भारत सरकार र ट्वीटरबीच विवाद चर्किदैः केही नेताका अकाउण्ट ‘अनभेरिफाइ’, विवाद के हो?

भारतमा पछिल्लो समय केन्द्र सरकार र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच विवाद बढ्दै गएको छ।

भारतको केन्द्र सरकारले ट्वीटरलाई नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न चेतावनी दिएको छ। अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने सरकारको चेतावनी छ।

विवादकै बीच केही नेताहरुको भेरिफिकेसन (ब्लु टिक) ट्वीटरले हटाइदिएको छ। ट्वीटरले सत्तारुढ दल भाजपा निकट राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)का प्रमुख मोहन भागवतको अकाउण्ट अनभेरिफाइ गरेको हो। यस्तै संघका सुरेश सोनी, अरुणकुमार, सुरेश जोशी र कृष्णगोपालको पनि भेरिफिकेशन हटाइएको छ।

ट्वीटरले भारतका उपराष्ट्रपति वेङ्कैया नायडूको व्यक्तिगत एकाउण्ट पनि अनभेरिफाइ गरेको थियो। यस विषयमा ट्वीटरले उक्त अकाउण्ट ६ महिनादेखि एक्टिभ नरहेको हुँदा अनभेरिफाइ गरेको प्रष्टिकरण दिएको छ। तर चर्को विरोधपछि उनको अकाउण्ट भेरिफिकेशन भने अहिले फेरि कायम गरिएको छ।

के हो विवाद?


कृषि कानुनको विरोधमा आन्दोलनरत किसानले भारतको गणतन्त्र दिवसको दिन ट्याक्टर र्‍याली निकालेका थिए। त्यसक्रममा लाल किल्लामा रहेको भारतको झण्डा हटाएर धार्मिक झण्डा फहराइएको थियो। त्यसपछि भारतको केन्द्र सरकारले ट्वीटरलाई करिब १ हजार १०० अकाउण्ट निलम्बन गर्न र केही विवादित ह्यास्‌ट्याग हटाउन निर्देशन दिएको थियो।

सरकारको निर्देशनमा ट्वीटरले केही अकाउण्ट ब्लकसमेत गरेको थियो। तर केही समयपछि ट्वीटरले केही अकाउण्ट अनब्लक गरिदियो। सरकारको निर्देशनमा ब्लक गरिएका केही अकाउण्टहरु पत्रकार तथा सामाजिक कार्यकर्ताका रहेको भन्दै ट्वीटरले केही अकाउण्टको निलम्बन फुकुवा गरेको थियो। यसक्रममा ट्वीटरले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको थियो।

ट्वीटरको उक्त निर्णयप्रति केन्द्रीय मन्त्री रविशंकर प्रसादले असन्तुष्टि व्यक्त गरेका थिए।

त्यसपछि भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अस्पतालमा अक्सिजन तथा बेड नपाएर मानिसहरुको मृत्यु हुन थालेपछि ट्वीटर लगायतका सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भयो।

त्यसक्रममा भाजपाका नेताहरुले सरकारको बचाउ गर्दै कांग्रेसले आफ्ना कार्यकर्ता प्रयोग गरेर सामाजिक सञ्जालमा मोदी सरकारको बदनाम गरिरहेको आरोप लगाएका थिए। भाजपाका प्रवक्ता  संबित पात्रा र भाजपाका महासचिव बीएल सन्तोषले चार–चार पेजका दुई डकुमेन्ट स्क्रिनसट गर्दै ‘कांग्रेस टुलिकट एक्सपोज्ड‘ ह्यास्‌ट्यागसहित पोष्ट गरेका थिए। यो कांग्रेसको ‘टुलकिट’ भएको उनीहरुको आरोप थियो।

कांग्रेसका नेताहरुले भने  उक्त आरोपको खण्डन गर्दै भजपा नेताहरुले केही फर्जी डकुमेन्ट सार्वजनिक गरेको भन्दै ट्वीटरमा उजूरी दिए। कांग्रेसको उजुरीमाथि कारबाही गर्दै ट्वीटरले भाजपाका पात्राको पोष्टलाई ‘मेनिपुलेट मिडिया’को ट्याग दियो।

ट्वीटरको उक्त कदमप्रति भाजपा आक्रोशित भयो र उक्त ट्याग हटाउन भन्यो।

यसैबीच दिल्ली पुलिसको स्पेशल सेलले ट्वीटरसँग यस मामिलाको सबै जानकारी उपलब्ध गराउन माग गर्‍यो। यतिमात्र होइन, दिल्ली पुलिसको ६ सदस्यीय टीम मे २४ मा गुरुग्राम र लडोसराइस्थित ट्वीटरको कार्यालयमा पनि पुगेको थियो। पुलिसको उक्त कदमप्रति ट्वीटरले असन्तुष्टि जनाएको थियो।

यसैबीच ट्वीटरले मे २७ मा भारत सरकारको नयाँ डिजिटल नियममाथि टिप्पणी गर्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथि सम्भावित खतरा पैदा भएको’ भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको थियो।

ट्वीटरको  उक्त अभिव्यक्तिप्रति भारतको केन्द्र सरकारले असन्तुष्टि व्यक्त गर्दै ‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको बदनाम गर्ने कोशिस भइरहेको’ जनाएको थियो।

जेठ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्