सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दुई तिहाई भन्दा बढि सांसदको समर्थन रहने

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
उनलाई उनको दल माओवादीसँगै हाल सरकारमै रहेको नेकपा एमालेको माधव समूह र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बसेको नेकपा एमाले सुदूरश्चिम प्रदेशसभा संसदीय दलको बैठक मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
माधव नेपाल पक्षीय प्रदेशसभा सदस्यहरुको बहुमत रहेको संसदीय दलको बैठकमा केपी ओली पक्षीय सातजनाले निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर गरेनन् ।
केपी पक्षीय प्रदेशसभा सदस्य पठान सिंह बोहराले बैठकमा पार्टीको निर्णय विपरित मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाउन उपस्थितिमा पनि हस्ताक्षर नगरेको बताए ।
एमाले संसदीय दलको बैठकको उपस्थितिमा हस्ताक्षर नगर्नेमा बोहरा, लिलाधर भट्ट, गेल्बु लामा, रतन थापा, नेपालु चौधरी, बलदेव रेग्मी र माया तामाङ बोहरा रहेका छन् । प्रदेशसभामा सभामुख बाहेक नेकपा एमालेका २४ जना प्रदेशसभा सदस्य रहेका छन्, ती मध्ये १७ जनाले मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गरेका छन् ।
यसैगरी प्रमुख प्रतिपक्ष दल रहेको नेपाली कांग्रेस संसदिय दलले पनि मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णण गरेको छ । मंगलबार बिहान भएको दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए । कांग्रेसका १२ जना प्रदेशसभा सदस्य रहेका छन् ।
यता प्रदेशसभामा रहेको अर्को दल जसपाले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यो दलका दुईजना प्रदेशसभा सदस्य रहेका छन् । अहिले प्रदेशसभामा विश्वासको मत लिने जारी छ ।