युवा संघद्वारा धनगढीमा राजेन्द्र महतोको पुतला दहन, राजीनामा नदिए आन्दोलन चर्काउने चेतावनी

धनगढी– नेकपा एमालेको भातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थी संगठनले संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको धनगढीमा पुतला दहन गरेका छन्।

राष्ट्रलाई विखण्डन गर्ने तथा संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै युवा समूहले धनगढीको पार्कमोडमा महतोको पुतला दहन गरेका हुन्।

‘सार्वजनिक पदको दुरुपयोग गर्दै महतोले राष्ट्रलाई विखण्डन गरी देशमा अराजकता निम्त्याउने अभिव्यक्ति दिएका छन्,’ नेकपा एमाले सुदूरपश्चिमका युवा नेता मदन रेग्मीले भने, ‘यसको हामी घोर भत्सना गर्दछौँ, सरकारमा बरिसहने महतोको नैतिक अधिकार छैन, तत्काल मन्त्रीबाट राजीनामा दिनु पर्दछ।’

युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले देश टुक्र्याउने अभिव्यक्ति दिने महतोले तत्काल राजिनामा दिनुपर्ने बताए।

‘देशलाई अप्ठ्यारोमा पार्ने गतिविधि भएपछि हामी निषेधाज्ञामा समेत सडकमा निस्कन बाध्य भएका छौँ’, उनले भने, ‘महतोको राजीनामा नआए आन्दोलन थप चर्कने छ।’

उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेपछि नेपाललाई बहु राष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए। पुतला दहन कार्यक्रममा ‘राजेन्द्र महतो मुर्दाबाद, राजेन्द्र महतो राजिनामा दे’ भन्दै नाराबाजी गरिएको थियो।

जेठ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्