इतिहास र वर्तमानमा युरोकप फुटबल

हालसम्म १२ देश फाइनलमा तर १० मात्र विजेता, कुन देशका के छन् कीर्तिमान?

युरोपको महादेशी फुटबल प्रतियोगिता युरोकपको १६ औँ सस्करण आगामी साता सुरु हुँदैछ। प्रतियोगिताका खेलहरु विभिन्न ११ देशमा आयोजना हुनेछन्।

प्रतियोगितामा युरोपका २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। पहिलो चरणमा ६ वटा समूह छन् जसका विजेता र उपविजेतासँगै चारवटा सर्वोत्कृष्ट चौथो टोली प्रिक्वाटरफाइनलमा पुग्नेछन्।

सन् १९६० बाट आयोजना हुन थालेको युरोकपका हालसम्म १५ वटा संस्करण सम्पन्न भएका छन्। १० देशले मात्र यो प्रतियोगिता जित्न सकेका छन्। जर्मनी र स्पेनले सर्वाधिक ३/३ पटक जितेका छन्। फ्रान्सले पनि दुईपटक जितेको छ।

तत्कालीन सोभियत युनियन, चेक गणतन्त्र, पोर्चुगल, इटाली, नेदरल्याण्ड्स, ग्रिस र डेनमार्कले एक एकपटक जितेका छन्। युगोस्लाभिया दुईपटक र बेल्जियम एकपटक फाइनल पुगेर पनि उपाधि जित्न असफल भएका थिए।

हालसम्म जर्मनी सर्वाधिक ६ पटक फाइनल पुगेको छ। स्पेन र तत्कालीन सोभियत युनियन पनि ४/४ पटक फाइनल पुगेका छन्। स्पेन लगातार उपाधि जित्ने एकमात्र टोली हो। उसले सन् २००८ र २०१२ मा उक्त सफलता हात पारेको थियो।

समूह इमा स्पेन, स्वीडेन, पोल्यान्ड र स्लोभाकिया छन्। हंगेरी, पोर्चुगल, जर्मनी र फ्रान्स समूह ‘एफ’ मा छन्।

समूह ‘ए’- टर्की, वेल्स, इटाली र स्वीट्जरल्यान्ड 

हालसम्म चारपटक युरोकप खेलेको टर्की सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो। गत संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो।

टर्की सन् २००२ को विश्वकपमा पनि सेमिफाइनलसम्म पुगेको थियो। वेल्स पहिलो सहभागितामै, गत संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो।

हालसम्म चारपटक युरोकप खेलेको स्वीट्जरल्यान्ड गत संस्करणमा अन्तिम-१६ सम्म पुग्नु नै उसको अहिलेसम्मको ठूलो सफलता हो।

त्यसअघि तीनैपटक समूहगत चरणबाट बाहिरिएको थियो।

सन् १९६८ मा विजेता बनेको इटाली सन् १९९६ यताका हरेक संस्करण खेलिरहेको छ। उसले सन् २००० र २०१२ मा  फाइनलसम्मको यात्रा तय गरेको थियो। गत संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो।

समूह ‘बी’- डेनमार्क, फिनल्यान्ड, बेल्जियम र रुस

डेनमार्क सन् १९९२ मा विजेता बनेयता क्वाटरफाइनल पार गर्न असफल छ। गत संस्करणमा उ छनौट हुन सकेको थिएन। सन् २०१२ मा पहिलो चरणबाटै बाहिरिएको थियो। फिनल्यान्ड पहिलोपटक युरोकपमा छनौट भएको हो।

यसअघि उसले विश्वकप पनि खेलेको छैन। सन् १९८४ पछि दुईपटक मात्र युरोकप खेलेको बेल्जियम गत संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो। १९८० मा फाइनल पुगेको थियो।

सन् २००८ मा सेमिफाइनलमा पुगेको रुस त्यसपछिका दुई संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो। सोभियत युनियन टुक्रिएयता रुसले एकपटक मात्र पहिलो चरण पार गरेको छ।

समूह ‘सी’-नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया र नर्थ मेसेडोनिया

सन् १९८८ संस्करणको विजेता नेदरल्याण्ड्स त्यसयता गत संस्करणमा छनौट नहुनुअघि ६ सहभागितामा ३ पटक सेमिफाइनल र दुई पटक क्वार्टरफाइनलसम्म पुगेको थियो।

सन् २०१२ को संस्करणमा भने पहिलो चरणबाटै बाहिरिएको थियो। त्यसबीचमा डच टोली सन् २०१० को विश्वकपमा फाइनलसम्म पुगेको थियो। तत्कालिन सोभियत युनियनबाट टुक्रिएपछि युक्रेनले पहिलोपटक सन् २०१२ को युरोकप खेलेको थियो।

