नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण

संक्रमणको दाँजोमा मृत्युदर उच्च

प्यान्डेमिककालमा संक्रमण नियन्त्रण गर्ने अनेक वैज्ञानिक र सामाजिक उपाय हुन्छन्।

कतिपय ठाउँ र देशमा धार्मिक र आध्यात्मिक उपाय अपनाएको कुरा पनि सुन्नमा आएका छन्।

तर, संक्रमण त्यतिबेला देखिन्छ र पत्ता लाग्छ जतिबेला परीक्षण गरिन्छ। उपयुक्त परीक्षण नगरेसम्म न संक्रमण पत्ता लाग्छ न त यसको नियन्त्रणका उपाय नै अपनाउन सकिन्छ।

तसर्थ प्यान्डेमिक नियन्त्रणको एक प्रमुख हतियार भनेको परीक्षण नै हो। त्यसैले गर्दा डब्लुएचओले पनि परीक्षणका विभिन्न तरिका र मापदण्ड तोकेको छ।

परीक्षण गर्ने तरिका र त्यसको नतिजाको विश्लेषण सही भएन भने त्यो खेर जान्छ। प्यान्डेमिककालमा परीक्षण जति सक्यो उति धेरै गर्नुपर्छ।

परीक्षण जति गर्‍यो उति संक्रमण पत्ता लाग्छ र त्यसको नियन्त्रण, निराकरण र निर्मूलीकरणका उपाय गर्न सकिन्छ।

यदि, परीक्षण पर्याप्त गर्न सकिएन भने संक्रमण समाजभित्र लुकेर बस्ने सम्भावना हुन्छ र यसको नियन्त्रणका सम्पूर्ण उपाय असफल हुन्छन्।

परीक्षण गर्नु मूलतः केन्द्रीय सरकार, स्थानीय निकाय र प्रत्येक नागरिकको कर्तव्य हो। यी तीन तह या पक्षमध्ये कुनै एकले आफ्नो कर्तव्य पूरा गरेन भने परीक्षणको काम पूरा हुँदैन। परीक्षणको यति धेरै महत्व हुँदाहुँदै पनि परीक्षण गर्न सक्नु नसक्नु यी तीनै पक्षका आ–आफ्ना कमजोरी र बाध्यता हुन सक्छ।

अहिलेको विज्ञान र प्रविधिको जमानामा समयसापेक्ष प्रविधि कम खर्चिलो हुँदैन। त्यसमाथि हाम्रोजस्तो कम विकसित देश र स्रोत साधनको कमी भएको नागरिकले चाहेर पनि प्रशस्त परीक्षण गर्न नसकिने तथ्य हामीसामु छर्लंग छ।

त्यसमाथि परीक्षण परिवारका सबै सदस्यको र पटक–पटक गर्नुपर्ने अवस्था आएमा परीक्षण गर्नु असम्भव हुन सक्छ।

तसर्थ प्यान्डेमिक कालमा परीक्षण गर्नु गराउनु मूलतः सरकारको दायित्व हुन आउँछ भने नागरिकले पनि आफूलाई शंका लागेमा यथाशीघ्र परीक्षण गर्नु उसको कर्तव्य हुन आउँछ।

सामान्यतया परीक्षण जति गर्‍यो, उति संक्रमण भेटिन्छ अर्थात् नयाँ संक्रमणको संख्या प्रत्यक्ष रूपमा परीक्षणको संख्यामा भर पर्छ।

परीक्षण त्यति बेलासम्म गर्नुपर्छ जबसम्म परीक्षणसँगै संक्रमण पनि बढ्छ। जब परीक्षणसँगै संक्रमण बढ्न छाड्छ अर्थात् कम हुन थाल्छ तब परीक्षण कम गर्दै लान सकिन्छ।

तसर्थ डब्लुएचओले त्यसको पनि प्रक्रिया र मापदण्ड बनाएको छ। डब्लुएचओका अनुसार संक्रमण दर ५%भन्दा धेरै भएमा प्यान्डेमिक अनियन्त्रित भएको मानिन्छ र यो दर ५% भन्दा कम नभएसम्म न परीक्षण नै कम गर्न मिल्छ न त प्यान्डेमिक नियन्त्रणका अन्य उपाय नै खुकुलो गर्न सकिन्छ।

तर, त्यसमा व्यावहारिक कठिनाइ पक्कै पनि हुन्छन्। संक्रमण दर ५%भन्दा कम निरन्तर २ हप्ता या त्योभन्दा लामो समय भएपछि मात्रै परीक्षण र अन्य नियन्त्रण उपाय कम गर्न सकिन्छ।

प्यान्डेमिककालमा परीक्षण गर्नुको मुख्य उद्देश्य लुकेर बसेका संक्रमण पत्ता लगाउनु हो नकि जबर्जस्ती संक्रमणको संख्या बढाउनु। संक्रमण जति लुकेर बस्यो उति भित्रभित्रै फैलिने सम्भावना धेरै हुन्छ।

