युरोकपभन्दा बढि विश्वकप जितेको जर्मनी जो हरेक प्रतियोगितामा उपाधि दाबेदार रहन्छ

विश्वकप फुटबलमा ८ पटक फाइनल यात्रा अनि त्यसमा चारपटक विजेता।  जर्मनी जति कुनै पनि टोली विश्वकपको फाइनलमा पुगेको छैन,सर्वाधिक विजेता ब्राजिल पनि। ७ पटक फाइनल पुगेको ब्राजिल ५ पटक भने विजेता बनेको थियो।

फाइनल यात्रामा मात्र होइन, सेमिफाइनल पुग्ने टोलीमा पनि जर्मनी शीर्षस्थानमा छ। जर्मनी हालसम्म सर्वाधिक १३ पटक सेमिफाइनल पुगेको छ, दोस्रो स्थानमा रहेको ब्राजिलभन्दा २ पटक बढि। यस तथ्यांकले पनि प्रष्ट पार्छ, जर्मनी हरेक प्रतियोगितामा उपाधि दाबेदार रहन्छ।

तर सन् २०१८ को विश्वकप उसका लागि बिर्सनलायक थियो। साबिक विजेताका रुपमा सहभागी जर्मनी पहिलो तथा समूह चरणबाटै बाहिरियो। तर विश्वकपका पछिल्ला संस्करणहरुमा भइरहेको  थियो नै यस्तै।

सन् २००२ मा फ्रान्स, सन् २०१० मा इटाली र सन् २०१४ मा स्पेन पनि पहिलो चरणबाटै बाहिरिएका थिए जो साबिक विजेता थिए। तर जर्मनीको चोट साबिक विजेताका रुपमा पहिलो चरणबाट बाहिरिनुमा मात्र सीमित थिएन। विश्वकपमा उसले सन् १९३८ पछि पहिलोपटक पहिलो चरणबाटै बिदा हुनु परेको थियो।

त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो छवी फर्काउने प्रयाशमा रहेको जर्मनीले चार दिनपछि महादेशीय फुटबल प्रतियोगिता युरोकप खेल्दै छ। उसले पहिलो चरणमा साविक विजेता पोर्चुगल र साबिक विश्वकप विजेता फ्रान्ससहित हंगेरीको सामना गर्ने छ। पहिलो चरणमा ६ वटा समूह छन् जसका समूह विजेता र उपविजेता प्रिक्वाटरफाइनल पुग्नेछन् भने ६ वटा समूहका सर्वोत्कृष्ट चारवटा तेस्रो टोली पनि दोस्रो चरणमा पुग्नेछन्।

जर्मनी सन् १९९६ यता पहिलोपटक युरोकप जित्ने प्रयाशमा छ र उसले हालसम्म यो प्रतियोगिता ३ पटक जितेको छ। जर्मनी प्रतियोगिताको सर्वाधिक विजेता हो, स्पेनसँगै। तर युरोपकमा सर्वाधिक फाइनल पुग्ने टोली भने जर्मनी मात्र हो।

युरोकप हालसम्म १२ पटक खेलेको जर्मनी त्यसमा ६ संस्करणमा फाइनल पुगेको छ भने तीनपटक सेमिफाइनलसम्म पुगेको छ। दोस्रो धेरै फाइनल पुग्ने टोलीका रुपमा

तीनपटक भने समूहगत चरणबाटै बाहिरिएको छ। उसले पछिल्ला तीन संस्करणमा लगातार कम्तीमा सेमिफाइनल यात्रा तय गरेको छ। सन् २००० र २००४ का संस्करणमा लगातार पहिलो चरणबाटै बाहिरिएको जर्मनी सन् २००८ को संस्करणमा भने फाइनलसम्म पुगेको थियो। स्पेन र तत्कालिन सोभियत युनियन ४-४ पटक फाइनल पुगेका छन्।

जर्मनी यसपटक पनि स्वभाविक उपाधि दाबेदारका रुपमा रहेको छ। जर्मनीमा यसपटक युरोपियन च्याम्पियन्स लिग जितेको चेल्सीका स्ट्राइकर टिमो वेर्नर, मिडफिल्डर काई हाभार्ट्ज र डिफेन्डर एन्टोनियो रुडिगर छन्।

यसैगरि च्याम्पियन्स लिगको फाइनल पुगेको म्यानचेस्टर सिटीका लागि खेल्ने मिडफिल्डर इके गुन्डोगान पनि टोलीमा छन्। च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको बायर्न म्युनिखका ८ जना खेलाडि अहिले जर्मन टोलीमा छन्।

बायर्नले यसपटक जर्मनीको घरेलु लिग पनि जितेको थियो। टोलीको कप्तान पनि बायर्नकै गोलरक्षक तथा अनुभवी खेलाडी म्यानुयल नुयर रहेका छन्। जर्मनीका लागि एक सयपटकभन्दा बढी खेलिसकेका थोमस मुलर र टोनी क्रुज टोलीमा छन्। मुलर जर्मनीको हालको टोलीमा ३९ गोलसहित सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा रहेका छन्। उनीसहित क्रुज सन् २०१० यता टोलीमा छन्।

बेर्नर र सर्जी जिनाब्री टोलीका प्रतिभावान स्ट्राइकर हुन्। २५ वर्षीय यी दुवै खेलाडीले जर्मनीका लागि समान १६ गोल गरेका छन्। जर्मनीका लागि एक सय खेल खेलिसकेका गोलरक्षक नुयरकै नेतृत्वमा  सन् २०१४ को विश्वकप जितेको थियो। बार्यनको लगातारको सफलता पनि नुयरकै कप्तानीमा छ। ३५ वर्षीय नुयर सन् २००९ देखि जर्मनी टोलीमा छन्।

जर्मनीसँग यसपटक लामो समय प्रशिक्षण गरेका जोचिम लोय रहने छैनन्। सन् २००६ देखि जर्मनीको प्रशिक्षक रहेका लोयले यसै वर्ष पद छाडेका थिए। उनलाई हान्सी फ्लिकले प्रतिस्थापन गर्दैछन्। ५६ वर्षीय फ्लिक यसअघि बायर्न म्युनिखका प्रशिक्षक रहेका थिए। बार्यनमा सन् २०१९ सम्म सहायक प्रशिक्षक रहेका उनलाई त्यसपछि पूर्ण जिम्मेवारी दिइएको थियो।  उनले सन् २००६ देखि ८ वर्ष जर्मनीको सहायक प्रशिक्षक भएर पनि काम गरेका थिए।

जर्मनीले सन् २०२१ मा खेलेका ५ खेलमा ३ जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ। सोमबार राति भएको मैत्रिपूर्ण खेलमा लात्भियालाई ७-१ गोलले हराएको छ।  गत मार्च ३१ तारिखमा नर्थ मेसेडोनियासँग २-१  गोलले पराजित भएको थियो।

त्यसअघि जर्मनीले  गत नोभेम्बरमा स्पेनसँग ६-० गोलको हार ब्यहोरेको थियो। स्पेनले जर्मनीको लगातार १२ खेलको अपराजित यात्रा तोडेको थियो। जर्मनीले यसपटक आफ्नो युरोकप यात्रा फ्रान्ससँग खेल्दै सुरु गर्ने छ, जुन १५ तारिखमा।

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्