महोत्तरीमा लुटेरा समूहले चलाएको गोली लागेर एकजना घाइते

सांकेतिक तस्बिर

जनकपुर – महोत्तरीमा लुटेराहरुले प्रहार गरेको गोली लागि एक महिला घाइते भएकी छन् ।

सोमबार राति लोहारपट्टी नगरपालिका वडा नम्बर ६ मा रामसरण साहको घरमा करिब ५–६ जनाको समूहमा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गरेको हो ।

गोली लागेर ४५ वर्षकी गायत्रीदेवी साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

लुटेराहरूले घरमा लुटपाट गर्ने क्रममा रामसरणका श्रीमती गायत्रीले गुहार गर्दै हल्ला गर्दा उनी माथि गोली प्रहार गरेका हुन् ।

गोली लागि घाइते भएकी गायत्रीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको प्रवक्ता विष्टले जानकारी दिए ।

लुटेराहरूले उनको घरबाट नगदसहित करिब १ लाख बराबरको समान लगेको प्रवक्ता विष्टले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्