संक्रमण जति फैलियो उति संक्रमणको जीवाणु अर्थात् भाइरसको म्युटेसन् बढी हुन्छ। भाइरसको जति म्युटेसन् भयो उति नयाँ नयाँ प्रजाति अर्थात् भ्यरिएन्टको विकास हुने सम्भावना धेरै हुन्छ।

भाइरसको म्युटेसन् जति भयो उति त्यसविरुद्धका औषधि तथा भ्याक्सिनले काम नगर्ने सम्भावना हुन्छ। जति औषधि र भ्याक्सिनले काम कम गर्‍यो, उति प्यान्डेमिक बढ्ने सम्भावना धेरै हुन्छ। यसरी परीक्षणको सम्बन्ध प्यान्डेमिकका हरेक पक्षसँग प्रत्यक्ष गाँसिएको हुन्छ। त्यसैले डब्लुएचओले भन्ने गरेको छ कि प्यान्डेमिकमा परीक्षण, परीक्षण अनि परीक्षण।

त्यस्तै, परीक्षणको कुरा गर्दा परीक्षणको संख्या मात्रै होइन, परीक्षणको लक्षित समूह पनि निर्धारण गरी लक्षण भएका मात्रै नभई लक्षण भएकासँग सम्पर्कमा आएकाको पनि परीक्षण गर्नुपर्छ जसलाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ। डब्लुएचओको मापदण्डअनुसार कन्ट्याक्ट ट्रेसिङ न्यूनतम १० देखि ३० जनासम्म गर्नुपर्छ।

हाल विश्वमा सबैभन्दा धेरै परीक्षण गर्ने देशमा बेलायत, अस्ट्रिया, चेक, यूएई, भुटान, माल्दिभ्स, जर्जिया आदि पर्छन् जहाँ प्रत्येक दिन प्रति १००० जनसंख्यामा करिब १० जनाको परीक्षण गर्ने गरिन्छ।

त्यस्तै, परीक्षण निकै कम गर्ने देशमा अफ्रिकी देशलगायत पाकिस्तान, बंगलादेश, म्यानमार, मेक्सिको, इक्वेडोर आदि पर्छन् जहाँ हरेक दिन दसौं हजार जनसंख्यामा एक या त्योभन्दा कमको परीक्षण गर्ने गरिन्छ।

प्यान्डेमिकको यस घडीमा दक्षिण एसियाको दुई हप्ताको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र नम्बर १ मा देखाइएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियामा केही समयदेखि दैनिक संक्रमण र दैनिक मृत्यु कम हुने क्रम जारी देखिन्छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियाको दैनिक संक्रमण चार हप्ताअगाडि करिब ४३२००० भएकोमा हाल यो संख्या डेढ लाख जति भई क्रमश: घट्दै गएको छ।

यद्यपि, पछिल्लो हप्ता संक्रमण कम हुने दरमा केही कमी आई दैनिक संक्रमण केही स्थिर देखिन्छ।

त्यस्तै, दैनिक मृत्युमा पनि कमी आइरहे पनि संक्रमणको दाँजोमा मृत्युको कमी केही सुस्त देखिन्छ र पछिल्लो समय दैनिक मृत्यु पनि स्थिर देखिन्छ।

चित्र नम्बर २ ले दक्षिण एसियाली देशको बिगत दुई हप्ताको दैनिक संक्रमणको तुलनात्मक चित्र देखाएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियाका अधिकांश देशमा पछिल्लो समय दैनिक संक्रमण घट्दै जाने क्रम भए पनि श्रीलंका, बंगलादेश र अफघानिस्तानमा संक्रमण केही बढ्दै गएको देखिन्छ।

स्मरण रहोस्, श्रीलंकामा एक महिनादेखि संक्रमण निरन्तर उकालो लाग्ने क्रममा छ भने बंगलादेशमा अप्रिल पहिलो साता त्यहाँको हालसम्मकै सबैभन्दा ठूलो लहर आई तत्पश्चात् केही कम हुँदै गई फेरि केही हप्तादेखि संक्रमण बढ्न खोजेको देखिन्छ।

यसरी देशैपिच्छे प्यान्डेमिकको फरक–फरक स्वरूप देखा पर्दै आएको छ। त्यस्तै, दक्षिण एसियाली देशको दैनिक मृत्युको प्रवृत्ति हेर्ने हो भने चित्र नम्बर ३ मा देखाइएजस्तै भारत र नेपालमा केही कमी आए पनि अन्य देशमा खासै कमी आएको देखिँदैन । भुटान र माल्दिभ्समा भने कोरोना मृत्यु न्यून देखिएको छ।

विश्वमा प्यान्डेमिक लहर कैयौं पटक आउने–जाने क्रममा कोरोना संक्रमणको मृत्यु दर पनि फरक हुँदै गएको छ।

सुरुवाती अवस्थामा दक्षिण एसियाको मृत्यु दर विश्वको तुलनामा केही कम भए पनि पछिल्लो समय यस क्षेत्रमा कोरोना मृत्यु बढेसँगै मृत्यु दर पनि बढ्दै गएको छ।

