वैशाखको पहिलो साताको अवस्थामा अहिले हामी छौँ: डा. बास्तोला

डा. अनुप बास्तोला। तस्बिर: दीपा दाहाल

काठमाडौँ – विगत तीन साताको तुलनामा अस्पताल भर्ना हुने कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आएको टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताएका छन्।

अहिले जेठको अन्तिम सातामा वैशाखको पहिलो साताको संख्यामा अस्पताल भर्ना भएका संख्याको अवस्थामा बिरामी भर्ना हुने क्रम रहेको उनले जानकारी दिएका छन्। तर काठमाडौं बाहिरबाट आएर अस्पतालमा भर्ना हुने क्रम बढेको उनले बताए।

उनले गाउँ-गाउँमा सिकिस्त बिरामीको संख्या धेरै रहेको आशंका गरेका छन्। सामाजिक सञ्जाल ट्वLटरमा उनले अहिलेको महामारीको अवस्थाका बारेमा सचित्र उल्लेख गरेका छन्।

‘अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ । वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।

यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौँ। यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामी यति निरीह थियौं कि, चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौँ ।

टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन् ।

अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौँ बाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।

दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैको ज्यान गुमायौँ । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।

दोस्रो लहरको एउटा सुखद अनुभव भनौँ, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।’

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्