कारागारबाट प्रेमिकालाई पत्र- ‘मेरो जीवन अँध्यारो भयो, तिम्रो उज्यालो होस्, सानु!’

प्रिय मायालु सानु!

छोटो जिन्दगीको लामो अनि मीठो सम्झना!

मात्र तिमीलाई,

पत्राचार गर्नुको कारण त केही थिएन, तिम्रो माया र समझनाले सताइरहेको हुनाले यो कलम को सहाराले आफ्ना मनभित्र गुम्सिएका भावना तिम्रो सामु पोख्न खोजेको छु। सानु, मैले पत्र मार्फत लेखेर मनका भावाना पोख्न खोजेको कारण के हो भने, लेख्दालेख्दै तिमी सँग कुरा गरेको जस्तो महशुस हुन्छ।

हामीसँगै बसेका, खेलेका, हाँसेका ती दिन अहिले मेरा यी आँखाका नानी वरिपरि नाचिरहेका छन्। तिमीसँग रमाएको समयलाई स्मरण गर्दा म पागल सरह बन्छु। मनलाई बुझाउने एउटामात्र माध्यम छ।

मसँग यो जेलमा अनेकौँ ठाउँका अनेक किसिमले कानुनको चौघेराभित्र न्याय नपाई अन्यायमा पिल्सिएका साथीभाइहरु छन्। उनीहरुसँग आफ्ना मनका भावना, पीर, दुख, सुख साटासाट गर्दै मेरा दुखलाई आरामका साथ काटिरहेको छु ।

सानु, मेरो जीवन त अन्धकारमा नै कट्यो। ठीकै छ ! तर तिम्रो जीवन तिमी जहाँ छौ र जहाँ रहने छौँ, सधैँ उज्यालो संसारमा नै कटोस् । मैले देख्ने समयमा तिमीलाई सधैँ खुशी नै देख्न पाउँ।

हुन त यो दैवको लीला हो। हामीले टार्न त सक्दैनौँ। हामीलाई उनै दिन दयालु भगवानले भेट गराएका थिए। सानु हामीलाई विछोड गराउने पनि उनै भगवान हुन्। तर आउँदा दिनमा पनि हामीलाई मिलन गराउने पनि तिनै भगवान हुन्।

यो दैवको लीला हो। हामीले टार्न त सक्दैनौँ। हामीलाई उनै दिन दयालु भगवानले भेट गराएका थिए। सानु हामीलाई विछोड गराउने पनि उनै भगवान हुन्। तर आउँदा दिनमा पनि हामीलाई मिलन गराउने पनि तिनै भगवान हुन्।

यदि तिमीले वा हामीले साँच्चिकै चोखो माया मनभित्रैबाट नै गरेका छौँ भने हाम्रो मिलन अवश्य हुन्छ सानु। मैले लेखेर वा सम्बोधन गरेर यो अन्धकारको कालो कोठरीमा बसी तिम्रो सपनाहरुलाई साकार त गर्न सक्दिन।

सानु !

फेरि पनि मेरो यो अन्धकार कोठामा बसी मनका भावना सम्झेर सेतो कागजमा कालो मसीले लेखेर आफ्ना मनका भावनालाई कोरी यो अशान्त मनलाई शान्ति हुन्छ कि भनी आफ्ना मनका व्यथालाई कोर्दै छु।

मेरो यो जेल जीवन सहजै रुपमा काट्न सक्छु कि भनेर तिमीसँग रमाएका र खेलेका दिनलाई सम्झिँदै छु। तिमीले हँसाएका ती दिनहरु अहिले आएर मनमस्तिष्कमा बल्झिएका छन्। हुन त सानु मैले तिमीलाई गरेको माया बुझ्न नसकेको हो या भाग्यमा लेखिएको हो, हामी टाढा भयौँ।

हुन त यो सबै भाग्यको खेल नै हो जस्तो लाग्छ ।

जुन भगवानले हामीलाई बिछोड गराएको हो र हामीलाई तिनै भागवानले नै मिलन गराउने छ्न् । यत्ति त मलाई विश्वास छ,

जाँदाजाँदै तिम्रा लागि,

सागर जस्तै शान्त बनी बस
तुफान जस्तै जोश राख
मानिस सबै स्वार्थी हुन्छन्
कदम कदममा होस राख !

पहाड परिवर्तनशील हुन्छ भन्छन्,
मैदान हुन्न किन ?
माया यति धेरै हुन्छ
मायाको तिर्खा मेटिदैँन किन ?

आसनमा स्वागत गरी
दिलको ढोका खोली
पहिले जस्तो मुस्कान छैन
किन तिम्रो आज भोलि

जुन देवता मन्दिरमा छ
तर मनमा छैन
जुन माया तिमीमा छ
तर तस्बिरमा छैन ।

(हाल कारागारमा रहेका प्यूठान, स्याउलिबाडा नौबहीनी गाउँपालिका १ का विश्वकर्माको लेख।)

देशभित्रका कारागारभित्र पुस्तकालय स्थापना गरिरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र रहेका कैदी, थुनुवा तथा सुरक्षाकर्मीहरूका लेख, कथा तथा डायरीहरू पनि प्रकाशन गरिरहेको छ। जिल्ला कारागार कपिलवस्तुमा लेख तथा रचनाहरू सङ्कलन गर्ने क्रममा राष्ट्रिय पुस्तकालय अभियानको टिमले यो पत्र प्राप्त गरेको थियो।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्