महतोको विवादास्पद अभिव्यक्तिको एमालेका १५ नेताद्वारा विरोध

फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पुनर्गठन गरेको मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका राजेन्द्र महतोले नेपाल बहुल राज्य राष्ट्र भनी दिएको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन्।

एमालेका पूर्वमहासचिव माधवकुमार नेपालसहितका १५ नेताले शनिबार संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने विषय महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ। ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, नेपालसहितका नेताको संयुक्त वक्तव्यमा उल्लेख छ।

उपप्रधानमन्त्री महतोको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुपर्ने पनि १५ नेताहरुले माग गरेका छन्।

जेठ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्