नेपालमा तेस्रो लहर अब चाँडै आउँछ: विज्ञहरू

काठमाडौँ– एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन्, विश्वका अधिकांश देश। विज्ञहरूले भने अब तेस्रो लहर सुरु हुने अनुमान गरिरहेका छन्।

उनीहरूका अनुसार यो लहरमा बालबालिका सबैभन्दा धेरै प्रभावित हुनेछन्।

सोहीअनुसार केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने भन्दै सबै अस्पताललाई २० प्रतिशत शय्या छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।

नेपालमा दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको थियो।

तर, अहिले त्यो संख्यामा कमी आउँदै गएको छ। पछिल्लो केही दिनयता संक्रमणदर बढ्दै जाँदा नेपालमा चाँडै तेस्रो लहर सुरु हुने विज्ञहरूले बताएका छन्।

कतिपय चिकित्सकले नेपालमा तेस्रो लहर सुरु भइसकेको समेत उल्लेख गरेका छन्। तर, तेस्रो लहर सुरु भयो भन्दा पनि दोस्रो घट्न ढिलो भइरहेको बताउँछन्, जनस्वास्थ्यविद् डा. केदार बराल।

‘अहिले नेपालमा दोस्रो लहर घट्दै छ। अब यसैलाई तेस्रो लहर भन्ने कि? दोस्रो लहर अलि घटेपछि मात्रै तेस्रो लहर सुरु हुन्छ भन्ने कुरा हो। तर, ठ्याक्कै यतिबेला नै तेस्रो लहर सुरु भयो वा हुन्छ भन्ने हुँदैन’, उनी भन्छन्, ‘दोस्रो लहर घट्दै छ। तर, संक्रमण दर घटे पनि टेस्ट सधैँ बराबर भइरहेको छैन।

अर्को महत्वपूर्ण कुरा के छ भने कति टेस्ट भयो भन्दा पनि टेस्ट गराएकोमा कुन समुदायमा कति पोजेटिभ छ भन्ने देखाउनु सबैभन्दा राम्रो सूचक हो।’

डा. बरालका अनुसार टेस्ट अहिले त्यति धेरै घटेको छैन। जसले गर्दा दोस्रो लहर नै अझै पनि समुदायमा गहिरो गरी छ भन्ने देखिएको छ।

‘हामी केस र टेस्ट रेसियो भन्छौँ। त्यो रेसियो उल्लेख्य मात्रामा घटेको छैन। असको अर्थ के हुन्छ भने टेस्ट थोरै भएको दिनमा पनि केस टेस्ट रेसियो हेर्‍यो भने त्यस्तो घटेको हुँदैन। टेस्ट थोरै भएपछि पोजेटिभ केस थोरै हुने नै भयो। यी सबै तथ्यांकलाई एकदमै मसिनो गरेर हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘अर्को कुन ठाउँ वा लोकालिटी हो। यो सबै हेरेर टेस्ट कहाँको मानिसमा धेरै भइरहेको छ। कहाँ थोरै भइरहेको छ। कहाँ पोजेटिभ कम छ र कहाँ कम छ। यी सबै कुरा हेरेपछि मात्रै यसबारे गहिरो गरेर तथ्यपूर्ण ढंगले भन्न सकिन्छ।’

‘नेपालमा अधिकांश मानिसले खोप पाएका छैनन्। पछिल्लो समय गाउँघरमा भर्खरै मात्र संक्रमण सुरु हुन थालेको छ। संक्रमण पहिलो, दोस्रो र तेस्रो भन्ने कुरा मानिसलाई अत्याउनेजस्तो देखिएको छ। संक्रमणको तेस्रो लहर सुरु भयो भन्दा धेरैलाई अब मरिन्छ भन्ने नकारात्मक त्रास उत्पन्न गराउने काम गर्छ। यसलाई रोक्ने कोसिस गर्ने हो। प्रयास गर्दा गर्दै पनि सकिएन भने उपचारको चाहिने बन्दोबस्ती भने मिलाउनु नै उचित हुन्छ।’