चित्र नम्बर ४ले दुई हप्ताको विश्व र दक्षिण एसियाको कोरोना मृत्यु दर देखाएको छ। पछिल्लो अवस्थामा विश्व र दक्षिण एसियामा कोरोना संक्रमणमा केही कमी आइरहेको अवस्थामा विश्वको तुलनामा दक्षिण एसियाको संक्रमण अनुपातमा पनि केही हप्तादेखि केही कमी आएको छ।

पछिल्लो अवस्थामा विश्वको तुलनामा दक्षिण एसियाको दैनिक कोरोना संक्रमण अनुपात ५०%बाट ३३%मा घटेको छ भने दक्षिण एसियाको मृत्यु अनुपात हाल पनि ३५% छ जुन त्यति घेटेको देखिँदैन।

पछिल्लो समय संक्रमण संख्याको हिसाबले मात्रै होइन संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पनि दक्षिण एसियाली देशहरूको कोरोना संक्रमणमा केही कमी आएको देखिन्छ।

चित्र नम्बर ५ले दक्षिण एसियाली देशको गत दुई हप्ताको, जोन्स होप्किन्स विश्व विद्यालय र आवर वर्ल्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ। पछिल्लो समय नेपाल, भारत, माल्दिभ्स र पाकिस्तानको संक्रमण दर विस्तारै घट्दै गएको छ भने श्रीलंका र बंगलादेशको संक्रमण दर विस्तारै बढ्ने क्रममा देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी गरिएको विवरणअनुसार दक्षिण एसियामा जुन २ सम्म ३०९३०४०२ जनामा यो संक्रमण लागिसकेको छ भने ३८०८१६ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, सन् २०२१ मे ३०देखि जुन ५ अर्थात् वि. सं. २०७८ जेठ १६ देखि २२ गतेसम्मको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा निम्नबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं–

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। गत हप्ता सन् २०२१ मे ३० देखि जुन ५ अर्थात् वि.सं २०७८ जेठ १६ देखि २२ गते सम्मको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र नम्बर ६मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। यद्यपि, हाल सरकारले पीसीआर कम गर्दै कोरोना एन्टिजेन टेस्ट बढाउँदै लगेको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, जेठ २२ गते शनिबारसम्म, देशभरि जम्मा ३१६७८ जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या ५८५१०० पुगेको छ।

सात हप्तादेखि गुणात्मक हिसाबले बढ्दै गएको नेपालको संक्रमण संख्या दुई हप्तादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गत हप्ता ४७७७९ बाट ३१६७८मा झरेको हो।

त्यसैगरी, डेढ महिनाभन्दा लामो समयदेखि बढ्दै गएको कोरोना मृत्युमा पनि गत हप्ता पहिलो पटक केही कमी आएको छ र साप्ताहिक मृत्यु १०१० बाट ६३६ पुगेको छ।

यसरी कोरोना संक्रमण र कोरोना मृत्यु दुवै घट्दै आउनु सुखद समाचार हो। चित्र नम्बर ७ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३०% देखिन्छ।

दुई हप्ता अगाडि यो अनुपात ३२% थियो र केही हप्तादेखि यो अनुपात क्रमशः झर्दै गएको देखिन्छ। यसले के संकेत गर्छ भने हाल नेपालमा संक्रमण काठमाडौँ उपत्यकाभन्दा काठमाडौँ बाहिर फैलिँदै छ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर, प्यानडेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ८ले नेपालको गत हप्ताको दैनिक संक्रमण दर देखाएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेको देखिन्छ।

गत हप्ता पोजिटिभिटी दर न्यूनतम २७.७५% देखि अधिकतम ३३.७% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३१.४१% रह्यो।

यसरी डेढ महिनाभन्दा लामो समयदेखि निरन्तर उकालो लागेको नेपालको कोरोना संक्रमण दर अर्थात् पोजिटिभिटी केही हप्तादेखि कम हुँदै गएको छ।

संक्षेपमा माथिका तथ्यांकबाट गत हप्ता दक्षिण एसिया, नेपाल र भारतमा प्यान्डेमिक लहर केही ओरालो लाग्दै गएको देखिन्छ जुन सुखद समाचार हो।

कोरोना मृत्युमा पनि गतहप्तादेखि कमी आए पनि संक्रमणको दाँजोमा मृत्युदर अझै पनि उच्च देखिन्छ। तर, एक महिनाभन्दा लामो समयको कडा लकडाउन गर्दा पनि संक्रमण दर अझै ३०% भन्दा माथि हुनु चिन्ताको विषय हो।

यदि, यही दरमा संक्रमण दर कम हुँदै जाने हो भने पनि प्यान्डेमिक नियन्त्रणमा निकै लामो समय लाग्ने देखिन्छ।

त्यस अर्थमा नेपालको अवस्था हालसम्म पनि विश्वमा सबैभन्दा खतरापूर्ण र जोखिमपूर्ण देखिन्छ।

पछिल्लो समयमा काठमाडौँ बाहिर संक्रमण ज्यादा देखिएको हुनाले देशभरि उपयुक्त र दीर्घकालिन तरिकाले प्यान्डेमिक नियन्त्रण गर्नु पर्ने देखिन्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यामिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानी अपनाउनु पर्ने देखिन्छ।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

यसमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्