बुद्धिसागरले दिए बालबालिकालाई हुर्काउने केही टिप्स

बालबालिकाको विकासका लागि कार्यरत संस्था  स्मार्ट प्यारेन्टिङ नेपालले यस हप्ता उपन्यासकार बुद्धिसागरलाई आफनो हुर्काइको अनुभव बाँड्न निम्त्याएको थियो। उनले कार्यक्रममा आफ्नो अभिभावक आफूबीचदेखि आफू अभिभावक हुँदासम्मका अनुभव बाँडेका थिए शनिबार।

हिट्स एफएमका कार्यक्रम सञ्चालकसमेत रहेका सफर पोखरेलसँगको संवादमा उपन्यासकार बुद्धिसागरलले आफ्नो विगत सम्झिँदै भने- घरमा धेरै किताबहरु हुन्थे तर मलाई अभिभावकहरुले कहिल्यै पनि पढ्न दबाब दिनुभएन। किताबहरुसँग नाता पहिले चित्र हेरेर सुरु भएको पछि पाठकको रुपमा विकास भएको उनले बताए। उनले बालबालिकाका लागि हरेक घरमा एउटा पुस्तकालय राख्न पनि सुझाव दिए। 

हाम्रो समाजमा बिद्यमानहुने विरुवाको चिल्लो पात’ भन्ने मानसिकताबाट समस्या निम्तिन सक्ने जानकारी दिँदै उनले बालबालिकाको प्रतिभा चिन्न धेरै समय लाग्नसक्ने बताए। अभिभावकहरुले आफ्नो सपना बच्चामा पुस्तैनी हस्तान्तरण गर्ने र त्यही सिलसिलामा आफ्नो नानीबाबुहरुलाई सानै उमेरदेखि दबाब दिने चलन बढ्दो देखिएको उनले सुनाए। आफ्नो सन्तानलाई रुचि भएको क्षेत्रमा प्रवेश गर्न नदिने कारणले अभिभावक सन्तानबीच फाटो आउने बुद्धिसागरको ठम्याइ थियो।

बच्चाहरुको समस्या वा विचार नबुझ्दा बच्चाहरुको व्यवहार झन् उद्दण्ड हुँदै जाने सँगसगै यदि सन्तानले काम बिगारेको भने त्यसको पछाडिको कथा या बिषयवस्तु बुझ्न सल्लाह दिँदै उपन्यासकार बुद्धिसागरले सन्तानसँग राम्रो सम्बन्ध बनाइराख्न  संवादको अवस्था राखिरहनुपर्ने बताए।

एउटा रुख परिपक्व हुन समय लागेजसरी हाम्रा सन्तानहरुको पारीपक्वताको लागि पनि आफ्नै समय हुन्छ जसलाई अभिभावकहरुले बुझ्नुपर्ने उनले बताए। अहिलेको चलन सानैमा आफ्नो नानीबाबुहरुलाई ठूलोको जस्तो तौरतरिका (श्रृंगार) गर्नुभन्दा पनि बच्चालाई उसकै बाल प्रकृतिबाल सुलभतामा रमाउन दिनुपर्ने र आफू पनि रमाउनुपर्ने उनले बताए।

उनले आफ्नो छोरीसँग सम्बन्ध सुमधुर बनाइराख्न आफू पनि छोरीसँग अपडेट भइरहने उल्लेख गर्दै छोरीको अगाडि मोबाइल नचलाउने उसको लागि कथा पढ्ने कथा रचेर गुणस्तरीय समय बिताउने गर्ने सुनाए।

उनले अभिभावकहरुलाई बालबालिकाहरुसँग मोबाइल नचलाउन र घरमा एउटा सानो पुस्तकालय राख्न अनुरोध गरे।

अभिभावकत्व पनि एउटा कला हो जुन हरेक अभिभावकहरुले सिक्नुपर्छ भन्ने अभिप्रायले हरेक साता स्मार्ट प्यारेन्टिङ नेपालले नयाँ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। आउँदो साता किशोरावस्थाबारे कार्यक्रम ल्याउने संस्थाका संस्थापकद्वय प्रतिमा लामा कबिन्द्र नापितले जानकारी दिए।

जेठ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्