जसकारण अहिले नै तेस्रो लहर सुरु भएको भन्ने बेला भइनसकेको डा. बरालले बताए।

‘मचाहिँ तेस्रो लहर सुरु भयो भन्दिनँ। अहिले हामी अँध्यारोमा हिँड्दै छौँ। होस्पूर्ण बोल्ने। होस् नीति व्यवहार गर्नुपर्ने हुन्छ’, उनले भने।

केस घटेको वा बढेपछि विचार बनाउनु वा नीतिगत कुरा बोल्नु जनस्वास्थ्यको हिसाबले त्यो तथ्यपूर्ण नभएको उनी बताउँछन्।

उनी भन्छन्, ‘दोस्रो लहर कम भए सँगसँगै स्वाट्टै बढ्न थालेपछि त्यसलाई तेस्रो लहर भनिन्छ। विगत हेर्दा पहिलोभन्दा दोस्रो लहर ठूलो तर दोस्रोभन्दा तेस्रो अलि सानो देखिएको छ।’ डा. बरालका अनुसार तेस्रो लहरमा संक्रमण कम हुने देखिएको छ।

यसमा पनि अनुभव र विगतका तथ्यलाई नै हेर्ने गरिन्छ। तेस्रो लहरमा सतर्कता अपनाउन नसक्दा बालबालिका धेरै संक्रमित हुने उनले बताए।

उनले भने, ‘बालबालिका एक अर्कोसँगको भेटघाटमा घुलमिल हुँदा सतर्कता अपनाउन नसक्ने सम्भावना रहन्छ। यसमा दुई–तीन वटा कुरा छन्। पहिलो कुरा त भाइरसमा समस्या आएको छ। अर्को, यो भाइरस परिवर्तन भनेको चाँडो सर्छ। पहिला बालबालिका बढी सुरक्षित भएका थिए। अहिले बीचमा स्कुल सुरु भए। जाँच भए। मुख्य यिनै कारणले बालबालिकामा भाइरस चाँडो सर्न सक्छ।’

बालबालिका संक्रमित हुनुको योभन्दा अरू वैज्ञानिक प्रमाण अहिलेसम्म पत्ता नलागेको उनी बताउँछन्। यस्तै, नेपालमा तेस्रो लहर सुरु हुनु कुनै पनि ठूलो कुरा नभएको अर्का जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए।

उनले भने, ‘नेपालमा अधिकांश मानिसले खोप पाएका छैनन्। पछिल्लो समय गाउँघरमा भर्खरै मात्र संक्रमण सुरु हुन थालेको छ। संक्रमण पहिलो, दोस्रो र तेस्रो भन्ने कुरा मानिसलाई अत्याउनेजस्तो देखिएको छ। संक्रमणको तेस्रो लहर सुरु भयो भन्दा धेरैलाई अब मरिन्छ भन्ने नकारात्मक त्रास उत्पन्न गराउने काम गर्छ। यसलाई रोक्ने कोसिस गर्ने हो। प्रयास गर्दा गर्दै पनि सकिएन भने उपचारको चाहिने बन्दोबस्ती भने मिलाउनु नै उचित हुन्छ।’

उनका अनुसार बच्चाहरू धेरै संक्रमित हुनुको कारण पनि हाम्रो बानी–व्यवहार नै हो। जसको बच्चा जहाँ देखे पनि हामी समातिहाल्छौँ। त्यसो गर्दा आफू संक्रमित भएको खण्डमा बच्चामा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ।

‘तेस्रो लहर बच्चाहरूका लागि मात्रै आउँछ भन्ने कुरामा मलाई विश्वास लाग्दैन। यो भनेको जंगलमा लागेको आगो हो।

जंगलमा लागेको त्यही आगोले बूढा रूख पहिला जलाउने अनि फेरि वयष्कहरूलाई जलाउने र अन्तिममा भर्खरका पोथ्राहरूलाई जलाउने भन्ने हुँदैन। यसमा त आगोले जसलाई भेट्छ, त्यसैलाई जलाउँदै जान्छ’, उनी भन्छन्, ‘त्यस्तै हो, कोरोना पनि ज–जसलाई भेट्छ, उनीहरूलाई नै संक्रमण गराउँदै जान्छ। तेस्रो लहर भन्दैमा वृद्धवृद्धालाई छाड्ने भन्ने हुँदैन।’

अहिले पनि धेरै बच्चा संक्रमित भएको उनले बताए।

जेठ २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्