तर युरोकपका पछिल्ला दुवै संस्करणमा युक्रेन दोस्रो चरण पुग्न सकेन। युक्रेनले विश्वकप पनि सन् २००६ को संस्करण मात्र खेलेको छ। त्यतिबेला क्वाटरफाइनलसम्म पुगेको थियो।

तेस्रोपटक युरोकप खेल्न लागेको अस्ट्रिया अघिल्ला दुवै सहभागितामा पहिलो चरणमै सिमित भएको थियो। यसअघि सन् २००८ र २०१६ को संस्करण खेलेको थियो। नर्थ मेसेडोनिया पहिलोपटक युरोकप खेल्दै छ।

समूह ‘डी’- इंग्ल्याण्ड, क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र

हालसम्म दुईपटक सेमिफाइनल पुगेको इंग्ल्याण्ड उपाधि जित्न आँतुर छ। इंग्ल्याण्ड गत विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।

क्रोएसिया स्वतन्त्र भएयता पहिलो प्रयाशमै युरोकपमा छनौट भएको थियो, सन् १९९६ संस्करणमा। त्यसयता उसले एकपटक मात्र यो प्रतियोगिता खेल्न सकेको छैन, दुईपटक क्वार्टरफाइनल र एकपटक प्रिक्वाटरफाइनल पुगेको छ भने दुईपटक समूह चरणबाटै बाहिरिएको छ।

गत संस्करणमा प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। गत विश्वकपमा भने फाइनलसम्म पुगेको थियो।

सन् १९९६ पछि स्कटल्यान्ड पहिलोपटक युरोकप खेल्दै छ। उसले अघिल्ला दुवै सहभागितामा पहिलो चरण पार गर्न सकेको थिएन। चेक गणतन्त्र स्वतन्त्र भएयता युरोकपका हरेक संस्करण खेलिरहेको छ, सन् १९९६ देखि।

यसबीचमा एकपटक फाइनल, एकपटक सेमिफाइनल र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ भने पछिल्लोपटकसहित तीनपटक पहिलो चरणबाटै बाहिरिएको छ।

समूह ‘इ’- स्पेन, स्वीडेन, पोल्यान्ड र स्लोभाकिया 

सन् १९६४ मा पहिलोपटक विजेता बनेको स्पेन त्यसपछि सन् २००८ र २०१२ मा विजेता बनेको थियो। सन् १९८० यता उसले एकपटक मात्र युरोकप खेलेको छैन।

अघिल्लो संस्करणमा अन्तिम-१६ बाटै बाहिरिएको थियो।

पहिलो सहभागितामै सन् १९९२ मा सेमिफाइनलसम्म पुगेको स्वीडेन त्यसयता एकपटक मात्र छनौट हुन असफल छ। तर उसले यसबीचमा एकपटक मात्र पहिलो चरण पार गरेको छ। अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो।

पोल्यान्ड पहिलोपटक सन् २००८ संस्करण खेलेयता हरेकमा छनौट भइरहेको छ। पछिल्लो संस्करणमा पोल्यान्ड क्वाटरफाइनलसम्म पुगेको थियो।

स्लोभाकिया पहिलोपटक युरोकप खेल्नेक्रममा सन् २०१६ मा प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। त्यसअघि उसले पहिलोपटक विश्वकप पनि खेलेको थियो, सन् २०१० मा। त्यतिबेला स्लोभाकिया प्रिक्वाटरफाइनलसम्म पुगेको थियो।

समूह ‘एफ’- जर्मनी, हंगेरी, फ्रान्स र पोर्चुगल

यो समूहलाई ग्रुप अफ डेथ मानिएको छ। हंगेरीले ४२ वर्षपछि युरोकप खेलेको थियो, सन् २०१६ मा। त्यतिबेला प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। त्यसअघिका दुवै सहभागितामा उसले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

हालसम्म ७ पटक युरोकप खेलेको पोर्चुगल त्यसमा दुईपटक फाइनल, तीनपटक सेमिफाइनल र दुईपटक क्वाटरफाइनलसम्म पुगेको छ। पोर्चुगलले पछिल्लो युरोकपको फाइनलमा फ्रान्सलाई १-० गोलले हराएर उपाधि जितेको थियो।

पहिलो सहभागितामै सन् १९८४ को संस्करण जितेको फ्रान्स सन् १९९२ यता हरेकपटक यो प्रतियोगिता खेलिरहेको छ। फ्रान्स प्रतियोगिताको साविक उपविजेता  र विश्वकपको साविक विजेता हो।

पहिलो सहभागितामै सन् १९७२ मा उपाधि जितेको जर्मनी तीनपटक समूहगत चरणबाटै बाहिरिनुबाहेक सबैमा कम्तिमा सेमिफाइनल पुगेको छ।

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्