ऊ आज मर्‍यो, हो ऊ आज मर्‍यो

कठैबरी उ आज मर्‍यो

न किड्नी न रगत नपाएर मर्‍यो

न अक्सिजनको पाइप घोच्न नपाएर मर्‍यो

 

ऊ त फगत

भातको दुई सिता घोच्न नपाएर मर्‍यो

न त उसले एम्स वा सिङ्गापुरको अस्पताल रोज्यो

न मेडिसिटी, ग्राण्डी, न नर्भिक रोज्यो

उसले सम्भ्रान्त भन्ने तिम्रो शहरको पेटी

रोजेर मर्‍यो!

 

उसले पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र अनि

तिम्रो गणतन्त्र सबलाई भोट हाल्यो

तिम्रो रातो पहेँलो हरियो झन्डा नि उचाल्यो

ऊ तिमीले गरेको हरेक क्रान्तिमा सहभागी भयो

कैले पुलिसको डन्डा खायो कैले रेलिङ भाँच्यो

कैले ढुङ्गा हान्यो कैले कालो झन्डा बोक्यो

तिम्रो चुनाबमा बुढी औंलामा निलो मसी नि दल्यो

 

उसको भोटले तिमी प्राडो, पजेरोदेखि

अमेरिका, लण्डन सब चहार्‍यो

सहरमा तिम्ले महल ठ्ड्यायौ

तर

उसको भोको पेटले दुई छाक अन्न

कहिले चहारेन

अन्त्यमा म ऊ दुई सिता गाँस एक गेडा

सिटामोल नदेखि बेवारिसे भई मर्‍यो।

 

न उसलाई कुनै तन्त्रले देख्यो, न डलरवालाले देख्यो

न सिंहदरबारको त्यो घुम्ने मेचमाथि बस्ने

अन्धोले देख्यो

कठै मेरो देश, मेरो गणतन्त्र!

 

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्