युरोकप जसले अघिल्लोपटक रोनाल्डोलाई ‘पूर्णता’ दियो, यसपटक विश्व कीर्तिमान बनाउन सक्छन्

युरोकप, क्रिष्टियानो रोनाल्डोको खेल जीवनमा निकै अर्थपूर्ण छ। समकालीन फुटबलमा लियोनल मेस्सी र रोनाल्डोमध्ये को सर्वोत्कृष्ट भन्ने बहसका विभिन्न मानकहरुमध्ये युरोकप नै हो जसले यी पोर्चुगिजलाई मेस्सीभन्दा अगाडि राख्छ। सन् २०१६ को युरोकप फाइनलमा रोनाल्डो पहिलो हाफमै घाइते भएर बाहिरिनु पर्‍यो।

फ्रान्सविरुद्धको त्यस खेलमा चोटका बाबजुद पटकपटक मैदानमा टिक्ने प्रयाश गरेका रोनाल्डो अन्तत: रुँदै बाहिरिएका थिए। तर निकै कठिन खेलमा पोर्चुगल विजयी भयो र पहिलोपटक युरोपियन च्याम्पियन बन्यो।

त्यस खेलमा यस्तो लाग्थ्यो टोलीका सम्पूर्ण खेलाडीहरु रोनाल्डोका लागि खेलिरहेका छन्। त्यसअघि रोनाल्डोले सिनियर राष्ट्रिय टोलीका लागि कहिल्यै उपाधि जित्न सकेका थिएनन् जुन मेस्सीको जीवनमा अझै खड्किएको छ।

महान खेलाडी हुन राष्ट्रिय टोलीका लागि उपाधि जित्नुपर्ने तर्क गर्ने जमात ठूलो छ। यहि कारण युरोकपले रोनाल्डोलाई पूर्णता दिएको पनि भन्ने गरिन्छ।

रोनाल्डोले घोषणा नगरे पनि केही दिनपछि सुरु हुने युरोकप उनका लागि अन्तिम महादेशीय प्रतियोगिता हुने लगभग निश्चित छ। ३६ वर्षीय रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि रक्षा अभियान थाल्दै छ। पोर्चुगलले समूह चरणमा जर्मनी, फ्रान्स र हंगेरीसँग खेल्दै छ।

रोनाल्डो अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम अन्तिमतिर आइरहेका बेला उनले अब के के कीर्तिमान बनाउलान् भन्नेमा पनि चासो बढ्दो छ।

रोनाल्डोले बनाउन सक्ने  थप कीर्तिमानमध्ये अहिले सर्वाधिक सिनियर अन्तर्राष्ट्रिय गोलकर्ताको देखिएको छ। उनी उक्त कीर्तिमान तोड्नबाट ७ गोलले मात्र पछाडि छन्। रोनाल्डोले हालसम्म एक सय ३ सिनियर अन्तर्राष्ट्रिय गोल गरेका  छन्। इरानका अलि दाइको नाममा एक सय ९ गोलसहित विश्व कीर्तिमान छ।

रोनाल्डोले हालसम्म मैत्रिपूर्ण खेलमा १८, युरो कप छनौटमा ३१, युरोकपमा ९, विश्वकप छनौटमा ३१, यूईएफए नेसन्स लिगमा ५, विश्वकपमा ७ र फिफा कन्फेडेरेसन कपमा २ गोल गरेका छन्। उनले हालसम्म युरोपियन टोलीविरुद्ध मात्र ८९ गोल गरेका छन्। उनले सन् २०२० यता १० खेलमा ४ गोल गरेका छन्।

जेठ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्