तरकारी किन्दै गरेकी महिलाको सिक्री लुटपाटमा संलग्न पक्राउ

वीरगञ्ज – तरकारी किन्दै गरेकी महिलाको सिक्री तथा ल्यापटप र मोबाइल लुट्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुर बस्ने ४५ वर्षीय सकुन्तला मेहताले वडा नम्बर ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा उनले घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो।

सिक्री लुट्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नग्वा बस्ने १९ वर्षका निरज नट र युवराज रायलाई अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले सिक्रीसहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका उनीहरु लगायतको समूहले विगतदेखि नै जिल्लाको विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्दै आएको प्रहरीकाे दाबी छ।

पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

यस्तै वीरगञ्ज–११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल चोरी गर्ने अर्का एक एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ बस्ने १९ वर्षका मुन्ना कुमार राम रहेका छन्। उनलाई उनकाे घरबाटै रौनियारको चोरी भएको ल्यापटप र मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो।

जेठ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्