एम्स अस्पतालका निर्देशक भन्छन्, ‘तेस्रो लहरमा बालबालिकामा संक्रमण उच्च हुने प्रमाण छैन’

भारतको एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले कोरोना भाइरस महामारीको तेस्रो लहरमा बालबालिकामा संक्रमण उच्च हुने तथा लक्षणहरु गम्भीर हुने कुनै प्रमाण अहिलेसम्म नरहेको बताएका छन्।

कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल भर्ना गरिएका मध्ये ६०–७० प्रतिशत बालबालिकामा अरु रोग पनि रहेको उनले बताए। अरु सामान्यखालका बालबालिकालाई संक्रमणले खासै असर नगरेको उनको भनाई छ।

डा. गुलेरियाले भने, ‘मलाई लाग्दैन कि भविष्यमा बालबालिकामा थप गम्भीर संक्रमण देखिन्छ।’

‘पूरै विश्व र भारतको तथ्यांकले पनि बालबालिका संक्रमणबाट त्यति प्रभावित नभएको देखिन्छ। दोस्रो लहरको तथ्यांकले अरु गम्भीर रोग रहेका बालबालिका संक्रमित भएमा उनीहरुलाई अस्पताल भर्ना गर्नु परेको देखियो’ उनले भने।

संक्रमणको नयाँ लहरमा बालबालिका प्रभावित हुने कुनै प्रमाण विश्वका अरु देशका तथ्यांकहरुले पनि नदेखिएको उनले दाबी गरे।

केही विज्ञहरुले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढि प्रभावित हुने भन्दै चेतावनी दिएका छन्। दोस्रो लहरमा वयश्कहरु बढि प्रभावित भएका छन्।

जेठ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्