पसलको ताल्चा फोडेर मोबाइल चोरी गरेको आरोपमा सप्तरीबाट तीनजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– निषेधाज्ञाको समयमा पसलको ताल्चा फोडेर मोबाइल चोरी गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ५ का महेश कुमार यादव, उनको नातामा मामा पर्ने वडा नं. १ का २१ वर्षीय राम दास यादव र राजविराज नगरपालिका वडा नं. ६ का १९ वर्षीय शुभाष यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

सोमबार बिहान करिब पौने तीन बजेको समयमा राजविराज नगरपालिका वडा नं. ४ स्थित श्याम कुमार साहले सञ्चालन गरेको मोबाइल पसलको सटरको लक फुटाई पसलको र्‍याकमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी गरेर तीनै जना फरार भएका थिए।

पसलमा जोडेको सिसी क्यामेराको फुटेजको आधारमा महेशलाई नियन्त्रणमा लिँदा उनले नातामा मामा पर्ने दुईजना मोबाइल चोरीमा संलग्न रहेको बयान प्रहरी समक्ष दिएका थिए।

प्रहरीले खानतलासी गर्दा सुभाष यादव बस्ने कोठामा रहेको खाटमुनिबाट विभिन्न ब्राण्डका १० थान मोबाइल बरामद गरेको प्रवक्ता काफ्लेले बताए। पक्राउ परेका तीनै जनाविरुद्व चोरी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद लिइ थप अनुसन्धान थालेको सप्तरी प्रहरीले जनाएको छ।

जेठ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्