४ ठेगाना भएका २७ वर्षका अस्गर सैफी र उनकी श्रीमती तनहुँ, दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्री छन्।

पक्राउ परेका दुवैजनाले गोरखा घर भएका वर्ष २० तथा २२ वर्षकी युवतीलाई उनीहरूकै घरबाट बाँकेस्थित नेपालगञ्जमा रहेको एक मन्दिरमा कन्यापूजा गर्न १ घण्टाका लागि कन्याको रूपमा गएबापत जनही ५० हजार दिने भनी ललाइफकाई नेपालगञ्जसम्म ल्याएका थिए।

पछि पैसा लिन वीरगञ्ज बजार जानुपर्छ भनी झुक्याई वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा नाकासम्म पु¥याएका थिए।

त्यहाँ पु¥याएपछि दम्पतीले पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी मानव बेचबिखन गर्ने उद्देश्यले दुबै युवतीलाई सीमा पार गराउन लाग्दा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पीडित युवतीको उद्धार गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

युवतीलाई लैजाँदै गरेका दम्पतीलाई पक्राउ गरी उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

 

जेठ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्