म माओवादी केन्द्रमा फर्किन लागेकाे खबर कपाेलकल्पित: टोपबहादुर रायमाझी

फाइल तस्बिर।

काठमाडौँ – आफू नेकपा माओवादी केन्द्र फर्किन लागेको भनेर आएका सबै खबरहरु भ्रामक र कपोलकल्पित रहेको नेकपा एमालेका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले बताएका छन्।

सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपाको एकता शून्यमा झारेपछि माओवादीमा नफर्की रायमाझी एमालेमै रहेका थिए।

उनले सोमबार वक्तव्य निकालेर भनेका छन्, ‘पछिल्लो समय केही सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनले वक्तव्यमा भनेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्डमा रहेकाे कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ।’

सुशासनसहितको स्थिरता मार्फत मुलकमा दीगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि आफूहरु केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको उनले उल्लेख गरेका छन्।

वक्तव्यमा रायमाझीले भनेका छन्, ‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झाँसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु र जनसमुदायमा हार्दिक अनुरोध र अपील छ।’

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्