‘पशुपतिबाट घाट सार्नेबारे कुनै छलफल भएकाे छैन’

पशुपति क्षेत्रको आर्यघाटमा शव जलाईँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – पशुपति क्षेत्रमा हाल कायम रहेको घाट सार्ने विषयमा कुनै प्रकारको छलफल नभएको गुरुयोजना पुनरावलोकन कार्यलदका संयोजक प्रा. डा. चन्द्रमणि अधिकारीले बताएका छन्।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पारित गरि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेको गुरुयोजनालाई संस्कृति तथा सम्पदाविद, स्थानीय बासिन्दासहितका सरोकारवाला पक्षले विरोध गरेका थिए।

त्यसपछि सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षसँग छलफल गरि गुरुयोजनालाई अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा. डा. अधिकारीको संयोजकत्वमा पुनरावलोकनका लागि कार्यदल गठन गरेको थियो।

कार्यदलका संयोजक अधिकारीले देश सञ्चारसँग भने, ‘कार्यदलमा पशुपति क्षेत्रको घाट सार्ने विषयमा छलफल भएकै छैन। बाहिर आएजस्तो हामीले केही कुरा गरेका छैनौँ र यो हुलुका विषय पनि होइन।’

हालै क्षेत्र विकास कोषले बागमती नदी किनारमा रहेका हालका घाटहरु नै सार्नका लागि प्रस्ताव गर्ने तयारी गरेको खबर आएको थियो।

संयोजक अधिकारीले भने, ‘ब्रह्मनालको पानी भष्मेश्वर घाट तथा विद्युतीय शवदाह गृहसम्म पनि लैजान विषयमा कुरा भएको छ। तर घाट धेरै संवेदनशील विषय हो। यो धर्म संस्कृति, मनोविज्ञान, मनोभावना, समवेदानासँग जोडिएको विषय हो। हल्का रुपमा निर्णय हुँदैन। घाट सार्ने विषय कार्यदलमा प्रवेश भएको छैन।’

आफूहरु पुनरावलोकन प्रतिवेदनको अन्तिम रुप तयार पार्नेक्रममा रहेको बताएका संयोजक अधिकारीले कुनै पनि विषयमा निष्कर्ष निकाल्दा सम्पूर्ण क्षेत्रका विज्ञहरुसँग छलफल तथा परामर्श गरिने उल्लेख गरेका छन्। कोरोना भाइरसको महामारीका कारण काम केही प्रभावित भए पनि चाँडै आफूहरुले प्रतिवेदन मन्त्रालयमा बुझाउने उनले बताए।

यस्तै स्थानीय बासिन्दा समेत रहेका काठमाडौँ क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पनि घाट जस्तो संवेदनशील विषयमा कोषको सञ्चालक परिषदले ‘आवेग’ मा आएर कुनै निर्णय गर्न नमिल्ने बताए। मानवीय संवेदना तथा प्राचीन संस्कृतिसँग जोडिएको विषयमा ठूलो बहसमार्फत सबैको विचार समेटेर निर्णय गरिनु पर्ने र सोही अनुसार हुन्छ भन्ने अपेक्षा रहेको उनले बताए।

यसैबिच पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने भएका घाट सार्ने विषयमा कुनै पनि कुराकानी नभएको र बाहिर आएका विषयमा सत्यता नरहेको बताए।

उनले देश सञ्चारसँग भने, ‘हामीले भएका घाट सार्ने वा भत्काउने कुरा गरेकै छैनौँ। भएका घाट तथा चिताहरु यथावत नै रहन्छन्। तर हामीले क्षमता बिस्तार गर्ने कुरा चाहिँ गरेका छौँ।’

कोरोना भाइरसको महामारीका कारण आर्यघाटमा अन्तिम संस्कारका लागि चाप हुँदै जाँदा भविष्यमा बढ्न सक्ने चापलाई मध्यनजर गरि घाटको क्षमता बिस्तारको विषय प्रस्ताव गर्ने तयारी भएको उनले बताए।

सदस्य सचिव ढकालले भने, ‘अहिले भएका ठाउँहरु सार्ने कुरा आउँदैन र हुँदैन पनि। तर भोलिका दिनमा जनसंख्याको चाप र वृद्धिदर हुँदै जाँदा अन्तिम संस्कारका लागि चाप बढ्ने देखिएकाले पशुपति क्षेत्रको सौन्दर्यलाई कायम राख्ने गरि भएका घाटको व्यवस्थापन तथा वैकल्पिक व्यवस्थाबारे प्रस्ताव गर्ने तयारी हो।’

‘भइरहेको चिताहरु सार्ने कुनै तयारी होइन। त्यो चिता घाट कसरी सार्न सकिन्छ?’ सदस्य सचिव ढकालले भने।

महाशाखा नै बनाएर आफूहरुले घाट व्यवस्थापन गरिरहेको बताएका ढकालले दीर्घकालीन व्यवस्थापनको विकल्पका विभिन्न रुपहरुबारे तत्काल सोचिनु पर्ने बताए।

उनले विद्युतीय शव दाहको क्षमता बिस्तारको पहल पनि भइरहेको बताए। अहिले पशुपति क्षेत्रमा ब्रह्मनाल क्षेत्रमा दुई तथा भष्मेश्वर घाटमा १० गरि दाउराबाट शव जलाउने चिता १२ वटा छन्।

यस्तै विद्युतीय शवदाह गृहमा तीनवटा मेसिन रहेको कोशले जनाएको छ। सदस्य सचिव ढकालले भष्मेश्वर घाट तथा विद्युतीय शवदाह गृहमा पनि ब्रह्मनालको जलको व्यवस्था गर्ने सम्बन्धमा त्यसका उपायहरुबारे कुरा भइरहेको बताए।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्